माडीका किसानलाई अनुदान नै अनुदान «

माडीका किसानलाई अनुदान नै अनुदान

व्यावसायिक किसान बन्न चाहने युवालाई ब्याज अनुदान दिन यो वर्ष ११ करोड ५० लाख रुपैयाँ बराबरको ऋण लगानी हुने अनुमान गरिएको छ ।

चितवनको माडी नगरपालिकाले कृषि तथा पशुपंक्षी क्षेत्रमा ३ करोड ५० लाख रुपैयाँ बराबरको अनुदान दिने योजना ल्याएको छ । पशुपंक्षीतर्फ २ करोड १९ लाख ५० हजार र कृषितर्फ १ करोड ३० लाख रुपैयाँ बजेट अनुदानका लागि छुट्याइएको छ । वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्दै आफ्नै नगरमा कृषि कर्ममा लाग्न सघाउने गरी बजेट निर्माण गरेको छ ।
“विदेशबाट फर्केका र जान चाहने सबैलाई माडीमै उत्पादनमूलक काममा लगाउन अनुदानका कार्यक्रम ल्याइएको छ,” मेयर ठाकुरप्रसाद ढकालले भने, “कृषि व्यवसाय गर्न इच्छुक युवालाई ऋणको ५ प्रतिशत ब्याज नगरपालिकाले तिरिदिनेछ, ४ प्रतिशत ब्याज स्वयम लगानीकर्ताले तिरे पुग्छ ।” साना किसान कृषि सहकारीसँग सम्झौता गरी ऋण लिने व्यवस्था मिलाइएको छ । व्यावसायिक किसान बन्न चाहने युवालाई ब्याज अनुदान दिन यो वर्ष ११ करोड ५० लाख रुपैयाँ बराबरको ऋण लगानी हुने अनुमान गरिएको छ । जसमध्ये १० करोड कृषि सहकारीले लगानी गर्नेछ भने १ करोड ५० लाख नगरपालिकाको सहकारी शाखाले लगानी गर्नेछ ।
पहिलो चरणमा ९४ वटा व्यावसायिक फर्मलाई लगानी गरिँदैछ । १५ लाखदेखि २५ लाखसम्म ऋण लगानी हुनेछ । मासुजन्य र दूधजन्य उद्योग स्थापना गर्न ऋण लिने युवा किसान सिफारिसमा परेका छन् । वडा नं. १ मा १४ जना, २ मा १५ जना, ३, ६ र ७ मा ११-११ जना, ४ मा ९ जना, ८ मा ६ जना र ९ मा ९ जना ब्याज अनुदानका लागि छनोटमा परेका छन् । “पहिलो चरणमा ४ करोड ५३ लाख बराबरको लगानी हुँदैछ,” मेयर ढकालले भने, “वडातहबाट आएका सिफारिस र कार्यविधिभित्र रहेर अनुगमन गरी छनौट गरिएको हो ।”
माडीमा प्रशस्तै खाली जग्गा भएकाले कृषिमा लाग्न ब्याज अनुदानको कार्यक्रम ल्याइएको बताए । उनले दुग्ध किसानलाई प्रतिलिटर ३ रुपैयाँका दरले अनुदान दिने कार्यक्रम कार्यान्वयनमा आउन लागेको बताए । “डिडिसीका संकलन केन्द्रमा बिक्री गर्ने किसानले अनुदान पाउनेछन्”, उनले भने, “६÷६ महिनामा विवरण हेरेर अनुदान वितरण हुनेछ ।” माडीमा प्रतिदिन ५ हजार ५ सय लिटर दूध उत्पादन हुने अनुमान छ । दूधमा अनुदान दिन नगरपालिकाले ६० लाख रुपैयाँ बजेट छुट्टाइएको छ । “कार्यविधि बन्दैछ, यही महिनादेखि यो कार्यक्रम लागु हुनेछ,” उनले भने ।
नगरपालिकाले कृषि तथा पशु विमामा २० प्रतिशत थप अनुदानको व्यवस्था गरेको छ । “७५ प्रतिशत राज्यले गर्छ, २० प्रतिशत नगरपालिकाले थप अनुदान दिन्छ,” वडा नम्बर २ का वडाध्यक्ष तथा सहकारी संयोजक इश्वरीप्रसाद ढकालले भने, “६ सय निवेदन मध्ये ९४ फर्मका पशु बिमाका लागि छनोट भएका छन् ।” प्रतिपशुको ५० हजारदेखि १ लाख रुपैयाँसम्मको बिमा हुनेछ । पशु बिमा गर्न थप अनुदानका लगि १२ लाख ५० हजार बजेट छ । कृत्रिम गर्भाधान गर्न लाग्ने १ हजार रुपैयाँसमेत नगरपालिकाले दिनेछ । यस्तै नमूना कृत्रिम गर्भाधानका लागि ९ लाख बजेट छ । ठूला व्यावसायिक पशु फर्म निर्माण गर्न २२ लाख ५० हजार बजेट छ । बढीमा ३ वटा फर्मलाई अनुगमन गरेर सो रकम दिइने उनले बताए ।
अतिविपन्न वर्गका किसानलाई जीविकोपार्जनका लागि बाख्रापालनमा सहयोग गर्न १८ लाख बजेट रहेको उनले बताए । “प्रत्येक वडामा २ लाखका दरले अनुदान दिइनेछ”, वडाध्यक्ष ढकालले भने, “करिव ४५ जनालाई बाख्रापालनमा सहयोग गर्ने लक्ष्य छ ।” खोर निर्माण गर्न १० हजारसहित ४० हजार रुपैयाँ दिइने छ । नगरपालिकाले ‘१ गाई, १ भाइ’ कार्यक्रमअन्तर्गत ३ लाख ५० हजार अनुदान वितरण गर्दैछ । १२ जना किसानलाई गाईपालन गर्न ३० हजारका दरले अनुदान दिइने उनले बताए । व्यावसायीक बंगुरपालन गर्नेलाई १५ हजारका दरले १० जना किसानलाई अनुदान दिने जनाइएको छ । ठूला व्यावसायिक बाख्राफर्मका लागि अनुदान दिन ६ लाख बजेट राखिएको छ ।
माडी माछापालनमा अग्रणी क्षेत्र हो । यहाँका २ सय किसानले व्यावसायिकरूपमा माछापालन गर्दै आएका छन् । झन्डै २ करोड बराबरको माछा वार्षिक उत्पादन हुने अनुमान छ । “माछापालनका लागि ५० लाख बराबरको अनुदानको कार्यक्रम छ,” सूचना अधिकारी प्रविण भण्डारीले भने, “जलाशययुक्त क्षेत्र र कार्यविधिका आधारमा अनुदान दिइनेछ ।” छिट्टै माछा सहकारी बनाउने योजनासमेत रहेको उनले बताए । “माडीलाई भविष्यमा माछाको सुपरजोन बनाइनेछ”, उनले भने, “माछा पोखरी बनाउन उत्प्रेरित गर्दै आएका छौं ।” उनका अनुसार कृषिसम्बन्धी मेसिनरी उपकरणका लागि ३० लाख बराबरको अनुदान दिन लागिएको छ । नगरपालिकाले ५० प्रतिशत खर्च बेर्होनेछ । भूमिगत सिँचाइका लागि ४ वटा योजना बनाइएको छ । उन्नत बीउविजनका लागि ९ लाख बराबरको अनुदान दिइने छ ।

प्रतिक्रिया दिनुहोस्