संखुवासभा हत्याकाण्डका अभियुक्त सार्वजनिक

संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्याका अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । संखुवाभाको चैनपुरमा पत्रकार सम्मेलन आयोजना गरी अभियुक्त २५ वर्षिय लोकबहादुर कार्कीलाई सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा घटना र अभियुक्तको बारेमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक (डिआईजी) अरुण कुमार बिसिले विस्तृत जानकारी दिएका थिए ।
अभियुक्त कार्कीले आफ्नै नातामा काका पर्ने तेजबहादुर कार्कीलाई मात्र मार्न खोजेको तर परिवारका अन्य सदस्यले समेत घटना देखेकाले आफूलाई बचाउन परिवारका अन्य सदस्यको समेत हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।
खेताला बोलाउन बिहान करिब ५ बजे गाउँ हिँडेका तेजबहादुरलाई नातामा भतिजो पर्ने (अभियुक्त) ले सांघातिक आक्रमण गरेका थिए । तेजबहादुरले आफूलाई बारम्बार गाली गर्ने गरेकाले पछ्याउँदै आएर खोल्सी छेउमा मुङ्ग्रो प्रयोग गरी हत्या गरेको अभियुक्त लोकबहादुर बयान दिएको डिआईजी बिसीले सञ्चारकर्मीलाई जानकारी दिए ।
चिच्याहट सुनेर घटनास्थल पुगेका ठूली आमा कमला (तेजबहादुरकी श्रमती) र भाउजु रञ्जनालाई पनि त्यहि मुङ्ग्रोले टाउकोमा हानेर हत्या गरेको उनले स्वीकार गरेको डिआईजी बिसीको भनाइ छ । ठूली आमा र भाउजुलाई पछ्याएर आएका ९ बर्षीय भतिज दिपेन र ५ बर्षीय भतिजी गोमालाई खेदाई खेदाई लगेर घर भन्दा माथिको सिरुबारीमा पु¥याई हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
उक्त घटनापछि मृतक तेजबहादुरको घर आएका अभियुक्त लोकबहादुरले ८४ वर्षीय हजुरआमा पार्वताको भित्तामा टाउको ठोकाएर हत्या गरेको डिआईजी बिसीले जानकारी दिए । गत सोमबार बिहान उक्त हत्याको घटनापछि अनुसन्धानका विज्ञ टोलीहरुले घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो ।