चाडपर्वमा अस्वाभाविक मूल्यवृद्धि «

चाडपर्वमा अस्वाभाविक मूल्यवृद्धि

चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि भएको छ ।
बाढीपहिरोले उत्पादन कम भएको र लागत मूल्य बढेको भन्दै व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । पछिल्लो दुई सातामा बजारमा दाल, चामल, चिनी, खाने तेल, पिठोसँगै हरियो तरकारीको मूल्य बढेको छ ।
चामल, तेल, मुसुरोको दाल, चिनी, मैदा, सोयाबिनलगायत वस्तुमा दुई सातादेखि मूल्यवृद्धि भएको नेपाल खुद्रा व्यापार संघको तथ्यांकले देखाएको छ । संघका अनुसार, दुई सातामै मुसुरोको दाल किलोमा ३५ र तेल लिटरमा ३० रुपैयाँ बढेको छ । यसैगरी ११० रुपैयाँ प्रतिकिलोको सोयाबिन दुई सय पुगेको छ भने दुई साताअघि एक हजार सात सय रुपैयाँमा बिक्री भइरहेको जिरा मसिनोे २५ किलोको बोरा चामल अहिले एक हजार सात सय ५० रुपैयाँ पुगेको छ । होलसेल मूल्य नै बढेर आएकाले मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।
दुई साताअघि १२५ रुपैयाँ प्रतिकिलो रहेको मुसुरोको दाल अहिले १६० रुपैयाँ पुगेको छ । ८६ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको चिनी सय रुपैयाँ पुगेको छ । यस्तै मैदा प्रतिकिलोमा चार रुपैयाँ बढेको छ । दुई साताअघि प्रतिकिलो ४३ रुपैयाँ रहेको मैदा अहिले ४७ रुपैयाँमा बिक्री भइरहेको संघको तथ्यांक छ ।
यस्तै खानेतेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । डेढ साताअघि २३० देखि २४० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको फेमिली ब्रान्डको सनफ्लावर तेल अहिले २६० पुगेको छ । त्यस्तै भटमासको तेल २२५ रुपैयाँबाट बढेर २४५ रुपैयाँसम्म पुगेको छ ।
यस्तै तोरीको तेल २३० रुपैयाँबाट बढेर २५० रुपैयाँ पुगेको छ । धारा तोरीको तेलमा सबैभन्दा बढी मूल्यवृद्धि भइरहेको छ । डेढ साताअघि ३४० रुपैयाँ प्रतिलिटर रहेको धारा तेल अहिले ३६० रुपैयाँ पुगेको छ । खुद्रा व्यापार संघको तथ्यांकअनुसार, कोरोना महामारी सुरु भएयता खानेतेलमा सय रुपैयाँ प्रतिलिटरसम्म महँगिएको छ । नेपालमा सिंगापुर र मलेसियाबाट कच्चा खानेतेल धेरै आयात हुने गरेको थियो । तर कोरोनाकालमा व्यवसायीले भारतबाट कच्चा तेल आयात गर्न थालेपछि महँगो परेकाले नेपाली बजारमा मूल्य बढेको व्यवसायीहरूको तर्क छ ।
बजार अनुगमन प्रभावकारी नहुँदा व्यवसायीले मनपरी मूल्य लिई ठग्ने गरेको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना लागत मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले अस्वाभाविक मूल्य बढाउँदा त्यसको मार उपभोक्तालाई पर्न गएको बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईंले चाडपर्वको बेला बजारमा अस्वाभाविक मूल्य बढ्न नसक्ने भएकाले बजार टोली बढाएर अनुगमनलाई तीव्रता दिएको बताए । सामान्य मूल्य बढे पनि अस्वाभाविक नबढेको उनको भनाइ छ ।
बजार मूल्य नियमनका लागि खुद्रा, डिलर हुँदै आयातकर्तादेखि उत्पादनकर्तासम्म अनुगमन गरिरहेको उनले दाबी गरे । विभागले दैनिक तीनवटा टोली परिचालन गरी अनुगमन गरिरहेको र चाँडै दसैँ लक्षित १० टोली अनुगमनमा खटाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्