नेपालमा व्यापार घाटाको नालीबेली «

नेपालमा व्यापार घाटाको नालीबेली

विश्वभर नै कोभिड–१९ को संक्रमणको प्रभावले विश्वको अर्थतन्त्रमा सन् २०२० मा ३.३ प्रतिशतले संकुचन आएको छ । यसबाट विश्वको व्यापारिक गतिविधिमा समेत असर परेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा प्रकाशित वल्र्ड इकोनोमिक वाउटलुक २०२० अनुसार विश्वको व्यापार सन् २०१८ मा ३.७ प्रतिशतले वृद्धि भएको विश्व व्यापार सन् २०१९ मा १.० प्रतिशतले मात्र वृद्धि भएको छ । यो सन् २०२० मा आउँदा ८ प्रतिशतले गिरावट आएको छ । त्यसै गरी कोभिडका कारण विश्वमा १ मिलियन मानिसको मृत्यु भएको अनुमान छ भने ४.३ प्रतिशतले कुल गार्हस्थ्य उत्पादनमा कमी आएको छ, जसका कारणले गर्दा १ सय ३० मिलियन मानिस गरिबीको चापमा परेको छ । कोभिडका कारण वस्तु व्यापारभन्दा सेवा व्यापारमा बढी प्रभाव परेको छ । त्यसैगरी वैदेशिक लगानीमा ४९ प्रतिशतले सन् २०१९ को तुलनामा गिरावट भएको भन्ने अध्ययनले देखाएको छ । रोजगारीमा ठूलो संख्यामा कटौती भएको छ ।
नेपालको वैदेशिक व्यापारको खेती सुरु भएको लामो समय भइसकेको छ, तर यसका लागि सहज वातावरण छैन । नेपाल एकातिर भूपरिवेष्टितताको पीडामा छँदै छ भने वर्तमानमा कोभिडको प्रभावका कारण अर्थतन्त्रमा समेत संकुचन ल्याइदिएको छ । नेपालको अर्थतन्त्रको आकार सानो थियो नै, अझै यसको प्रभावले बढी संकुचित गराइदिएको छ । सन् २०२० मा नेपालको कुल गार्हस्थ्य उत्पादनको आकार ३४.४७ अरब अमेरिकी डलर हुन पुगेको छ । नेपालमा आर्थिक गतिविधिमा आएको संकुचनले गर्दा आर्थिक वृद्धिमा समेत असर परेको अवस्था छ । आव २०७७-०७८ को आर्थिक वृद्धिलाई हेर्दा २.१२ प्रतिशतले ऋणात्मक हुन पुगेको छ । त्यसमा पनि कृषि क्षेत्रको योगदान २५.८ र गैर कृषिक्षेत्रको योगदान ७४.२ प्रतिशत रहेको छ । उत्पादनमूलक उद्योगको योगदान ३.८५ प्रतिशत मात्र रहेको अवस्था छ । तर, लगानीको अवस्था केही मात्रामा बढेको अनुमान छ ।
यहाँ विश्व बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादनमा व्यापारको हिस्सा करिब ५४.९ प्रतिशत रहेको छ । यो अंकलाई हेर्दा नेपालको अर्थतन्त्रमा व्यापारिक क्षेत्रको योगदान अन्य क्षेत्रको तुलनामा अग्रभागमा रहेको देखिन्छ । व्यापारको प्रवृत्तिलाई केलाउँदा विभिन्न कालखण्डमा फरक–फरक भएको पाउँछौ । वि.सं. २०३० को दशकमा नेपालको वस्तु निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५.४ प्रतिशत रहेको थियो । नेपालले आर्थिक उदारीकरणको नीति अवलम्वन गरेपश्चात् नेपालको निर्यात व्यापार क्रमिक रूपमा बढोत्तरी हुँदै गएको देखिन्छ । आर्थिक वर्ष २०५६-०५७ मा कुल गार्हस्थ्य उत्पादनको १३.१ प्रतिशत निर्यात व्यापार भएको थियो भने ५० को दशकमा औसतमा ९.९ प्रतिशत मात्र भएको पाउँछौं । तर वि.स. २०६० को दशकदेखि यो क्रम पुनश्चः घट्न थाल्यो र आर्थिक वर्ष २०७५-०७६ मा आइपुग्दा २.८ प्रतिशत सीमित हुन पुग्यो ।
