विवादबीच सहिद पार्क शिलान्यास «

विवादबीच सहिद पार्क शिलान्यास

वीरगञ्ज-प्रदेश सरकार गठन भएदेखि नै विवादित बन्दै आएको प्रदेश नं २ सरकारले विवादित पार्कको शिलान्यास गरेको छ ।
वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको घण्टाघरदेखि उत्तरतर्फको १० बिघा खाली जग्गामा सहिद पार्क निर्माणका लागि बुधबार शिलान्यास गरेको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संयुक्त रूपमा सहिद पार्क शिलान्यास गरेका थिए । महानगरपालिकाले निर्णय नै नगरेको स्थानमा प्रदेश २ सरकारले शिलान्यास कार्यक्रम राखेपछि महानगरपालिका असन्तुष्ट भएको छ । प्रक्रिया नपुर्याई प्रदेश सरकारले बलमिच्याइँ गरेको भन्दै महानरपालिका असन्तुष्ट भएको हो । यसमा कांग्रेस पर्साले पनि विरोध जनाएको छ । कांग्रेस पर्साका सभापति अजय द्विवेदीले मौखिक रूपमा मुख्यमन्त्रीलाई प्रक्रिया नपुगेको शिलान्यास कार्यक्रम रोक्न आग्रह गरेपछि प्रदेश मातहत रहेको सहरी विकास तथा भवन कार्यालय वीरगन्जले मंगलबारमात्रै हतार हतारमा महानगरपालिकालाई पत्र पठाएको थियो । शिलान्यास हुने भन्ने खबर पाएपछि कांग्रेस पर्साले मंगलबार पत्रकार सम्मेलन गरेर विरोध गरेको थियो ।

१० बिघामा पार्क निर्माण हुने
नेपाल यातायात संस्थानसँग तत्कालीन वीरगन्ज उपमहानगरपालिकाले १० करोडमा खरिद गरेको झण्डै १० बिघा जग्गामा बीपी उद्यानबाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाउने कांग्रेसको तर्क थियो । २०६० साल पुस २३ गते उपमहानगरपालिकाले लिएको जग्गा बेचबिखन र हक हस्तान्तरण गर्न नपाउने बीपी उद्यानबाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाउने भनी सरकारले ०६० कात्तिक २७ गते निर्णय गरेको जनाएको छ । तर, विवादका बीच बुधबार प्रदेश सरकारले शिलान्यास गरेको छ । शिलान्यास कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी भने सहभागी भएनन् । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले मधेस आन्दोलनकै बलमा संघीयता र गणतन्त्र आएको कुरा नभुल्न आग्रह गरे । उनले कांग्रेस, नेकपालगायतका दललाई जात, धर्म र समुदायभन्दा माथि उठेर आउन आग्रह गरे । खराब काम नगरेको दाबी गर्दै उनले जग्गा हडपेको नभई महानगरपालिकाको निर्णयअनुसार नै सहिद पार्क निर्माण गर्न लागेको बताए ।

लहानमा पनि सहिद पार्क निर्माण गरिने
भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले ०४६ सालपछिका सरकारले गर्न नसकेको काम प्रदेश सरकारले गरेको बताए । उनले वीरगन्जमा मात्रै नभएर प्रदेश सरकारले सप्तरीको मलेठ, लहान गरी तीन स्थानमा सहिद पार्क बनाउन लागेको जानकारी दिए । तत्कालीन नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सप्तरीका मलेठमा २३ फागुन २०७३ मा भएको झडपमा पाँच जनाको मृत्यु भएको थियो भने पहिलो मधेस आन्दोलनका प्रथम सहिद रमेशकुमार महतोले ०६३ माघ ५ गते लहानमा सहादत प्राप्त गरेका थिए ।
सहिद पार्क निर्माणका लागि तत्कालीन वीरगन्ज महानगरपालिकाको बोर्ड बैठकले २०६४ सालमै निर्णय गरिसकेको राजपाका महासचिव शिव पटेलको दाबी छ । आफू बोर्ड सदस्य भएकै समयमा निर्णय भएको उनको तर्क छ । प्रदेश सरकारले सहिद पार्क निर्माणका लागि ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ । वीरगन्ज महानगरपालिकाले यसअघि नै १२५ करोडको लागतमा अत्याधुनिक पार्क बनाउने गुरुयोजना तयार पारेको दाबी गरेको छ । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पर्साले तयार पारेको नक्साअनुसारकै सहिद पार्क बन्ने दाबी गरिएको छ । कार्यालयले आर्किटेक्टस डिजाइन एसोसियट्स ललितपुरमार्फत बीपी उद्यानको १० बिघा जग्गामा वीरगन्ज घण्टाघर पार्क गुरुयोजनाका लागि नक्सा तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्