सरकार सफल: प्रम, विपक्षिको विरोध «

सरकार सफल: प्रम, विपक्षिको विरोध

दंग पर्नु प्रधानमन्त्रीको भ्रम : कांग्रेस

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा एकपछि अर्को सफलता चुमिरहेको दाबी गरेका छन् । बिहीबार नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा नयाँ–नयाँ कामको थालनी गरिरहेको बताएका हुन् ।
उनले एकपछि अर्को सफलता चुमिरहेको दाबी गर्दै जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँ–नयाँ प्रविधिको विकासमा जोड दिएको पनि बताए । उनले जनताको चाहना अनुसार विकास निर्माणको कामलाई तीव्रता दिन अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने उल्लेख गरे । यस्तै, प्रधानमन्त्री ओलीले मुलुक डिजिटल नेपाल, ई–गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको पनि बताए ।
उता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसले भने सरकार कामभन्दा भाषणबाजीमा रमाएको बताएको छ । सरकार अधिनायकवादको बाटोतिर हिँडेको आरोप उसको छ । कांग्रेसले खासगरी आफ्ना दुई नेताका नाममा खुलेका अस्पताल, चिकित्सा शिक्षा विधेयक लगायतका विषयमा सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले राणा र राजाहरुले कांग्रेसलाई नदेख्दा दरबार छाड्नुपरेको स्मरण गराउँदै चुनावपछि वाम गठबन्धनले पाएको सफलताले कांग्रेसलाई नदेख्दा कुनै चिन्ता नभएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत भएका रिजालले चुनावपछि वाम गठबन्धनले पाएको सफलता नयाँ नयाँ जवानी छ भन्ने गीतजस्तै भएको बताए । उनले प्रधानमन्त्री ऐनामा आफ्नो रुप हेरेर दंग पर्दै क्या गजब साथ देश चलाइरहेको छु भनेर भ्रममा बसेको आरोप पनि लगाए । नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्