कृषि तथा बाली बिमाको अनुदान बढ्यो «

कृषि तथा बाली बिमाको अनुदान बढ्यो


सरकारले कृषि तथा बाली बिमा गर्दा प्रिमियम रकममा दिँदै आएको अनुदान वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै बाली तथा पशुको बिमा गर्दा प्रिमियम रकममा ८० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।
सरकारले आव २०६९/०७० देखि बाली तथा पशु बिमा गर्दा ७५ प्रतिशत प्रिमियम अनुदान दिने कार्यक्रम सुरु गरेको थियो ।
जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको अध्यादेश बजेटमा बिमा प्रिमियमको अनुदान घटाएर ५० प्रतिशतमा झारेका थिए । अर्थमन्त्री शर्माले यसलाई संशोधन गरी ८० प्रतिशत पु¥याएका छन् । कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न तथा यस क्षेत्रमा किसानहरूको आकर्षण बढाउनका लागि अनुदान बढाइएको शर्माले संशोधन बजेटमा उल्लेख गरेका छन् ।
यो व्यवस्थासँगै किसानहरूले बालीनाली तथा पशुधनको बिमा गर्दा एक सय रुपैयाँ प्रिमियमध्ये २० रुपैयाँमात्र भुक्तानी गर्नुपर्नेछ । कम्पनीहरूले बिमा गरेपछि ८० रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट शोधभर्ना पाउनेछन् । सरकारले कृषि बिमाको पहुँच विस्तार गर्नका लागि अनुदान दिए पनि बिमाको विस्तार भने व्यापक हुन सकेको छैन । बिमा कम्पनीहरूलाई जिल्ला तोकेर कृषि बिमाको काम गर्नका लागि बिमा समितिले निर्देशन दिएको छ ।
समितिका अनुसार गत चैतसम्ममा एक लाख ३७ हजार बिमा लेख जारी गरेका छन् । यसैगरी अर्थमन्त्री शर्माले सहुलियत कर्जा कार्यक्रमलाई विस्तार गर्दै प्रत्येक पालिकामा पाँच सय युवालाई स्वरोजगार बनाउने उल्लेख गरेका छन् ।
यसअघि नै सरकारको कार्यक्रमअनुसार बैंकहरुबाट व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा, महिला उद्यमशील, युवा स्वरोजगारलगायतका विभिन्न १० प्रकारका व्याज अनुदानसहितको कर्जा प्रदान गर्दै आएका छन् । सहुलित कर्जामा बैंकहरूले आधारदरमा २ प्रतिशत थप गरेर कर्जाको व्याजदर तय गर्ने र त्यसमा ५ प्रतिशत सरकारले अनुदान दिने व्यवस्था रहेको छ । उक्त व्यवस्थाका आधारमा हालको प्रचलित व्याजदरका आधारमा बैंकबाट ५ प्रतिशत व्याजदरमा कर्जा पाउन सकिने अवस्था छ ।
राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्ममा एक लाख चार हजार १०९ जना ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई एक खर्ब ६१ अर्ब ४४ करोड कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार ५७ ऋणीलाई प्रवाह भएको एक खर्ब ६ अर्ब ९८ करोड, महिला उद्यमशील कर्जाअन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई प्रवाह भएको ५० अर्ब ९८ करोड कर्जा लगानीमा रहेको छ ।
यसअघि बजेटमा अर्थमन्त्री पौडेलले स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितोमा अधिकतम ५ प्रतिशत व्याज दरमा २५ लाख रुपैयाँसम्म र युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितोमा २५ लाखसम्म विउ पुँजी कर्जा उपलब्ध गराइने र यसको व्याजदर एक प्रतिशत कायम हुने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्