लयमा फर्कंदै वैदेशिक रोजगारी «

लयमा फर्कंदै वैदेशिक रोजगारी

खोप व्यवस्थापनसँगै कोरोना संक्रमण दर पनि क्रमशः घट्दै गएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्न थालेको छ । चालु आर्थिक वर्षको साउन र भदौमा श्रमस्वीकृति लिनेको संख्या ४१ हजार ८२८ पुगेको छ । गत वर्षको यही अवधिमा यो संख्या ४ हजार ६७७ थियो ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनमा २५ हजार ४२८ र भदौको तेस्रो हप्तासम्म १६ हजार ४०० ले श्रमस्वीकृति लिएका छन् । यो संख्या गत आर्थिक वर्षको सुरुको २ महिनाको तुलनामा १० गुणा बढी हो । यसमध्ये पनि यो २ महिना नयाँ श्रमस्वीकृति लिएर जानेको संख्या करिब २५ हजार छ । यसैगरी बिदामा आएर पुनः श्रमस्वीकृति लिनेको संख्या १७ हजारको हाराहारीमा रहेका छन् ।
गएको २ महिनामा म्यानपावर कम्पनीमार्फत २२ हजार ४६५, व्यक्तिगत १ हजार ५६४, वैधानिकीकरण ९२६, व्यक्तिगत पुनः प्रवेश १६ हजार ८७३ श्रमिकले विदेश जान श्रमस्वीकृति लिएको विभागले जनाएको छ । विभागको काठमाडौं कार्यालय ताहाचलका सूचना अधिकारी राजेश उप्रेतीले पछिल्लो कोरोना संक्रमणदरमा कमी आएपछि समय वैदेशिक रोजगारी जान श्रम स्वीकृति लिनेको संख्या बढेको बताए । उनका अनुसार राजधानीसहित देशभरका ७ श्रम कार्यालयबाट श्रमस्वीकृति लिने व्यवस्था गरेका कारण श्रमिकलाई सेवा लिन सहज भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोना विरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारी नै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारी जाने प्रवृत्ति ३ वर्ष अघिको जस्तो नभएपनि खोप व्यवस्थापनका कारण जाने बढेको बताए ।
नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार विगत ३ वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ । विगत ३ आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या क्रमस घटदो दर रहेको पाइएको थियो । प्रमुख स्रोत गन्तव्य खाडी राष्ट्रमा आएको कोरोना संकटका बीच आर्थिक मन्दी भएपछि वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो । संघका पूर्व अध्यक्ष गुरुङले कोरोना संकटले रोजगारीका दर घट्दै गएको कारण जाने क्रम रोकिएपछि संख्या घटनु स्वभाविक भए पनि यसका लागि वैकल्पिक रोजगार गन्तव्य खोजी र नियमित खोप दिने वातावरण तयार गर्नुपर्ने बताए ।
विगत ३ आर्थिक वर्षमा प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमान भने सबैभन्दा बढी घटेको पाइएको थियो । कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको थियो । अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या १ लाख ६६ हजार ३०५ मा सीमित भएको छ । ३ वर्षअघि यो संख्या ५ लाख ७ हजार ८१७ थियो । विश्वव्यापी कोराना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आएपनि रेमिट्यान्स भने घटेको छैन । वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख ३ देश कतार, साउदी अरब र युएई जाने नेपाली संख्या एक वर्षमा २ लाख ५७ हजार भन्दा कमी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्