अबको नेतृत्व बीपीले कोरेको मार्गअनुसार «

अबको नेतृत्व बीपीले कोरेको मार्गअनुसार

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको केन्द्रदेखि वडासम्म नै रौनक छाएको छ । अहिले नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरू बैठक, भेला, छलफल र गृहकार्यमा व्यस्त छन् । अहिले वडामा नयाँ नेतृत्व आइसकेको छ भने नगर, गाउँपालिका, क्षेत्र तथा जिल्लाका लागि नेताहरूले नेतृत्वका लागि कार्यकर्ता भेटघाट, छलफल तथा उम्मेदवारी घोषण गर्ने कार्य गरिरहेका छन् । अबको नेतृत्व गर्नेहरूले पार्टीमा देखिएका कमी–कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने बताएका छन् । उनीहरूले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्न, पार्टीको संस्थागत विकासका काम गर्न, समयसापेक्ष रूपमा पार्टीलाई अगाडि बढाउन, पार्टीलाई एकताबद्ध बनाउन आफूहरूको उम्मेदवारी रहेको बताएका छन् । यसै सन्दर्भमा दाङ, प्युठान र सल्यानका जिल्ला सभापतिका आकांक्षीहरूसँग दाङस्थित कारोबारकर्मी अमरराज आचार्यले गरेको कुराकानीको सार :

पार्टीलाई विधि र पद्धतिमा अगाडि बढाउन मेरो उम्मेदवारी
जानकीलाल बस्नेत
नेपाली कांग्रेस दाङका जिम्ल्ला सभापतिका आकांक्षी

नेपाली कांग्रेसलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि मेरो उम्मेदवारी हो । पछिल्लो समय नेपाली कांग्रेस विधि र पद्धतिभन्दा बाहिर जान थालेको छ । यसलाई रोक्नुपर्छ । बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्तअनुसार पार्टीलाई अगाडि बढाउनुपर्छ । अहिले त्यो हराउँदै गएको छ । बीपी कोइरालाले कोरेको मार्गमा रहेर पार्टीलाई सञ्चालन गर्नुपर्छ । यसका लागि जिल्लामा मेरो उम्मेदवारी हो । म नेतृत्वमा गएपछि बीपी कोइरालाले कोरेको मार्गमा रहेर पार्टीलाई अगाडि बढाउनेछु । यसका लागि मैले नेतृत्व लिन खोजेको हुँ । पार्टीमा सिस्टमअनुसार काम गर्नुपर्छ । यसका लागि अहिले पनि प्रयास जारी राखेको छु भने आउँदा दिनमा पनि यस कार्यलाई जारी राख्नेछु । नेपाली कांग्रेसमा पछिल्लो समयमा भित्रिएको बेथिति हटाउनुपर्छ । बेथितिले कांग्रेसलाई कमजोर बनाउँछ । जनताको भरोसा भनेकै नेपाली कांग्रेस हो । जनताको घरघरसम्म पुगेर सुखदुःखमा नेपाली कांग्रेसले साथ दिनुपर्छ । तर, अहिले सबै जनताको घरसम्म नेपाली कांग्रेस पुग्न सकेको छैन । यसलाई परिवर्तन गर्न जरुरी छ । कांग्रेस सधैं जनताको साथमा रहनुपर्छ । अहिले कम्युनिस्टहरूले गरेका विकृति–विसंगतिका बारेमा नेपाली कांग्रेस बोल्न सकेको समेत छैन । विकृति–विसंगतिका बारेमा बोल्नुपर्छ । यसले गर्दा उनीहरूलाई सहजता भएको छ ।
अहिले भएका विकृतिका बारेमा जनतालाई स्पष्ट रूपमा बुझाउन सक्नुपर्छ । जनतालाई स्पष्ट रूपमा बुझाउन सकेमा मात्र उनीहरूलाई देशको अवस्थाका बारेमा सही जानकारी हुनेछ । यसतर्फ नेपाली कांग्रेस अगाडि बढ्न आवश्यक छ र म यसतर्फ लाग्नेछु । २०३६ सालबाट नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेको हुँ । नेपाल विद्यार्थीबाट राजनीति सुरु गरेपछि पार्टीमा विभिन्न स्थानमा बसेर काम समेत गरिसकेको छु । अब जिल्लाको नेतृत्वका लागि अगाडि बढेको छु । यसमा सबैको साथ, सहयोग रहने छ । मैले जिल्लाको नेतृत्व गर्ने अवसर पाउनेछु भन्ने आशा लिएको छु ।

पार्टीको संस्थागत विकासका लागि मेरो उम्मेदवारी
ध्रुवराज पुरी
नेपाली कांग्रेस सल्यानका जिल्ला सभापतिका आकांक्षी

