बिमा संस्थानको सात अर्ब ५७ करोड १३ लाख प्रिमियम संकलन «

बिमा संस्थानको सात अर्ब ५७ करोड १३ लाख प्रिमियम संकलन

राष्ट्रिय बिमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउने भएको छ । संस्थानको शनिबार सम्पन्न ३१औं साधारणसभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संस्थानले दुई अर्ब चुक्ता पुँजी पु¥याउनका लागि अर्थमन्त्रालयमा स्वीकृतिका लागि योजना पठाएको बताए । बिमा समितिको पछिल्लो निर्देशन अनुरुप बिका कम्पनीहरुले दुई अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने व्यवस्था छ ।
पछिल्लो समय फैलिएको कोभिड–१९ को प्रभावलाई नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञाले संस्थानको व्यवसाय विस्तारलगायत अन्य गतिविधिहरुमा नराम्रो प्रभाव परेको उनले बताए ।
कोरोना प्रभावका बाबजुद पनि संस्थानले गत आर्थिक वर्ष २०७७/०७८ मा सात अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको अध्यक्ष कँडेलले बताए । सोही अवधिमा तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बिमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लख रहेको अध्यक्ष कँडेलले जानकारी दिए ।
संस्थानको लामो समयदेखि बाँकी रहेको आव २०६६/०६७, २०६७/०६८ र २०६८/०६९ को लेखा परीक्षण तथा साधारणसभा पनि गरिएको हो ।
संस्थानले आव २०६६/०६७ मा तीन अर्ब चार करोड चार लाख १६ अजार ८२३ आम्दानी गरेको छ भने २०६७/०६८ मा तीन अर्ब ७८ करोड ७० लाख ७४ हजार ३१७ रुपैयाँ आम्दानी गरको छ । यस्तै २०६८/०६९ मा तीन अर्ब ९० करोड ५७ लाख ८४ हजार २२७ रुपैयाँ आम्दानी गरेको छ ।
संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको भन्दै संस्थानका प्रशासक कविप्रसाद पाठकले आव २०६६/०६७ को तुलनामा पछिल्ला वर्षहरुमा बिमा क्षेत्रमा रहेका विविध चुनौतीको सामना गर्दै संस्थानले व्यवसायमा उल्लेख्य वृद्घि गर्दै गएको बताए ।
बिमा समितिले आर्थिक वर्ष २०६६/०६७, २०६७/०६८ र २०६८/०६९ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेसँगै साधारणसभा सम्पन्न गरेको हो । संस्थान, बिमा समिति, महालेखा परीक्षकको कार्यालय र अर्थमन्त्रालयको समन्वयमा उक्त तीन आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्ने सहमति भएको थियो । कतिपय पुराना हिसाव नभेटिएको तथा हिसाव कितावको रेकर्ड नै नष्ट गरेका कारण पनि लेखापरीक्षण हुन सकेको थिएन ।
महालेखा परीक्षणकको कार्यालय तथा अर्थमन्त्रालयले पटक पटक हिसाब मिलाउन तथा लेखापरीक्षण गर्न निर्देशन दिए पनि काम पूरा हुन सकेको थिएन । यसले गर्दा तीन वटै निकायको रोहवरमा उक्त लेखापरीक्षण गर्नका लागि बाटो खुलाइएको हो ।
आर्थिक वर्ष २०६६/०६७, २०६७/०६८ र २०६८/०६९ को साधारणसभा सम्पन्न भएसँगै अर्को तीन आर्थिक वर्ष २०६९/०७०, २०७०/०७१, २०७१/०७२ को पनि लेखापरीक्षकबाट प्रतिवेदन प्राप्त भई गत असार ३१ गते स्वीकृतिका लागि बिमा समितिमा पठाएको संस्थानले जनाएको छ । महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भई आव २०७२/०७३, २०७३/०७४ र २०७४/०७५ को लेखापरीक्षण समयमा सम्पन्न गर्नका लागि पनि साधारणसभाले दुई जना लेखापरीक्षक नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्