चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित «

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

प्रमुख प्रतिपक्षी नेपाली कांग्र्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रस्तावमा तीन सांसदले संशोधन पेश गरेका थिए । संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद वृषेशचन्द्र लालले विधेयकलाई संशोधनसहित विधायन समितिमा पठाउन माग गरे । “सरकारले डा. गोविन्द केसीसँग गरेको सहमति अक्षरशः पालना गर्नुपर्छ । सहमति संविधानविपरीत गरेको भए त्यस्तो सरकार एक मिनेट पनि रहन सक्दैन । संविधानबमोजिम नै सहमति गरेको भए कुन अहं र दम्भले सरकार यसबाट पछि हट्यो ?” उनले भने ।
संशोधन प्रस्ताव राखेका सांसदद्वय राधेश्याम अधिकारी र सरिता प्रसाईंले आफूहरु अवरोधसहित विरोधमा रहेकाले भाग नलिने जानकारी गराए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विधेयकले डा. गोविन्द केसीसँगको सम्झौताको मूलभूत पक्षलाई समेटेको बताए । “विधेयकमा आयोग गठनको व्यवस्था रहेकाले चिकित्सा शिक्षा सुधारका लागि अझै काम भइरहनेछ । विधेयक पारित भए पनि डा. गोविन्द केसीको जीवनरक्षाका लागि अभिभावकका रुपमा सरकार लागिपर्नेछ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्