निर्णय फिर्ता नभए अदालत जान्छौं «

निर्णय फिर्ता नभए अदालत जान्छौं

रुकुम-मदिरा व्यवसायी संघ, रुकुमले जिल्ला समन्वय समिति रुकुमले जिल्लालाई मदिरा निषेधित क्षेत्र बनाउन गरेको निर्णय कानुनविपरीत रहेको बताएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मदिरा व्यवसायी संघका अध्यक्ष नवीन खड्काले समन्वयको निर्णय मदिरा ऐन, २०३१ र मदिरा नियम, २०३३ विपरीत भएकाले गरेको निर्णय फिर्ता दिएर रुकुमका व्यवसायीहरुको लगानी सुरक्षा गर्न माग गरे । आफूहरूले सरकारबाटै अनुमति लिएर व्यवसाय गरिरहेको र अनुमति लिएका व्यवसायी संघीय सरकारले कानुन बनाएर बाहेक स्थानीय सरकारले रोक्न नसक्ने पनि उनको जिकिर थियो । निर्णय फिर्ता नदिने अदालतमा सोत जाने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा बोल्दै रुकुम उद्योग वाणिज्य संघ रुकुम पश्चिमका अध्यक्ष टेकबहादुर पुनले अनुमति लिएको व्यवसाय रोक्दा रुकुमको समग्र व्यवसायीहरू निराश भएको बताए ।
कानुनअनुसार नै सञ्चालनमा रहेका व्यवसायलाई रोक्दा जिल्लाबाट सरकारलाई विभिन्न करमार्फत जाने करोडौं रुपैयाँ राजस्वसमेत गुम्ने उनले दाबी गरे । व्यवसायी मोहबिर खड्काले जिल्लामा सर्वप्रथम अवैध मदिरा रोक्नुपर्ने बताए । “हाल जिल्लामा अवैध घरेलु मदिरा नै बिक्री–वितरण भैरहेको छ, त्यसमा सरकारको ध्यान छैन तर अनुमति लिएका व्यापारीमाथि जाइलागिरहेको छ,” उनले भने ।
जिल्ला समन्वय समिति रुकुम पश्चिमले माघ ६ गतेदेखि नै जिल्लामा मदिरा आयातमा रोक लगाएको छ भने फागुन १६ बाट बिक्री–वितरण नै रोक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्