जातको प्रश्नको दोस्रो सिजन शुभारम्भ «

जातको प्रश्नको दोस्रो सिजन शुभारम्भ

समता फाउन्डेसनले सुुरु गरेको जातको प्रश्नको दोस्रो सिजन ८ अक्टोबर २०२१ देखि सुुरु हुने भएको छ । फाउन्डेसनले जातलाई सबैको साझा मुद्दा बनाएर सबै जात जातिले यसमा संवाद गर्नुपर्ने बताउँदै दोस्रो सिजनको शुभारम्भ गरेको हो । कार्यक्रममा महानायक राजेश हमालले जतिसुकै राम्रो संविधान बनाए पनि जातीय समस्या व्यवहारमा उतार्न ठूलो चुनौती रहेको बताए । उनले एक मानवले अर्को मानवमाथि गरेको विभेदले आफूलाई सताइरहेको बताए ।
महानायक हमालले भने, ‘जातीय विभेद जुन हाम्रो समाजमा भइरहेको छ, यसको प्रत्यक्ष भुक्तभोगी म आफैं नभए तापनि मैले मेरो वरीपरीका आफन्तहरूलाई देखेको छु, त्यसप्रति म जहिल्यै पनि एक किसिमको संवेदनशीलता भइरहन्थेँ म, एउटा मानवले अर्को मानवप्रति गर्ने व्यवहारमा किन यति फरक छ, भन्ने कुराले मलाई जहिल्यै पनि सताइरन्थ्यो । सुटिङको क्रममा पनि मैले विभिन्न घटनाहरू देख्ने गरेको थिएँ, पहिलो सिजन गरेपछि म मा अझ गहिराईमा बुझ्ने मौका पाएँ । जतीय समस्या हाम्रो समाज र मनमस्तिष्कमा गढेको विषयवस्तु रहेछ । हामीले जति राम्रो संविधान बनाए पनि व्यवहार उतार्न भयंकर ठूलो चुनौती रहेछ ।’
कार्यक्रममा अभिनेता दयाहाङ राईले जातको आधारमा गरिने विभेद कुनै एउटा समुदायको मात्रै चासोको विषय नभएको बताए । उनले समाजमा जातकै आधारमा विभेद गरिनु समाजकै ठूलो समस्या भएको बताए ।
अभिनेता राईले भन्नुभयो, ‘हाम्रो समाजमा जातको आधारमा गरिने विभेद एउटा समुदायको मात्रै चासोको विषय होइन, जब हाम्रो समाजमा जातकै आधारमा विभेद गरिन्छ भने त्यो समाजकै सबैभन्दा ठूलो समस्या हो, म पनि समाजको माइलो जातको रुपमा हुर्किएको मान्छे हुँ, मैले पनि विभेदका कुराहरू भोगेको छु ।’
कार्यक्रममा उपस्थित गायक प्रकाश सपुत, सञ्चारकर्मी निष्मा चौधरी ढुंगाना, महिला आयोगकी पूर्वसदस्य मोहना अन्सारी, निर्देशक शान्ता नेपालीले जाती विभेद समाजको एउटा प्रमुख समस्या रहेकोले यसलाई कम गर्न जातको प्रश्नले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । एउटा मानिसले अर्को त्यही समाजमा बस्ने मानिसलाई विभेद गर्नुनहुने उहाँहरूको भनाइ थियो । जातको प्रश्नको दोस्रो सिजन महानायक राजेश हमाल, अभिनेता दयाहाङ राई, गायक प्रकाश सपुत, सञ्चारकर्मी निश्मा ढुंगाना चौधरी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व अध्यक्ष मोहना अन्सारीले सञ्चालन गरेका छन् ।
जातको प्रश्नको दोस्रो सिजन १२ अंकको हुनेछ भने शान्ता नेपालीको निर्देशनमा बन्ने जातको प्रश्नको दोस्रो श्रृंखलामा नेपालका दलितहरूले भोगिरहेको जीवनको यथार्थ र अनुभवका कुराहरूलाई समेटिनेछ ।

प्रतिक्रिया दिनुहोस्