नक्कली नेपाली नोटसहित पाँच कारोबारी पक्राउ «

नक्कली नेपाली नोटसहित पाँच कारोबारी पक्राउ


प्रदेश दुईका विभिन्न बजारमा एक हजारका नक्कली नेपाली नोट भएको आशंका प्रहरीले गरेको छ । नेपाल प्रहरीको स्पेसल टास्क फोर्सले बाराको निजगढबाट ९३ लाख नक्कली नेपाली नोटसहित ५ जनालाई पक्राउ गरी आइतबार कलैयामा सार्वजनिक गरेसँगै प्रहरीले यस्तो आशंका गरेको हो ।
टोलीले निजगढस्थित एक होटलबाट नक्कली नोटको कारोबारमा संलग्न ३ जना र भंैसी बाँध्ने गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकम सहित थप २ जना रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रौतहटको गुजरा नगरपालिकाका सुनिल कुमार राम, रविन्द्र कुमार चौधरी, बारा करैया माईका विशेश्वर प्रसाद चौधरी, बारा कलैयाका सागर शुक्ला र राजु कुशबाह रहेका छन् ।
प्रहरी स्रोतका अनुसार भाारतमा नेपाली एक हजार दरको नक्कली नोट छापेर प्रदेश २ मा ल्याएर कारोबार गर्ने गिरोह नै पक्राउ परेको हो । पक्राउ परेकाले प्रयोग गरेको बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडी, मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले नक्कली नोटको कारोबारमा संलग्न ५ जना सहित नेपाली नक्कली नोट ९३ लाख, नोट बनाउने कागज र उनिहरुले प्रयोग गर्ने सवारी साधन नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको बताए ।
पक्राउ परेका कारोबारीले प्रदेश दुईमै लक्षित गरेर भारतमा छापेको नक्कली नेपाली नोट प्रदेशको बजारमा यस अघि पनि चलनचल्तीमा ल्याएको सक्ने हुन सक्ने प्रहरीको आशंका रहेको छ । यस गिरोहमा अन्य व्यक्तिहरु पनि संलग्न रहेको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।
भाारतमा नक्कली नोट छापेर प्रदेश २ मा ल्याएर कारोबार गर्ने गिरोहले कारोबार हुँदै गरेको थाहा पाएपछि प्रहरीको स्पेसल टास्क फोर्स शनिबार बिहान निजगढ आएको थियो । होटलका सञ्चालकलाई महिनौंअघि देखि नियमित ग्राहक रहेका उनीहरुले आफूहरु जग्गाको कारोबारी भएको परिचय दिएका थिए ।
पक्राउ परेका व्यक्ति र सवारी साधन कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान थालेको छ । पक्राउ परेका अभियुक्तलाई मुद्रा सम्बन्धि कसुर खोटा चलन अन्तर्गत कारबाही हुने कानुनी प्रावधान रहेको छ । पछिल्लो समय प्रदेश दुईको सिमावर्ती क्षेत्रमा भारतिय नक्कली नोटको कारोबारको चर्चा नसुनिए पनि एकाएक विभिन्न परिचय बोकेर भारतमा छापेर प्रदेश दुईमा नक्कली नोट कारोबार गर्नेको ठूलो गिरोह प्रहरीले समात्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्