बालबालिकामा हुन सक्ने कोभिड संक्रमण रोक्न कार्यक्रम «

बालबालिकामा हुन सक्ने कोभिड संक्रमण रोक्न कार्यक्रम


महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकालाई कोरोना संक्रमणको तेस्रो लहरले पार्न सक्ने सम्भावित जोखिमविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
भदौ २९ गते मनाइने ५७ औं राष्ट्रिय बाल दिवसलाई समेत बालबालिकामा हुन सक्ने कोरोना संक्रमणको उपचार र रोकथामलाई आधार बनाएर कार्यक्रम तय भएको छ । मन्त्रालयले आइतबार ‘सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ नारा दिएर आयोजना गरेको अन्तरक्रियामा कोभिड संक्रमणबाट बालबालिकालाई बचाउन अभियान शुरु गरिने विषयमा छलफल भएको छ । मन्त्रालयका सहसचिव उमेश ढुंगानाले १८ वर्ष माथि उमेर समूहले खोप लगाइरहेको परिप्रेक्ष्यमा बालबालिकालाई कसरी संक्रमणबाट बचाउने भन्नेबारे विभिन्न प्रतिकार्य भइरहेको बताए । “बालबालिकामा हुन सक्ने सम्भावित संक्रमणलाई रोक्न सरकारले १२ देखि १८ वर्ष उमेर समूहका लागि ६० लाख मात्रा एस्ट्राजेनिका खोप ल्याउने तयारी भएको छ,” उनले भने, “यसका साथै संक्रमणको जोखिमलाई मध्यनजर गरेर २० प्रतिशत बेड बालबालिकाको लागि छुट्याउने निर्णय समेत भएको छ ।”
राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले कोरोनाको सम्भावित तेस्रो लहरको संक्रमण जोखिमबाट बच्न ७ वटै प्रदेशमा बालमैत्री स्वास्थ्य सेवाको व्यवस्था गर्ने सम्बन्धमा छलफल गर्ने तयारी भएको बताए । बालबालिकामा हुने सक्ने सम्भावित संक्रमणको जोखिमबाट बचाउन ३ वटा योजना बनाएर अघि बढ्ने रणनीति रहेको निर्देशक धरेलले बताए । उनले खोप, स्वास्थ्य सेवा र विशेषज्ञ चिकित्सकसँगको परामर्शमा ३ हजार स्वास्थ्यकर्मीलाई बालमैत्री सेवा सम्बन्धी तालिम दिने तयारी भइरहेको बताए ।
हालसम्म कोभिड लक्षित सचेतना सामग्रीको निर्माण गरी २ लाख ६० हजार भन्दा बढीमा पहुँच पुगेको परिषद्ले जनाएको छ । हालसम्म सातै प्रदेशका ५४२ स्थानिय तहका ६१२ जनाको सहभागितामा कोभिड १९ बालबालिका केन्द्रित सेवा प्रवाहमा स्थानिय तहको भूमिका तथा तयारी सम्बन्धी भर्चुअल माध्यमबाट अन्तरक्रिया गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्