कोभिड प्रभावित श्रमिकलाई रोजगारी दिने कार्यक्रम सुरू «

कोभिड प्रभावित श्रमिकलाई रोजगारी दिने कार्यक्रम सुरू


कोभिड–१९ का बाट अति प्रभावित होटल उद्योगबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी ल्याइएको कार्यक्रमको सुरुवात भएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत यो कार्यक्रम ल्याइएको हो ।
यसका लागि होटल संघ नेपाल र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएअनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार अगाडि होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहको अध्यक्षतामा शुभारम्भ कार्यक्रम सम्पन्न भएको हानले जनाएको छ ।
कार्यक्रममा प्रथम उपाध्यक्ष शाहले यस कार्यक्रमको सराहना गर्दै प्रभावित श्रमिकहरुलाई दसैं अगाडि केही राहत पुग्ने र काठमाडौं उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटो घाटो सरसफाइ र हरियाली गर्ने कार्यक्रमबाट काठमाडौं महानगरपालिकालाई पनि सहयोग पुग्ने बताए । उनले यस कार्यक्रमको श्रम दिन पाँच हजार रहेको र एउटा श्रमिकले बढीमा ४० दिन काम गर्न सक्ने गरी योजना बनाइएको पनि जानकारी गराए ।
काठमाडौं महानगरपालिका वडा नं. ९ का वडा सदस्य श्रीराम राईले यस कार्यक्रमको सराहना गर्दै कार्यक्रम सफलताका लागि वडाबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटनबार्डका वरिष्ठ प्रबन्धक सुनिल शर्मा, ट्रेड युनियनको तर्फबाट वंशी भट्टराईले आफ्नो धारणा राखे भने संघका महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विनायक शाहले श्रमिकहरुलाई सावेल उपलब्ध गराई कार्यक्रमको सुरुवात गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्