पर्यटन व्यवसाय सञ्चालन गर्न सरकारसँग माग «

पर्यटन व्यवसाय सञ्चालन गर्न सरकारसँग माग


विज्ञहरुले पर्यटन व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञहरुले पर्यटन व्यवसाय पूर्णरुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका हुन । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्णरुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका हुन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय घिमिरेले नेपालमा पर्यटन व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै सरकारले भ्याक्सिनेटेड पर्यटकको भिजा अन अराइभलको व्यवस्था गर्नुपर्ने बताए । उनले पर्यटन प्रवद्र्धन, विकास र सहजरुपमा सञ्चालन गर्नको लागि सरकारले पर्यटनसम्बन्धी निर्णय लिने हरेक बैठकमा निजी क्षेत्रका व्यवसायीहरुलाई पनि समेट्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले सीसीएमसीले व्यावसायीलाई हाउगुजी बनाएको बताए । उनले त्यहाँ बस्नेहरुले विभिन्न स्वार्थले गर्दा पर्यटन व्यवसायीहरु मारमा परिरहेको आरोप लगाए । अध्यक्ष गुरागाईंले अब पनि पर्यटन व्यावसाय चल्न नदिए सडक र सिंहदरबार घेर्ने चेतावनी दिए ।
त्यस्तै होटल एसोसिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणाले सरकारले कोरोनाको महामारी चलिरहे पनि देशको अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताइन् । उनले पर्यटन व्यवसायीहरुको बाँच्ने आधार भनेकै पर्यटक भएकोले सरकारले यसलाई चासोका साथ पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र भ्याक्सिनेटेड पर्यटकलाई अन अराइभल भिजाको व्यवस्था गर्नुपर्ने बताइन् ।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले विगत डेढ वर्षदेखि कोरोनाका कारण बन्द रहेको पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्यटकहरु भित्र्याउनुपर्ने बताए । उनले सरकारले पूर्ण कोरोना भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा ९६ घण्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने यात्रीहरुलाई बिना क्वारेन्टाइन र सहज यात्राको वातावरण मिलाइदिन माग गरे ।

प्रतिक्रिया दिनुहोस्