टेलिकमलाई फोरजी विस्तारको बाटो खुल्यो «

टेलिकमलाई फोरजी विस्तारको बाटो खुल्यो

समितिले ५ वर्षमा टेलिकमबाट प्रवाह हुने सेवाबाट सरकारलाई प्राप्त हुने राजस्व दोब्बर हुने गरी व्यावसायिक योजना बनाउन निर्देशन दिएको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमलाई फोरजी सेवा विस्तार गर्न बाटो खुलेको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले एक वर्षभित्र मुलुकभर फोरजी सेवा प्रवाह हुने आधार सुनिश्चित हुने गरी रणनीति र कार्यनीति तयार गरी लागू गर्न निर्देशन दिएसँगै फोरजी सेवा विस्तार गर्न बाटो खुलेको हो ।
टेलिकमले देशभर एकैपटक फोरजी सेवा विस्तार गर्न ठेक्का सम्झौता गर्ने अन्तिम तयारी थालेका बेला समितिले अनियमितताको आशंका गर्दै छानबिन थालेको थियो । समितिले विभिन्न चरण गरेर सञ्चार तथा सूचना प्रविधिमन्त्री, मन्त्रालयका सचिव, नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक, सार्वजनिक खरिद विज्ञलगायतसँग छलफल गरी यस्तो निर्देशन दिएको हो । समितिले एक वर्षभित्र काम सम्पन्न हुने गरी सम्झौता गर्दा उपकरण र सेवाको गुणस्तरमा कुनै सम्झौता नहुने गरी र तोकिएको समयमा काम सम्पन्न नभए सम्झौतामा संलग्न सबै पक्ष जवाफदेही हुने गरी व्यवस्था गर्न पनि निर्देशन दिएको छ । साथै समितिले ५ वर्षमा टेलिकमबाट प्रवाह हुने सेवाबाट सरकारलाई प्राप्त हुने राजस्व दोब्बर हुने गरी व्यावसायिक योजना बनाउन निर्देशन दिएको छ ।
टेलिकमले फोरजी सेवा विस्तार गर्न झन्डै एक वर्ष पहिले ठेक्का प्रक्रिया अगाडि बढाए पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फाइल लिएर रोकेपछि गत वैशाखमै टेन्डर आह्वान गर्ने योजना विफल भएको थियो । समितिले गरेको छलफलमा टेलिकमका पूर्वप्रमुखहरू र विज्ञले फोरजी विस्तारमा अवरोध पु-याउन नहुने सुझाव दिएका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनियमितताको आशंका नगर्न समितिका सदस्यसँग आग्रह गरेका थिए । उनले फोरजी विस्तार कुनै मन्त्री र सांसदको चासोको विषय मात्रै नभएर विकसित प्रविधिको प्रयोग र भोलिको आवश्यकता भएको स्पष्ट पारेका थिए ।
यता, टेलिकमले प्रतिफलको आन्तरिक दर मूल्यांकन गरेरै परियोजना अगाडि बढाएको जनाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रतिव्यक्ति पाँच सय रूपैयाँ प्रतिमहिना उठाउन सके ३ वर्षमा, ४ सय ८० उठाउन सके ३ वर्ष साढे चार महिनामा तथा २ सय ८८ रूपैयाँ उठाउन सके ४ वर्षमा लागत उठाउन सकिने बताए । उनले प्रतिफलको आन्तरिक दर मूल्यांकन गर्दा २९ दशमलव दुई सात नौ प्रतिशत प्रतिफल पाउनसक्ने भन्दै प्ररियोजना नरोक्न आग्रह गरे ।
टेलिकमले फोरजी सेवा विस्तार र पूर्वाधार विकासका लागि पनि २१ अर्ब रूपैयाँ लगानी गरेको स्पष्ट पारेको छ । निजी क्षेत्रको सेवाप्रदायक एनसेलले देशका २८ सहरमा फोरजी सेवा विस्तार गरिसक्दा टेलिकम भने जम्मा २ सहर पोखरा र काठमाडौंमा सिमित छ ।

प्रतिक्रिया दिनुहोस्