नेपालमा वैदेशिक व्यापारको सन्तुलनको अवस्था विगत केही वर्षदेखि निरन्तर बिग्रँदै आएको छ । आव २०७६-७७ को व्यापारको प्रवृत्तिलाई हेर्दा कुल व्यापार १२ सय ९४ अर्ब भएको छ । त्यसमा आयात ११ सय ९६ अर्ब र निर्यात ९७ अर्ब भई व्यापारघाटा १ हजार ९९ अर्ब हुन पुगेको छ । व्यापारको मेरुदण्डका रूपमा रहेको औद्योगिक क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान घट्दो रहेको छ । आव २०५६-०५७ मा यो क्षेत्रको योगदान १६ प्रतिशत थियो भने आव २०७६-०७७ मा आइपुग्दा यो घटेर १३.५ प्रतिशतमा सीमित हुन पुगेको छ । त्यसमा पनि उत्पादन क्षेत्रको योगदान १५ बाट ५ प्रतिशतमा झरेको छ । सोही अवधिमा निर्यात परिणाम कुल गार्हस्थ्य उत्पादनको १३ प्रतिशत रहेकोमा यो घटेर ३ प्रतिशतमा आइपुगेको छ । त्यसैगरी निर्यात तथा आयातको अनुपात आव २०५६-०५७ मा २ः२.३५ रहेकामा आव २०७६-०७७ मा आइपुग्दा बढेर १४.४ पुगेको छ । कुल व्यापारमा निर्यातको अंश ७.५५ प्रतिशत छ भने आयातको अंश ९२.४५ प्रतिशत रहेको छ ।
भन्सार विभागले प्रकाशन गरेको तथ्यांकअनुसार नेपालले आर्थिक वर्ष २०७७-०७८ मा कुल १६ खर्ब ८० अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको देखिन्छ, जसमा कुल आयातको हिस्सा १५ खर्ब ३९ अर्बको हाराहारीमा रहँदा निर्यात १ खर्ब ४१ अर्ब हुन पुगेको थियो । आव २०७७-०७८ मा नेपालले कुल व्यापारघाटा १३ खर्ब ९८ अर्बको हाराहारी हुन पुगेको छ ।
निर्यात व्यापारतर्फ आर्थिक वर्ष २०७६-०७७ मा १२ अर्ब ६९ करोड रुपैयाँबराबरको मात्रै भटमासको तेल निर्यात गरेकोमा आव २०७७-०७८ मा यसलाई झन्डै पाँच गुणाले बढेको छ । आव २०७७-०७८ मा नेपालबाट ५३ अर्ब ६५ करोड रुपैयाँभन्दा धेरै भटमासको प्रशोधित तेल निर्यात गरेको छ । दोस्रो ठूलो निर्यात हुने वस्तुको सूचीमा सिन्थेटिक यार्न धागो पर्छ भने तेस्रोमा ऊनी गलैंचा छ । आव ०७६-७७ मा ७ अर्ब १९ करोडभन्दा धेरैको धागो निर्यात भएकोमा २०७७-०७८ मा उक्त निर्यात बढेर ८ अर्ब ३६ करोड हाराहारी पुगेको छ । यस्तै २०७६-०७७ मा ६ अर्ब १५ करोडको निर्यात रहेको उनी गलैंचा २०७७-०७८ मा ७ अर्ब २४ करोडभन्दा धेरै छ । यस्तै अलैंची, रेडिमेड कपडा, जुट र यसबाट बनेका वस्तु, फलफूलको जुस क्रमशः निर्यात बढी मात्रामा हुने वस्तुहरूको सूचीमा रहेको छ । यस्तै जमोठ कपडा, चिया र विभिन्न प्रकारका अन्य कपडाहरू नेपालबाट प्रमुख निर्यात हुने १० वस्तुको सूचीमा पर्छ ।
त्यसैगरी प्रमुख रूपमा आयात हुने वस्तुहरूमा डिजेल, एमएस ब्लेड, भटमासको कच्चा तेल, मोबाइल टेलिफोन, एलपी ग्यास, पेट्रोल, रेडिमेट गार्मेन्ट, पोलिथिन दाना, चामल तथा सुनजस्ता वस्तुहरू आयात हुने गरेको छ । नेपालले आयात व्यापारबाट नै ठूलो परिमाणमा राजस्व संकलन गर्दै आएको छ ।
नेपालको वैदेशिक व्यापारघाटामा रहेका कारण निर्यात व्यापार बढाउनुको विकल्प छैन । निर्यात व्यापारलाई बढाउनका लागि नेपाल सरकारले अनुदानको व्यवस्था गरेको छ । यो व्यवस्था आव २०६७-०६८ बाट नै सुरु गरिएको हो । उक्त व्यवस्थाअनुसार उद्योगलाई निर्यातबाट प्राप्त विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाणका आधारमा नगद अनुदान प्रदान गर्ने प्रावधान गरेको छ । यो व्यवस्था कार्यान्वयनका लागि निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि, २०७५ कार्यान्वयनमा छ । निर्यातमा मूल्य अभिवृद्धिका आधारमा नगद अनुदान उपलब्ध गराउँदै आएको छ । तोकिएको वस्तुको मूल्य अभिवृद्धि ५० प्रतिशत वा सोभन्दा बढी भएमा कुल मूल्य अभिवृद्धिको ५ प्रतिशत र ५० प्रतिशतभन्दा कम भएमा ३ प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ । त्यसैगरी वस्तुको मूल्य अभिवृद्धि ३० प्रतिशत वा सोभन्दा बढी भएमा कुल मूल्य अभिवृद्धिको ३ प्रतिशत नगद अनुदान दिने व्यवस्था छ । यो व्यवस्था कार्यान्वयन गरिएको भए तापनि निर्यात व्यापार उल्लेख्य रूपमा बढ्न सकेको छैन । यसबाट नेपालको वैदेशिक व्यापारको खेती घाटामा घरबेटी बन्न पुगेको छ ।
