बादी समुदायको चेतनासँगै आर्थिक अवस्था परिवर्तन «

बादी समुदायको चेतनासँगै आर्थिक अवस्था परिवर्तन

रुकुम-रुकुम पश्चिमको विभिन्न खोला किनार तथा ओढारमा बस्दै आएका बादी परिवारको चेतना तथा आर्थिक अवस्थामा परिवर्तन आएको छ । पहिले खोला किनार र ओढारमा जताततै देखिने बादी समुदाय पछिल्लो समय सानोतिनो भए पनि घरब्यवहार र व्यवसायमा लागेर जीविकोपार्जन गर्न थालेका छन् । यसअघि रुकुमको सानीभेरी नदी किनार र ओढार, चौरजहारी, छिबाङ र आठबिसकोटका विभिन्न ठाउँमा बादी समुदाय ओढारमा यसरी बस्दै आएका थिए ।
आफ्नो एक टुक्रा जग्गा र घर नहुँदा हिउँदको चिसो सिरेटोदेखि वर्षात्को भेलसँगै जुझ्दै उनीहरू जीविकोपार्जन गर्दै आएका थिए । उनीहरूका लागि बासको मात्र समस्या थिएन साँझ बिहानको छाक टार्न पनि धौैधौ थियो । कहिले भोकभोकै त कहिले माछा मारेर स्थानीय बजारमा बेचेर दैनिकी गुजार्दै आएका थिए । जसका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित थिए । बादी समस्याका बारेमा रुकुमका स्थानीय तथा सञ्चारमाध्यममा बारम्बार रिपोटिङ भए पनि यी दुःखदायी दिन काटिरहेका समुदायको लागि राहत भएको छ । बादि समुदायको समस्या उजागर भएर पनि सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम सञ्चालन गरेर उनीहरूको दैनिकीलाई सहज बनाउन पहल गरेका हुन् ।
रुकुमको आठबिसकोट नगरपालिका–९ राडी, चौरहाजरी र छिबाङलगायतका ठाउँमा बादी समुदायका लागि घर निर्माण र कृषिसहितका सानातिना व्यवसायमा आबद्ध बनाएपछि उनीहरूको मुहारमा खुसी छाएको छ भने पहिलेको भन्दा धेरै माथि उठेको उनीहरूले महसुस गरेका छन् । रुकुम आठबिसकोटकी तारा बादीले ओढारमा बस्दै आइरहेका आफूहरूका लागि भवन निर्माण गरेर बस्न दिँदा निकै खुसी भएको बताइन् । “घरमा बस्न पाउँदा हामीलाई माथिल्लोस्तरमा पुगेको जस्तो महसुस भएको छ,” तारा बादीले भनिन्, “आवश्यकता त बढ्दै जाने रैछन, बस्नेको लागि चिन्ता त भएन अब घरगृहस्थी गरेर खानलाई आवश्यक जग्गा जमिन दिएपछि निकै खुसी हुने थियौं ।” बादी समुदायले हाल भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् भने सानोतिनो ब्यवसाय गरेर पनि जीवन गुजार्दै आएका छन् । रुकुम चौरजहारी नपारपालिका, मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिकाको पीपल, आठबिसकोट नगरपालिकाको आठबिसकोट र गोतामकोटसहितका विभिन्न ठाउँमा घरबारविहीन बादी समुदायको भवन निर्माणको काम केही वर्षअघि नै थालिएको थियो ।
जनता आवास कार्यक्रमअन्तर्गत भवन डिभिजन कार्यालय रोल्पा, साइट कार्यालय रुकुमले जिल्लामा १ सय बढी आवास भवन निर्माणका लागि छनोट गरेको थियो । जसअनुसार आठबिसकोट नगरपालिकामा १५ वटा सहित अन्य ठाउँमा पनि निर्माण सम्पन्न गरेर हस्तान्तरणसमेत भइरहेको छ । तर निर्माण काम थालिएको लामो समयसम्म पनि प्रभावकारी र तीव्रताका साथ काम हुन सकेको छैन । भवनसँगै अन्य आवश्यक पूर्वाधार निर्माण गरिएका छैनन् । रुकुम पश्चिमको आठबिसकोटमा भवन निर्माण भएर हस्तान्तरण भए पनि शौचालयसहितका अन्य पूर्वाधार अझै पनि निर्माण भएका छैनन् । ओढारमा बस्दै आएका बादी समुदाय घरमा बस्न पाउँदा दंग छन् । त्यस्तै गैरसरकारी निकायबाट चेतना बढाउन र ब्यवसाय लाग्न प्रेरणा दिन सानोतिनो तरकारीसहितका कृषि खेतीका लागि सहयोग गरिरहेका छन् । जिल्लाका विभिन्न संस्थाले विभिन्न रूपमा तरकारी खेती, ब्यावसायिक मादल बनाउने तालिम र बादी बालबालिकाको शिक्षा स्वास्थ्यमा पनि सहयोग गर्दै आएका छन् । नेपाल जनजागरण मञ्च रुकुमले ब्यावसायिक मादल बनाउनका लागि बादी बस्तीमा सहयोग गरेको संस्थाका ब्यवस्थापक टेकबहादुर कुसारीले बताए । उनका अनुसार यूएमएन रुकुमको सहयोगमा करेसाबारी र मादल बनाउनका लागि तालिम तथा प्रविधि प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्