एमसीसी उपाध्यक्षको टोली भेटघाटमा «

एमसीसी उपाध्यक्षको टोली भेटघाटमा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले बिहीबार भेट गरेकी छन् ।
अध्यक्ष ओली निवास बालकोटमा भएको सो भेटमा अमेरिकी अनुदान सम्झौता एमसीसीका बारेमा छलफल भएको थियो । सो भेटमा उपाध्यक्ष सुमारले एमसीसी अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्छ भन्नेमा अमेरिकी सरकार रहेकाले यसका लागि सघाउन आग्रह गरेकी थिइन् ।
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी अहिले प्रतिपक्षमा रहेकाले एमसीसीबारे सरकारको स्पष्ट धारणा नआएसम्म पार्टीले धारणा नबनाउने बताएको भेटमा सहभागी एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
“अहिलेको सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने बारेमा सरकार पहिला स्पष्ट हुनुपर्छ, अनि एमालेले आफ्नो धारणा बनाउँछ, अहिले एमालेले एमसीसीबारे कुनै धारणा बनाएको छैन,” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले जानकारी दिए ।
एमालेको नेतृत्वमा सरकार हुँदा एमसीसी अनुमोदन गर्न प्रयास गरे पनि तत्कालीन सभामुखले संसद्मा पेस नगरीदिँदा अघि बढ्न नसकेको स्मरण गराउँदै अहिले एमाले प्रतिपक्षमा रहेकाले यसमा एमालेको प्रत्यक्ष भूमिका नहुने ओलीले जानकारी गराएको भट्टराईले बताए ।
बालकोट भेटमा उपाध्यक्ष सुमारसँगै एमसीसीका प्रतिनिधि सहभागी थिए । त्यसैगरी एमालेका तर्फबाट विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल, सूर्य थापालगायत सहभागी थिए ।
बिहीबार नै उपाध्यक्ष सुमारको टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि सिंहदरबारमा भेट गरेको थियो ।
उपाध्यक्ष सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम छ ।

विरोध गर्ने पक्राउ
नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा जेड सुमार र सहअध्यक्ष जोनाथन ब्रुससहितको टोलीको सुरक्षा व्यवस्थामा अवरोध गर्ने ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंका विभिन्न क्षेत्रबाट बिहीबार साँझसम्म ५४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोध गर्दै आएका विभिन्न समूहले बिहीबार एमसीसी उपाध्यक्षलाई कालो झण्डा देखाउने तथा भौतिक आक्रमणको प्रयास गरेका थिए ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । उनीहरुलाई फातिमाको कार्यक्रम सकिएपछि मात्र छोडिने बताइएको छ ।
फातिमाको टोली चार दिने भ्रमणका लागि बिहीबार बिहान काठमाडौं ओर्लिएको हो ।

प्रतिक्रिया दिनुहोस्