घाटा व्यापारलाई कम गर्नका लागि विनिमय दरले पनि भूमिका खेलेको हुन्छ भन्ने कुरा अर्जुनबहादुर पाठकले गरेको ट्रेड इलास्टिसिटी एन्ड मार्सल : लर्नर कन्डिसन फर नेपाल नामक अध्ययनमा देखाइएको छ । उक्त अध्ययनमा विनिमय दर १ प्रतिशत घट्दा ०.९८ प्रतिशत निर्यात बढ्ने र २.१२ प्रतिशत आयात बढ्ने गरेको पाइएको छ । त्यसैगरी जीएनआईमा १ प्रतिशतले बढोत्तरी हुँदा ०.३४ प्रतिशतले आयात बढ्ने गरेको देखिन्छ । यो अध्ययनलाई आधार मानेर हेर्दा नेपालको वैदेशिक व्यापारमा विनिमय दरको महत्वपूर्ण भूमिका रहिआएको छ । यसर्थ पनि विनिमय दरलाई समयसापेक्ष रूपमा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
नेपालको निर्यात व्यापार बढाएर मात्र व्यापार सन्तुलन कायम गर्न सकिने भएको हुँदा निर्यात बढाउनेतर्फ आर्थिक गतिविधि सन्चालन गर्नुपर्छ । निर्यात व्यापार बढाई व्यापारघाटा कम गर्नका लागि व्यापार, लगानी र सेवाहरूमा द्विपक्षीय सम्झौता गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ । व्यापारका लागि गरिने वार्तामा हाम्रो पक्ष खरो रूपमा उत्रन नसकेको विगतको अनुभवलाई हेर्दा वार्तामा सहभागी हुने जनशक्तिलाई तालिमको माध्यमद्वारा सक्षम बनाउनुपर्छ । यसबाट द्विपक्षीय व्यापारमा नेपाली वस्तु निर्यातको आधार तयार गर्न सकिन्छ । साथै नेपाली वस्तुको प्याकेजिङ कमजोर भएकाले नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि विश्व बजारमा स्थान पाउन सकेको छैन । यस्तो अवस्थामा नेपाली वस्तुको प्याकेजिङमा सुधार गरी आकर्षक ढंगले प्याकेजिङ गर्नुपर्छ । नेपाली वस्तुको ब्रान्डिङ भएको छैन । यस्तो अवस्थामा नेपाली उत्पादनलाई विश्व बजारमा बढीभन्दा बढी बिक्री गर्नका लागि नेपाली बस्तुको ब्रान्डिङमा विशेष ध्यान दिनुपर्छ । नेपाली वस्तु निर्यात गर्दा पोर्टमा बढी डकुमेन्टको आवश्यकता पर्ने र जाँचपासमा समेत र म्यानुयल कार्य प्रणाली नै रहँदा कार्य ढिला हुने गरेको छ । यो अवस्थालाई सहज बनाउन पोर्टका अधिकांश प्रक्रियालाई आईटीको प्रयोग गरी जाँचपासको प्रक्रिया सरलीकरण गरिनुपर्छ । नेपालको वैदेशिक व्यापारमा निर्यातयोग्य वस्तुहरूको बास्केटमा रहेका वस्तुको सूची कमी रहेकाले थप वस्तुहरूको पहिचान गरिनुपर्छ । नेपालमा उत्पादित अर्गानिक वस्तुले विश्व बजार लिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ । साथै नेपालमा उपलव्ध प्राकृतिक स्रोतसाधनहरू जस्तो ढुंगा, माटो, पानीसँग सम्बन्धित वस्तुको उत्पादन गरी विश्वबजारमा निर्यात गरिनुपर्छ । यी पक्षहरूलाई ध्यानमा राख्दै अगाडि बढेको खण्डमा नेपालको औद्योगिक उत्पादनमा बढोत्तरी भई निर्यात व्यापार बढ्न गई व्यापारको खेती घाटामा घरबेटी भन्ने उक्तिलाई चिर्न सकिन्छ ।
(लेखक हङकङका लागि महावाणिज्यदूत हुन् ।)

प्रतिक्रिया दिनुहोस्