खेर जाने बिजुली आदान–प्रदान गर्न भारतसँग प्रस्ताव «

खेर जाने बिजुली आदान–प्रदान गर्न भारतसँग प्रस्ताव


नेपाल विद्युत् प्राधिकरणले खेर जाने बिजुली आदान–प्रदानका लागि भारतसँग प्रस्ताव गरेको छ । बर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि प्राधिकरणले भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको प्रस्ताव गरेको हो ।
प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेरजाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमीटेडसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको प्रस्ताव गरेको प्राधिकरणले जनाएको छ । हाल रातीको समयमा दैनिक चार करोड बराबरको बिजुली खेर गइरहेको प्राधिकरणले जनाएको छ ।
नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ ।
प्रस्तावमा बर्खाका ६ महिना नेपालबाट विद्युत् विहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत् आदान–प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार, बर्खाका महिनामा २४सै घण्टा २ सय मेगावाट एवं राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिनेछ ।
“यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केही वर्ष हामीलाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ, यदि पारस्पारिक विद्युत् आदान प्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबीच विद्युत् कारोबारको कोसेढुंगा हुनेछ, यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौं, केही दिनभित्रमा यसबारेमा ठोस निर्णय आउने विश्वास छ,” उनले भने ।
घिसिङका अनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने छ । हिउँद याममा त्यति नै बराबरको विद्युत् आयात गर्न सकिन्छ । यसले गर्दा बर्खामा खेर जाने विद्युत्को उच्चतम् प्रयोग हुनेछ ।
अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारणलाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर–मुजफ्फरपुर, रामनगर विन्दुबाट २४सै घण्टा विद्युत् नर्थ बिहार पावर डिस्ट्रिब्युसन कम्पनी लिमिटेडलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ । साथै, राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिने छ । यसबाट सञ्चालमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुनेछ ।
बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जा सम्बन्ध विभिन्न निकायमा पुगेर घिसिङसहित विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिंँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जनको टोलीले विद्युत् व्यापारका लागि छलफल गरेको थियो । टोलीले बिहीबार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सन्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत् आदान–प्रदानका विषयमा छलफल एवं प्रस्ताव पेस गरेको थियो । साथै, विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिएका आयोजनाको संख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था, दुई मुलुकबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीसँग विस्तृत छलफल गरेको थियो ।
टोलीले भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत् बिक्री गर्न सहमतिका लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारीहरु, केन्द्रीय विद्युत् प्राधिकरणका पदाधिकारी एवं नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम र पावर टेडिङ कर्पोरेसन (पीटीसी)का पदाधिकारीसँग विस्तृत छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्