दोस्रो व्यास अल्ट्रा म्याराथनको उपाधि रानाभाटलाई «

दोस्रो व्यास अल्ट्रा म्याराथनको उपाधि रानाभाटलाई

दमौली-व्यास नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि डोटीका खगेन्द्र बहादुर रानाभाटले जितेका छन् । व्यास नगरपालिका–५ मानहुँदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै त्रिभुवन आर्मी क्लवका रानाभाटले उपाधि जितेका हुन् ।
प्रतियोगितामा डोटी घर भएका त्रिभुवन आर्मी क्लवकै नवराज साउद ३ घण्टा २ मिनेटमा उक्त दूरी पार गर्दै द्वितीय भएका छन् भने ३ घण्टा १४ मिनेटमा उक्त दूरी पार गर्दै पाँचथरका भूमिराज राई तृतीय भएका छन् । ३ घण्टा १६ मिनेटमा उक्त दूरी पार गर्दै रुकुमका दुर्गाराज बुढा, ३ घण्टा २० मिनेटमा उक्त दूरी पार गर्दै रामेछापका किरण सिं बोगटी मगर, ३ घण्टा २२ मिनेटमा उक्त दूरी पार गर्दै व्यास नगरपालिका–६ का सुरेन्द्र चापागाईँ, ३ घण्टा २३ मिनेटमा उक्त दूरी पार गर्दै व्यास नगरपालिका–६ कै विशाल गुरुङ र ३ घण्टा ३५ मिनेटमा उक्त दूरी पार गर्दै सोलुखुम्बुका सुमन कुलुङले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
गत वर्ष सम्पन्न प्रथम अल्ट्रा म्याराथनमा त्रिभुवन आर्मी क्लवका नवराज साउदले ३ घण्टा १३ मिनेटमा उक्त दूरी पार गर्दै उपाधि जितेका थिए । उनी दोस्रो अल्ट्रा म्याराथनमा द्वितीय भएका छन् ।
म्याराथनमा प्रथम हुनेले असी हजार, द्वितीय हुनेले साठी हजार, तृतीय हुनेले पचास हजार र सान्त्वना हुने पाँच जनाले पन्ध्र÷पन्ध्र हजार प्राप्त गरेका छन् । विजेताहरुलाई राष्ट्रिय धावक बैकुण्ठ मानन्धर र नगर प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरेका थिए ।
म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर टुङ्गिएको थियो ।
प्रतियोगितामा १९ जिल्लाका १ सय ४ जना धावकहरुको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा तनहुँ सहित कास्की, बाँके, लमजुङ, झापा, रुकुम, गोरखा, धनकुटा, पाँचथर, भक्तपुर, डोटी, सिन्धुपाल्चोक, ललितपुर जिल्लाका धावकहरुको सहभागिता रहेको थियो ।
यसअघि प्रतियोगिताको मानहुँमा उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकुदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताए । खेलकुदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पु¥याएको भन्दै वरिष्ठ नेता पौडेलले भने, “खेलकुदको क्षेत्रबाट नेपाल विश्व समुदाय माझ चिनिन सफल भएको छ । यो सकारात्मक हो ।”

प्रतिक्रिया दिनुहोस्