मेरो उम्मेदवारी पार्टीको संस्थागत विकासका लागि हो । व्यक्तिभन्दा संस्थालाई प्राथमिकता दिनुपर्छ । कुनै पनि स्थानमा पदभन्दा संस्था ठूलो रहन्छ । पार्टी तथा संस्था रहेमा मात्र व्यक्तिको पद रहन्छ । अहिले पदका लागि पार्टीमा प्रवेश गरेको पाइन्छ । यसलाई राम्रो मान्न सकिँदैन । यसले पार्टीलाई नै घाटा हुने काम गर्छ । यस प्रकारको प्रवृत्ति रोकिनुपर्छ । व्यक्ति प्रधान होइन, संस्था प्रधान हो भन्ने मान्यताका साथ अगाडि बढेको व्यक्ति म हुँ । त्यसैले म व्यक्तिगत रूपमा भन्दा पनि पार्टीको संस्थागत विकासका लागि नेतृत्व लिन अगाडि सरेको हुँ । अहिले पार्टीमा अनुशासनहीनता रहेको छ । यसलाई रोक्नुपर्छ । यसले पार्टीलाई राम्रो गर्दैन । अनुशासनबिना कुनै पनि पार्टी तथा संस्था चल्दैनन् । अनुशासन महŒवपूर्ण विषय हो । पार्टीमा अनुशासन कायम गर्न र पार्टीलाई एकीकृत तथा सुधार गरेर अगाडि बढ्न आवश्यक रहेको छ । यसका लागि मैले जिल्लामा नेतृत्व लिन खोजेको हुँ । पार्टीको विचारप्रति प्रतिबद्धता गराउन म आफ्नो तर्फबाट लाग्नेछु । यसका लागि प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन जरुरी छ । पार्टीका नेता–कार्यकर्ताहरूलाई निरन्तर छलफल, बहस चलाउनुपर्छ । अहिले यस प्रकारको छलफल, बहससमेत हुने गरेको छैन । राजनीतिमा आउने चाहना भएका तर विभिन्न कारणले आउन नसकेकालाई अगाडि वढाउन मेरो प्रयास रहनेछ, जसले गर्दा सबै राजनीतिको पहँुचमा आउनेछन् । अहिले पनि आर्थिक कारणले पनि धेरै राजनीतिक पहुँचसम्म आउन सकेका छैनन् । यसले पार्टी बलियो बनाउनसमेत सहयोग पुग्नेछ । आफू जिल्लाको नेतृत्वमा आएपछि यस कार्यलाई अगाडि बढाउनेछु । २०२८ सालदेखि राजनीतिमा प्रवेश गरेको थिएँ । पार्टीका विभिन्न पदमा रहेर कामसमेत गरिसकेको छु ।

पार्टीलाई समयसापेक्ष अगाडि बढाउन मेरो उम्मेदवारी
केशबहादुर विष्ट
नेपाली कांग्रेस सल्यानका जिल्ला सभापतिका आकांक्षी

नेपाली कांग्रेसलाई समयसापेक्ष रूपमा अगाडि बढाउने नेतृत्वका लागि मेरो उम्मेदवारी हो । समयलाई बुझेर अगाडि बढ्न सकिएमा मात्र पार्टीलाई अगाडि बढाउन सकिने छ । अहिले नयाँनयाँ प्रविधिको विकास हुँदै गएको छ । त्यसैअनुसार आफूलाई अगाडि बढाउँदै लैजानुपर्छ । समयअनुसार आफूलाई परिवर्तन गरेर अगाडि बढ्न सकिएन भने सधैं पछाडि परिनेछ । आफूसँगै पार्टीलाई समयसापेक्ष रूपमा अगाडि बढाउन सक्नुपर्छ ।
यसका लागि नेतृत्व हस्तान्तरण हुन आवश्यक छ । अबको नेतृत्व युवाहरूको हुन आवश्यक रहेको छ । पुरानो पुस्ताले पार्टीलाई धेरै मेहनतका साथ यहाँसम्म ल्याउनुभयो । अब पार्टीलाई अगाडि बढाउने जिम्मेवारी युवाहरूको हो । युवाहरू अब अगाडि बढ्नुपर्छ । अहिले पनि युवाहरूलाई नेतृत्वका लागि नपत्याउने गरिन्छ । यस प्रकारको सोच परिवर्तन गर्न सक्नुपर्छ । सोच, भिजनमा परिवर्तन गरेर अगाडि बढेमा सफलता हासिल हुनेछ । सोच भिजनमा परिवर्तन गर्न सकिएमा मात्र सफल हुन सकिनेछ । नेतृत्वले सबैको विश्वास जितेर अगाडि बढ्न सक्नुपर्छ । राजनीतिमा रहेको पुराना पुस्ताको सिन्डिकेटको अन्त्य हुनु जरुरी छ । पुरानो पुस्ताले मात्र नेतृत्व लिइरहँदा युवाहरूले अवसर पाउँदैनन्् । पार्टीमा अब हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको अभियानलाई अगाडि बढाउन आवश्यक छ । यसका लागि मेरो उम्मेदवारी रहनेछ । परम्परागत सोचको परिवर्तन गर्न सक्नुपर्छ । एउटा व्यक्ति पटक–पटक नेतृत्वमा जाने नभई अरूलाई पनि अवसर दिनुपर्छ । अरूलाई अवसर दियो भने उसले नयाँ योजनाको साथ काम गर्नेछ, जसले गर्दा पार्टी बलियो बनाउनसमेत सहयोग पुग्नेछ । सही नेतृत्व आएमा पार्टी सफल हुने र त्यसले देशको विकासमा सहयोग पुग्नेछ । तर, नेतृत्व आउन नसक्दा हरेक क्षेत्रबाट पछाडि पर्ने गरेको छ । यसका बारेमा समयमा नै ध्यान दिन सक्नुपर्नेछ । पार्टीमा रहेकालाई जिम्मेवारी दिएर र बाहिर रहेकालाई पार्टीमा ल्याएर अगाडि बढ्न आवश्यक छ । पार्टीमा सबैलाई अवसर दिएर अगाडि बढ्नुपर्छ । २०४१ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेर शिक्षक संघ हुँदै पार्टीको विभिन्न पदमा रहेर काम गर्दै आएको छु ।

