पुनर्निर्माणका प्राविधिक आन्दोलित «

पुनर्निर्माणका प्राविधिक आन्दोलित

ओखलढुंगा- निजी आवास पुनर्निर्माणमा खटिएका ओखलढुंगाका प्राविधिक आन्दोलनमा उत्रिएका छन् । भौगोलिक र प्रोत्साहन भत्ता दिनुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
यसैक्रममा उनीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । पुनर्निर्माणमा खटिएका प्राविधिकको छाता संगठन राष्ट्रिय पुनर्निर्माण प्राविधिक हकहित संरक्षण तदर्थ समितिले प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेसमक्ष ज्ञापनपत्र बुझाएको हो । प्राविधिहरूले ७ महिना अगाडिसम्म पाइरहेको भौगोलिक र प्रोत्साहन भत्ता पुनः पाउने व्यवस्था नगरे काम ठप्प पार्ने चेतावनी दिएका छन् । दुर्गममा खटिएका प्राविधिकहरूलाई सुविधा दिन सरकार र प्राधिकरण उदासीन रहेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको हकहित संरक्षण समितिका अध्यक्ष राजेन्द्र धमलाले बताए ।
प्राविधिकहरूले भौगोलिक र प्रोत्साहन भत्ता व्यवस्था गरी मासिक रूपमा उपलब्ध गराउन माग राखेका छन् । यस्तै दुर्घटना र स्वास्थ्य बिमा, गाँस, बास र कपास र सुरक्षाको प्रत्याभूति, प्राविधिकको स्थायित्व र निरन्तरताको व्यवस्थापन तत्कालन व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । माग पूरा नभए फागुन ५ गतेबाट संघर्षको अभियान थाल्ने उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्