रुकुमको समृद्धि मार्ग «

रुकुमको समृद्धि मार्ग

नेपालको संविधान, २०७२ ले समृद्धिको दिशा निर्देश गरेकाले नेपालमा एकाध वर्षयता समृद्धिको गफ सहरदेखि गाउँसम्म गुन्जिएको छ । तत्कालीन रुकुम हाल दुई जिल्लामा बनेको छ । रुकुम पूर्व र रुकुम पश्चिम जिल्लामा आआफ्नै विकास सम्भावना र समृद्धिका सपना छन् । दुवै जिल्लाको समृद्धिका लागि विभिन्न क्षेत्रमा काम गर्न सकिन्छ ।
पर्यटन ः राप्ती क्षेत्रकै एक दुर्गम जिल्ला रुकुम ५२ पोखरी र ५३ टाकुरीको नामले प्रख्यात छ । बिशेषगरी ५२ पोखरी र ५३ टाकुरी अहिले नयाँ बनेको रुकुम पुर्बको रुकुमकोट क्षेत्रमा पर्छ । जिल्लाका विभिन्न ठाउँमा धेरै स–साना पोखरी र टाकुराहरू छन् जहाँ भूगोल, जाति, भाषा, धर्म, संस्कृति र संस्कारमा विविधता छ । राप्ती क्षेत्रकै सबैभन्दा ठूलो ताल रुकुममै छ । २.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पुताल मौसमअनुसार रंग फेर्ने भएकाले यसलाई ‘कान्छो रारा’ समेत भनिन्छ । यस्तै कमलताल पनि प्रसिद्ध छ । सिस्ने हिमाललको शिर सदरमुकामबाट १५ मिनेटकै दुरीमा देख्न सकिन्छ । रुकुमलाई युद्ध पर्यटनका रूपमा समेत विकास गर्ने चर्चा चलेको हो । रुकुममा होम स्टे सेवाको प्रभावकारी व्यस्थापन भएको छैन । उता प्याराग्लाइडिङको पनि राम्रो सम्भावना रहेको छ । रुकुमको जन्तीबस्ने डाँडाबाट मुसिकोटमा दुई वर्षअघि सफल परीक्षण गरिए पनि पुनः त्यसलाई निरन्तरता दिने खालको कार्यक्रम सञ्चालन गरिएको छैन ।
उद्योग ः जिल्लामा कुनै पनि ठूला तथा मझौता उद्योग कलकारखानाहरू छैनन्, जसका कारण बर्सेनि युवाहरू विदेशको भूमिमा पसिना बगाउन बाध्य छन् । एसइईपछि नै भारतको कालापत्थरमा मजदुरी गर्न जान विवश छन् । यसैले उद्योग स्थापनामा ध्यान दिनुपर्छ । यहाँका सबै नगर तथा गाउँपालिकाहरुमा वन तथा कृषिमा आधारित उद्योग स्थापना गर्न सकिने संभावना छ । निर्माण सामग्री उत्पादन गर्ने उद्योगदेखि जडीबुटी, केतुके लगायतका गैरकाष्ठ वन पैदावार प्रशोधनको उद्योग स्थापना गर्न सकिन्छ । त्यसका साथै च्युरा मिल, साबुन उद्योग, अर्गानिक खाद्यान्न उद्योग स्थापना गरी सरकारी र जनताको नीति स्तरबाट समेत लगानी गरेर सहभागिता बढाउन सकिने सम्भावना छ । त्यसका साथै रुकुम रुकुम तरकारी बीउ उत्पादनका दृष्टिकोणले राम्रो जिल्ला मानिन्छ, तर अहिलेसम्म पनि तरकारी बीउ प्रशोधनका लागि बीउ प्रशोधन उद्योग स्थापना हुन सकेको छैन, जसले रुकुममा उत्पादन भएको राम्रो बीउ अन्य जिल्लाहरूमा अरू कुनै व्यक्तिको हातमा परेर अरूकै ब्रान्डमा बिक्री–वितरण हँुदै आएको छ । त्यसकारण जिल्लामा तरकारी बीउ प्रसोधन उद्योग स्थापना गरेर रुकुमको कृषिक्षेत्रको प्रवद्र्धन गरी रोजगारी बढाउन जिल्लास्थित स्थानीय तह र अब निर्माण हुने प्रदेश सरकारले यस विषयमा सोच्नु आवश्यक छ । त्यसका साथै रुकुम यार्सागुम्बा, पाँचऔंलेजस्ता बहुमूल्य जडीबुटीको पनि उत्पादन थलो हो । यी बहुमूल्य जडीबुटिहरूको स्पष्ट व्यवसायीक नीति र बजारीकरण हुन आवश्यक छ । तेस्रो व्यक्तिमार्फत विदेशमा लिएर लाखौंमा बिक्री हुने रुकुमेली जडीबुटी किसानको हातबाट थोरैमा लिने गरेका छन्, जसले गर्दा काम गर्ने तल्लो बर्गको जनता जहिल्यै गरिब र बिचौलिया धनि हुने अवस्था छ । यसको अन्त्य पनि अबको प्रदेश र स्थानीय सरकारले गर्न आवश्यक छ ।
जलविद्युत् ः यसैगरी रुकुमपूर्व र पश्चिममा गरी दुईवटा ठूला र अन्य साना खोलानाला प्रशस्त छन् । रुकुमपूर्वमा उत्तरगंगा र पश्चिम सानीभेरी नदी निरन्तर बगिरहेको छ, तर पनि यसको पर्याप्त रूपमा सदुपयोग हुन सकिरहेको छैन । रुकुम पुर्बमा उत्तरगंगा जलाशययुक्त आयोजना बनाउन सकिने सरकारले यसअघि नै सर्वेक्षण गरेको थियो भने रुकुम पश्चिमा पनि सानीभेरी नदीका धेरै ठाउँमा विद्युत् उत्पादन गर्न सकिन्छ । यसले गर्दा रुकुममा हजारौं युवाले रोजगारी पाउनुका साथै खपत नहुने विद्युत् अन्य जिल्लाहरूमा बेचेर आर्थिक उपार्जन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्