चर्को ब्याजदरविरुद्ध उद्योगीको मोर्चाबन्दी «

चर्को ब्याजदरविरुद्ध उद्योगीको मोर्चाबन्दी

विराटनगर-बैंकको चर्को ब्याजदरविरुद्ध मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले मोर्चाबन्दी गर्न सुरु गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको नेतृत्वमा बिहीबार विराटनगरमा भएको वृहत भेलाले देशभरका उद्योगी व्यवसायीलाई समेटेर ब्याजदर नहटाएसम्म आन्दोलन गर्ने निष्कर्ष निकालेका छन् । उद्योगीको आन्दोलनमा विराटनगरस्थित विराट व्यापार संघ, खुद्रा व्यापार संघ, ट्रक व्यवसायी संघ, होटल व्यवसायी संघ, ट्राभल्र्स एसोसिएसन, घरेलु तथा उद्योग संघ, कपडा व्यवसायी संघलगायतले संस्थागत रूपमै ऐक्यबद्धता जनाएका छन् ।
उद्योग संगठनमा भएको भेलाले संगठनका अध्यक्ष भीम घिमिरेले देशभरबाट उद्योगी व्यवसायीको ऐक्यवद्धता आउने क्रम जारी रहेको बताए । “जबसम्म ब्याजदर घट्दैन तबसम्म आन्दोलन रोकिँदैन,” घिमिरेले भने, “यो आन्दोलन सरकारविरुद्ध होइन राष्ट्रबैंकको नीतिका विरुद्ध हो ।” सरकारले नवसामन्तवाद र नवधनाढ्यवादलाई प्रश्रय र संरक्षण गरेको घिमिरेको आरोप थियो ।
उद्योगीहरूले चरणबद्ध आन्दोलनसमेत घोषणा गरिसकेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय मोरङ र राष्ट्रबैंकमार्फत ज्ञापनपत्रसमेत पठाइसकेका छन् । माग सम्बोधन नभए आइतबारदेखि विराटनगरस्थित राष्ट्रबैंकमा धर्ना बस्ने कार्यक्रम छ । २३ गतेसम्म माग सम्बोधन नभए २४ गते सबै उद्योगको चाबी बुझाएर राष्ट्रबैंकमा तालाबन्दी गरेर अनिश्चितकालीन धर्नामा बस्ने आन्दोलनका कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेका छन् । बैंकको दादागिरी र मनोमानीविरुद्ध आन्दोलन गर्नुपरेको उनको कथन छ । “बैंक सञ्चालनमा आएको एक वर्ष नपुग्दै नाफामा हुने तर २० औं वर्ष सञ्चालनमा रहेका उद्योग घाटामा हुने अवस्था कसरी सिर्जना भयो ?” मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने, “बैंकको ब्यालेन्ससिट हेर्ने हो भने सबै नाफामा हुन्छन् ।” यो क्षेत्रका ६० प्रतिशतभन्दा बढी उद्योग घाटामा सञ्चालन भएको सारडाले बताए ।
सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा झनै आहत दिएको उनको कथन थियो । “अन्य देशमा रोजगारदातालाई उच्च सम्मान दिइन्छ तर, नेपालमा भने चोर–डाकाको व्यवहार गरिन्छ,” सारडाले भने, “एउटा बैंकले देशभरमा दुई सयलाई पनि रोजगारी दिएको हुँदैन तर हामीले एउटै उद्योगमा ५ सयभन्दा बढीलाई रोजगारी दिएका हुन्छौं ।”
अहिलेकै ब्याजदर कायम रहे दुई वर्षभन्दा बढी धान्न नसक्ने संगठनका वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेलले बताए । कम उत्पादन लागत भएका विदेशी वस्तुका कारण उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आइरहेका बेला बैंकले मनोमानी रूपमा ब्याज बढाएकाले आन्दोलनमा उत्रिनु परेको उनले उल्लेख गरे । भेलामा सांसदसमेत रहेका उद्योगी मोती दुगडले बैंकको अहिलेको चर्को ब्याजदर कायम रहे सबै उद्योगी व्यवसायी टाट पल्टिएर पलायन हुने दाबी गरे । उद्योगीहरूले उत्पादनमूलक उद्योगलाई प्रवाह भएको ऋणमा अधिकतम् ७ प्रतिशत र व्यावसायिक क्षेत्रमा ९ प्रतिशतमा नबढाई ब्याजदर कायम गर्नुपर्ने र बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगहरूमा सरल तरिकाले लगानी गर्ने व्यवस्था मिलाउनुपर्ने मुख्य माग अघि सारेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले पनि संगठन र संघले सुरु गरेको आन्दोलनलाई समर्थन गरेको छ । झापा उद्योग वाणिज्य संघ, इटहरी उद्योग वाणिज्य संघ, वीरगन्ज उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघलगायत देशभरबाट ऐक्यबद्धता आउने क्रम जारी रहेको अध्यक्ष घिमिरेले जानकारी गराए । वृहत छलफलमा व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु, संगठनका उपाध्यक्ष राकेश सुराना, पूर्वअध्यक्ष शिवशंकर अग्रवाल, मुकेश उपाध्याय, विराट व्यापार संघका अध्यक्ष शिव रिजाल, उपभोक्तावादी कृष्णप्रसाद भण्डारी ‘मार्सेली’लगायतले ट्रेड माफियाले बैंकमा लगानी गरेकाले उनीहरूले उद्योग बन्द होस् भन्ने चाहेको आरोप लगाए । विदेशबाट सामान ल्याएर बिक्री गरेर मुलुकको व्यापार घाटा बढाउन चाहने ट्रेड माफियाकै कारण ब्याजदर वृद्धि भएको उनीहरूको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्