चिसोबाट मृत्यु भएका परिवारलाई एक लाख राहत «

चिसोबाट मृत्यु भएका परिवारलाई एक लाख राहत

सरकारले चिसो तथा शीतलहरबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही १ लाख रुपैयाँका दरले राहत दिने भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत गृह मन्त्रालयले दाहसंस्कार, काजकिरिया तथा आश्रित परिवारको अस्थायी जिविकोपार्जनका लागि प्रति मृतक परिवार १ लाख रुपैयाँ दिन लागेको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार मृतकको अभिलेख आइसकेपछि राहत सरकारका तर्फबाट सम्वन्धित परिवारलाई राहत उपलव्ध गराइने छ । गृह मन्त्रालयले स्थानीय प्रशासन मार्फत मृतकको नामावली संकलन जारी राखेको प्रवक्ता दुवाडीले जानकारी दिए ।
तराई-मधेस तथा हिमाली जिल्लामा चिसो तथा शीतलहरबाट मृत्यु हुनेको संख्या करिब ६० पुगिसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार तराई-मधेसका २२ जिल्ला सहित देशका विभिन्न भागको शीतलहर तथा चीसोमा परी ५५ जना भन्दा बढीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश विपन्न परिवारका सदस्य रहेको प्रभावित जिल्ला स्थित विभिन्न स्थनीय तहका अधिकारीहरूले जानकारी दिएका छन् ।
सप्तरी, सिरहा, रौतहट, पर्सा, वारा लगायत जिल्ला शीतलहरबाट सबैभन्दा बढी प्रभावित बनेको प्रहरीले जनाएको छ । “शीतलहर तथा चीसोबाट ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई १ लाखका दरले राहत उपलव्ध गराउने तयारी भइरहेको छ,” प्रवक्ता दुवाडीले भने, “यसका लागि स्थानीय प्रशासन मार्फत मृतकको अभिलेख संकलन तथा प्रमाणीकरणको काम भइरहेको छ ।” शीतलहर तथा चीसोबाट मृत्यु भएका व्यक्तिका नाममा आर्थिक सहायता आउने भएपछि कतिपय ठाउँमा अरु नै कारणले निधन भएका व्यक्तिलाई पनि शीतलहरको कारण देखाउँन दबाब आएको प्रहरी स्रोतले जानकारी दियो । गत साता सरकारले गएको वर्षायामको बाढीपहिरो÷डुवान तथा केही सातायताको शीतलहरबाट पीडित परिवारका लागि प्रतिपरिवार लत्ताकपडा किन्न १० हजार र आवास मर्मतका लागि १५ हजार रुपैयाँका दरले राहत उपलव्ध गराउन १ अर्ब ४ करोड ६ लाख ५० हजार रुपैयाँ गृह मन्त्रालयका नाममा भुक्तानी दिइसकेको छ ।
त्यसबाहेक करिब साढे २ करोड रुपैयाँ लत्ताकपडा र दाउरा किन्न प्रभावित जिल्लाका स्थानीय प्रशासन कार्यालयहरूलाई भुक्तानी दिइसकेको छ । शीतलहर तथा चीसो नियन्त्रणका लागि सरकारी÷गैरसरकारी तथा निजी पहलमा काम भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्