Logo

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन भएको छ । उनको शुक्रबार राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौँको बत्तीसपुतलीमा निधन भएको हो । उनी मिर्गौला रोग, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि राणा नियमित रूपमा डायलायसिस गर्दै आएका थिए ।
राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए । उनी पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव भएका थिए । राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बनेका थिए । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।
राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए भने नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष रहेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा रहेका राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत चए । राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए । उनको शनिबार नै पशुपतीस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
राणाको शवमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्