जोन्टी रोड्स डीपीएलको गुडविल एम्बासडर «

जोन्टी रोड्स डीपीएलको गुडविल एम्बासडर

विश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स रुस्लान धनगढी प्रिमियर लिग तेश्रो संस्करणको गुडविल एम्बासडर नियुक्त भएका छन् । रोड्स लिग आयोजना अवधिभर धनगढीमा नै रहनेछन् र प्रतियोगिता दौरान विभिन्न कार्यक्रमहरुमा आबद्ध हुनेछन् ।
दक्षिण अफ्रिकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो फिल्डिङका कारण प्रसिद्ध छन् । सन् १९९२ को एकदिवसीय विश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकको रन आउटका कारण प्रख्यात रोड्सलाई त्यति बेला एउटा पत्रिकाले ‘के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टी हो’ लेखेको प्रसंग चर्चित मानिन्छ । हावामा उड्दै उनले गरेको रनआउट विश्व क्रिकेटमा धेरै याद गरिने क्षण मध्येको एक हो । रोड्स इन्डियन प्रिमियर लिग आईपीएल टिम मुम्बई इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिङ कोच रहेका थिए भने श्रीलंका, दक्षिण अफ्रिका, केन्याजस्ता टिमहरुको प्रशिक्षण गरिसकेका छन् ।
प्रतियोगिताको गुडविल एम्बासडरको रुपमा जोन्टीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी ) र विश्व क्रिकेट जगतको ध्यान प्रतियोगितामा तानिने र उनको उपस्थितिले खेलाडी र खेलप्रेमीहरुलाई समेत उत्साह र प्रेरणा दिने आयोजकले जनाएका छन् ।
डीपीएलको तेस्रो संस्करण फाप्ला क्रिकेट मैदानमा हँुदैछ । लिगमा यो पटक पनि ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलीहरु रहेका छन् । धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्गस र महेन्द्रनगर युनाइटेड यसपटक डीपीएल खेल्दैछन् ।
६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् । डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरि १५–१५ खेलाडी टोलीमा आवद्ध गरेका छन् ।
टी–२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
टिम र रणनीतिक खेलाडी–
धनगढी स्टार्स– सोमपाल कामी
महेन्द्रनगर युनाइटेड– शरद भेषावकर
विराटनगर किंग्स– करन केसी
रुपन्देही च्यालेन्जर्स– वसन्त रेग्मी
काठमाडौँ गोल्डेन्स– ज्ञानेन्द्र मल्ल
सीवाईसी अत्तरिया– दिपेन्द्र ऐरी

 

प्रतिक्रिया दिनुहोस्