विश्वविद्यालयलाई गुण्डागर्दीको थलो नबनाउनुस् : मुख्यमन्त्री शाही «

विश्वविद्यालयलाई गुण्डागर्दीको थलो नबनाउनुस् : मुख्यमन्त्री शाही

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वविद्यालयलाई गुण्डागर्दीको थलो नबनाउन आग्रह गरेका छन् । बिहीबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वीरेन्द्रनगर स्थिल स्कुल अफ ल क्याम्पसमा बीए एलएलबी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विश्वविद्यालय प्राज्ञिक थलो भएकोले प्राज्ञिक संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए ।
“राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन हुने थलोबाट ‘डन’ उत्पादन गर्न थाल्यौं भने भोलिको नेपाल कस्तो बन्ला ?” मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बेलाबेला हुने गरेका तालाबन्दी तथा अमर्यादित गतिविधिप्रति कटाक्ष गर्दै मुख्यमन्त्री शाहीले भने, “विश्वविद्यालयमा प्राज्ञिक शैक्षिक वातावातरण निर्माण गर्न विश्वविद्यालय प्रशासन गम्भिर बन्नुपर्छ ।”
मुख्यमन्त्री शाहीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रदेश सरकारको मातहतमा ल्याई कर्णाली प्रदेशमा आवश्यक जनशक्ति निर्माण गर्ने शैक्षिक संस्थाका रुपमा विकास गर्ने सोच रहेको बताए । अहिले केन्द्र सरकारको मातहतमा भएपनि कर्णालीको विकास र समृद्धिको लागि आवश्यक जनशक्ति उत्पादनका लागि आवश्यक शैक्षिक कार्यक्रम संचालन गर्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिए । “अबको १५ वर्षभित्र कर्णालीको प्रतिव्यक्ति आय २१०० डलर पु-याउने प्रदेश सरकारको लक्ष्य छ,” मुख्यमन्त्री शाहीले भने, “त्यसको लागि विश्वविद्यालयले प्राविधिक शिक्षातर्फ आफना शैक्षिक कार्यक्रम संचालन गर्न आवश्यक छ ।” कानुन संकायको सुरुवातले विधिको शासन र लोकतन्त्रको सुदृढिकरणमा थप योगदान पु¥याउने विश्वास गर्दै मुख्यमन्त्री शाहीले दक्ष जनशक्ति विकासका लागि शुभकामना व्यक्त गरे ।
सो अवसरमा विश्वविद्यालयमा बीए एलएलबी कार्यक्रमको संचालनका लागि योगदान गर्ने डा. युवराज संग्रौलालाई सम्मान गरिएको थियो भने मुख्यमन्त्री शाहीलाई विश्वविद्यालयको समग्र विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्