पार्टीलाई एकताबद्ध र बलियो बनाउन मेरो उम्मेदवारी
शिवराज रिजाल
नेपाली कांग्रेस प्युठानका जिल्ला सभापतिका आकांक्षी

पार्र्टीलाई एकताबद्ध बनाउन मेरो उम्मेदवारी हो । अहिले नेपाली कांग्रेसमा नेता–कार्यकर्ताहरू एकताबद्ध हुन नसक्दा पार्टी कमजोर भएको छ । पार्टीमा सबैलाई एकताबद्ध बनाउन सकिएमा पार्टी बलियो बनाउन सहयोग पुग्नेछ । अहिले पार्टीमा कोही कता फर्किने कोही कता फर्किने गरेका छन् । पार्टीमा रहेको प्राविधिक समस्यालाई समाधान गर्न लाग्नेछु । सबैलाई एकै स्थानमा ल्याएर संगठनलाई विस्तार गर्न आवश्यक छ । अहिले पनि म पार्टीलाई बलियो बनाउन निरन्तर लागिपरेको छु । नेतृत्वमा भएमा यसलाई अगाडि बढाउन थप सहयोग पुग्नेछ । म प्युठान जिल्लाको सभापति भएमा सबैलाई एकताबद्ध बनाउन भूमिका खेल्नेछु । युवाहरूलाई सही मार्गमा ल्याएर अगाडि बढाउन आवश्यक छ । अहिले युवाहरूलाई सही मार्गमा ल्याएर काम दिन सकिएको छैन । भोली पार्टी चलाउने युवाहरू नै हुन्, त्यसैले उनीहरूलाई सही मार्गमा अगाडि बढाउनुपर्छ । पार्टी कमजोर हुँदा अहिले हार बेहोर्नुपरेको छ । यसका लागि आफ्नो स्वार्थभन्दा पनि माथि उठेर पार्टी बनाउन लाग्नुपर्नेछ ।
म लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा काम गरेको व्यक्ति हु । म विगत ३२ सालदेखि राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएको छु । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेको थिएँ । नेविसंघ, तरुण दल, पार्टीमा विभिन्न पदमा रहेर समेत काम गरिसकेको छु । सभापतिमा थोरै मतले म विजयी हुन सकेन । म विजयी हुन नसक्दा धेरैले नराम्रो मान्नुभएको थियो । उहाँहरूलाई मैले सभापति भएर काम गर्ने वाचासमेत गरेको थिएँ । त्यो वाचा पनि पूरा गर्नुपर्नेछ । अब गरेको वाचा पूरा हुने अवसर प्राप्त हुनेछ । राजनीतिक क्षेत्रबाट सामाजिक क्षेत्रको काम गर्न मेरो उद्देश्यले हो । यसका लागि नेतृत्व लिन खोजेको हुँ । नेतृत्व गर्ने अवसरसमेत नेता कार्यकर्ताले प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । म सधैं नागरिकको सुखदुःखमा साथै रहेको छु ।

प्रतिक्रिया दिनुहोस्