इजरायली भाषा परीक्षा आज «

इजरायली भाषा परीक्षा आज

रोजगारीका लागि इजरायल जान आवेदन दिएर प्रमाणित भएका ७ हजारभन्दा बढी युवाको भाषा परीक्षा आज (सोमबार) सुरु हुँदैछ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनमध्येबाट ७ हजार ९ जनालाई प्रमाणित गरी भाषा परीक्षा लिन लागेको हो ।
वैदेशिक रोजगार विभागका निर्देशक कमलप्रसाद ज्ञवालीले परीक्षालाई गोप्य तथा सुरक्षित बनाउन प्रश्नपत्र नेपाली सेनाको सुरक्षामा राखिएको बताए । उनका अनुसार ११ स्थानका १६ परीक्षा केन्द्रमा सोमबार १ बजे भाषा परीक्षा हुने छ । भाषा परीक्षामा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहने विभागले जनाएको छ । भाषा परीक्षा सुरु हुनु ३ घन्टाअघि नै तोकिएको परीक्षा केन्द्रमा पुग्नु पर्नेछ । परीक्षालाई मर्यादित बनाउन सबै केन्द्रमा वैदेशिक रोजगार विभाग बाहेकका विभिन्न निकाय र मन्त्रालयका कर्मचारीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको छ ।
वैदेशिक रोजगार विभागले सोमबार भाषा परीक्षा गरी २ दिनभित्र कम्प्युटरको माध्यमबाट परीक्षण गरी नतिजा सार्वजनिक गर्ने भएको छ । प्रश्नपत्र कम्प्युटर प्रणालीबाट गरिने भएकाले शंका गर्नुपर्ने ठाउँ नभएको निर्देशक ज्ञवालीले बताए । भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने भएको छ । विभागका निर्देशक ज्ञवालीले परीक्षा, अन्तर्वार्ता लगायतका सबै प्रक्रिया एक महिनाभित्र सक्ने गरी काम भइरहेको बताए ।
विभागले आवेदन दिएका ९ हजार ६९९ आवेदकबाट भाषा परीक्षाका लागि ७ हजारको नामावली प्रकाशित गरे पनि सर्ट लिष्टमा १ हजार ४ को नाम छनोट गर्नेछ । यसरी छनोट भएकामध्ये ३०० पुरुष र ७०० महिलालाई इजरायल पठाउने गरी नेपालस्थित इजरायली दूतावासले चिठ्ठाबाट अन्तिम नामावली छनोट गरिने छ ।
चिठ्ठाबाट अन्तिम नामावली प्रकाशित गरिने भएकाले लिखित परीक्षामा उच्च अंक ल्याएका परीक्षार्थी समेत छनोट नहुने सम्भावना रहेको विभागको भनाइ छ । “अंग्रेजी भाषा परीक्षामा स्वास्थ्य र व्याकरणसँग सम्बन्धित ८० अंकको ४० वटा प्रश्न रहने छन्,” निर्देशक ज्ञवालीले भने, “प्रश्नको लागि चिकित्सा शिक्षा आयोगले स्वास्थ्य र अंग्रेजी व्याकरणलाई आधार बनाएर प्रश्नपत्र बनाउने जिम्मा पाएको छ ।” उनले लोक सेवा आयोगले अबलम्बन गरेको ओएमआर पद्धतिबाट लिखित परीक्षा जाँच गरिने बताए । इजरायलसँगको सम्झौता अनुसार परीक्षा दिएका मध्ये १ हजार ६८० व्याक्तिलाई छनोट गरिने छ । यसरी ८० अंक लिखित परीक्षा र २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ताबाट दिइने छ । परीक्षा भौतिक उपस्थितिमा गरिने भएकाले जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालन गरि एक कक्षामा २५ जना राखिने छ । परीक्षार्थीबीच २ मिटरको दूरी कायम गरी एउटा बेन्चमा एक परीक्षार्थी मात्र राखिने छ । संक्रमण भएको कोही परीक्षार्थी भए उनीहरुलाई छुट्टै कोठामा राखेर परीक्षा लिने व्यवस्था मिलाइने विभागले जनाएको छ । यो सबै प्रक्रिया नियमित भए १ महिनाभित्र इजरायल श्रमिक जाने बाटो खुल्ने छ ।
इजरायल दूतावासले अन्तिम चरणका लागि छनोट गरेका युवालाई इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पिवा) सँग समन्वय गरेर नेपाली युवा इजरायल पठाइने छ । छनोट भएका श्रमिकलाई चरणबद्ध रुपमा पठाउने सम्बन्धमा नेपालस्थित इजरायली दूतावासले दिएको सुझावका आधारमा हुने तथा श्रमिक छनोट गर्दा युवाको योग्यता अनुभव र अन्य शारीरिक क्षमतालाई सुक्ष्म रुपमा मूल्यांकन गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्