आश्चर्यचकित विकास भयो : प्रधानमन्त्री ओली «

आश्चर्यचकित विकास भयो : प्रधानमन्त्री ओली

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले देशले चालेको समृद्धिको पाइला एक कदम अघि बढेको बताएका छन् । बिहीबार झापाको मेची पुल उद्घाटन गर्दै उनले पुल निर्माणसँगै भारतमात्र नभई बंगलादेशसँग पनि नेपालले व्यापारिक कारोबार गर्न मद्दत पु-याउने बताए ।
भारतको बंगाल, बिहार राज्यसँग जोडिने सो पुल पटक पटक शिलान्यास भए पनि बन्न सकेको थिएन । अन्तिम पटक तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए ।
७ दशकपछि भद्रपुरमा ५६० मिटर लामो मेची पुल निर्माण भएको हो । शिलान्यास गरेको ९ वर्षपछि मात्र पुल निर्माण सकिएको छ । सो पुलबाट १३ किलोमिटर दुरीमा बंगलादेश पुग्न सकिन्छ । पुल निर्माणका लागि ३७ करोड ३६ लाख ८५ हजार ५६२ रुपैयाँ लागत रहेको छ ।
एक वर्षमा आफूले गरेका कामले विश्व आश्चर्यचकित भएको उनले दाबी गरेका छन् । आफूले एक वर्षमा गरेको काम असाधारण भएको दाबी गरेका प्रधानमन्त्री ओलीले ती कामको विवरण विश्व मञ्चसम्म पु-याएको जिकिर गरे । “विश्वको ध्यान नेपालतर्फ गएको छ । मुलुकमा सन्तुलित र सरल तरिकाले स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नयाँ व्यवस्थालाई स्थापित गरेको छ,” उनले भने । ओलीले छिमेकी देश र नेपालको हैसियत सम्मान स्तरमा पु-याउन आफू सफल भएको तर्क गरे ।
प्रधानमन्त्री ओलीले झापाको चन्द्रगढी विमानस्थलको रात्रिकालीन उडानको पनि उद्घाटन गरेका छन् । बुद्ध एयरले बुधबार साँझ भद्रपुरमा रात्रिकालीन सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेसँगै रात्रिकालीन उडानको उद्घाटन गर्न बिहीबार प्रधानमन्त्री ओली झापा आएका हुन् ।
विमानस्थलमा आरएनएभी प्रविधि जडान भएसँगै रात्रिकालीन उडान र लो भिजिविलिटीमा पनि उडान हुनेछ । बुधबार बुद्ध एयरको विमानले यस प्रविधिको सहायताबाट जहाजको परीक्षण उडान र अवतरण गरेको थियो । यसअघि विमानलाई ५ हजार मिटरको भिजिविलिटी आवश्यक पथ्र्यो भने अब २२ सय मिटर भिजिविलिटी भए पुग्ने जनाइएको छ । आरएनएभी प्रविधि र लाइट सिस्टम जडानमा नागरिक उड्डयन प्राधिकरणले ११ करोड खर्च गरेको छ ।
भारतको सिलगुढी, दार्जिलिङ, बंगलादेशलाई पनि जोड्दै आएको चन्द्रगढी विमानस्थलमा अब भद्रपुरबाट पोखरा, नेपालगन्ज र भैरहवामा पनि सिधा उडान सञ्चालनको तयारी भइरहेको छ । दिउँसोको समयमा यात्रुको चाप बढ्दै गएपछि रात्रीकालीन उडान सुरु गरिएको विमानस्थल प्रमुख पूर्ण चुडालले बताए । “विमानस्थलमा रात्रीकालीन उडान नुहँदा अहिले हवाई यात्रुले सास्ती भोग्दै आएका छन्,” चुडालले भने, “रात्रीकालीन सेवाको लागि एयरलाइन्स कम्पनीहरूसँग संवाद भइरहेको छ ।”
बुद्ध एयरलाइन्सले भने मार्च १० बाट उडान गर्ने गरी टिकट खुल्ला गरिसकेको छ । अन्य एयरलायन्सले केही दिनभित्रै टिकट खुल्ला गर्ने गरी तयारी गरिरहेका छन् । विमानस्थलमा २०२० सालदेखि हवाई सेवा सुरु भएको थियो । बर्खायाममा हिलो र हिउँदको हुस्सुका कारण नियमित उडान हुन सकेको थिएन । २०५६ सालमा विमानस्थलको स्तरोन्नति भएपछि मात्र नियमित उडान हुँदै आएको थियो । दैनिक एउटा पनि उडान भर्न नसक्ने अवस्थाबाट अहिले दिनको ८ वटासम्म उडान भर्नसक्ने अवस्थामा पुगेको चुडालको भनाइ छ ।
बिहीबार नै प्रधानमन्त्री ओलीले झापाको दमकमा प्रदेश १ स्तरीय बाल महोत्सव पनि उद्घाटन गरेका छन् । महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बालबालिकालाई पिटेर नभई फकाएर पठाउन अभिभावक तथा शिक्षकलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्