Logo

संस्कार र संस्कृतिको पर्व तीज

नारीहरूको महान् पर्व हरितालिका तीजको विशेषता महŒव छ । यो चाडलाई विशेषगरी महिलाहरूका लागि महान् चाडको रूपमा पनि लिइन्छ । विवाह गरेर टाढा–टाढा पुगेका दिदीबहिनीहरू माइतीघरमा जम्मा भएर आमाले पकाएको दर खाएर गाउँघरका दिदीबहिनी भेटघाट गरी गीतको माध्यमबाट दुःखसुख तथा वेदनाका कुरा प्रस्तुत गर्ने गरिन्छ । विशेषतः महिलाहरूका लागि आफ्नो पीर, व्यथा पोख्न पाउने वा बोल्न पाउने एउटा छुट्टै अधिकार, अवसरका रूपमा पनि लिनसक्ने भएकाले महिलाहरूका लागि खुसीको दिन पनि मानिन्छ ।
पौराणिक हिन्दू ग्रन्थअनुसार भाद्र शुक्ल तृतीयाका दिन महादेव स्वामी पाऊँ भनी पार्वतीले पूजा–आराधना गरी व्रत बसेको दिनलाई सम्झेर आजसम्म पनि विवाहित नारीले श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामना गरी तथा अविवाहित नारीले सुयोग्य वर पाऊँ भनी व्रत बस्ने प्रचलन छ । पछिल्लो समय महिलाहरूमा आएको परिवर्तनले विगतका दिनमा जस्तो कठिन परिस्थितिको सामना गर्नुपरेको छैन ।
पछिल्लो समय नेपाली परम्परा र मौलिकता कमजोर हुँदै गएको छ । संविधानले महिलाको हकअधिकार ग्यारेण्टी गरेका कारण विगतमा झैं थिचोमिचो सहेर बस्नु पर्ने अवस्था पनि छैन । शिक्षित महिलाको संख्यामा वृद्धि भएसँगै सासूले बुहारीप्रति गर्ने व्यवहार पनि फरक हुँदै गएको छ । समयअनुसार परिवर्तन हुनु स्वाभाविक भए पनि महिलाहरूले मनाउने हरितालिका तीज पर्व पछिल्लो समय अलि बढी भड्किलो पनि बन्दै गएको हो कि भन्ने आभास भएको छ । तीज पर्वका बारेमा विभिन्न क्षेत्रमा कार्यरत महिलासँग कारोबारकर्मी गमला लामा, मनिषा चम्लागाईं र मेघा रेउलेले गरेको कुराकानीको सार ः

जिम्मेवारी पूरा गर्दै पर्व मनाउनुपर्छ
गोमा भट्टराई
संयोजक, महिला उद्यमी संघ, प्रदेश– १
तीज पर्वसँग हाम्रो धार्मिक आस्था जोडिएको छ । यस प्रकारका संस्कार र आस्थालाई बचाउन सके हाम्रो संस्कृति मात्र बच्दैन, आर्थिक क्षेत्रलाई चलायमान बनाउनसमेत सहयोग पुग्छ । परापूर्व कालमा महिला दिदीबहिनीहरू तीज पर्वलाई मेलमिलाप र दुःख साट्ने अवसरका रूपमा लिनुहुन्थ्यो ।
पछिल्लो समय महिलाहरू आर्थिक रूपमा सबल हुने क्रम बढ्दो छ । त्यसैले धार्मिक आस्थासँगसँगै सेलिब्रेसन गर्ने शैली पनि परिवर्तन भएको छ । आर्थिक सबलताकै कारण खासगरी तीजमा चुरा, सारीलगायतका गिफ्ट किनेर दिइन्छ । यो पक्ष मलाई सकारात्मक लाग्छ । सबैले आआफ्नो आर्थिक हैसियतअनुसार तीज मनाउनुपर्छ । म पनि तीजमा व्रत बस्ने गरेकी छु । मन्दिर जान्छु, दर खाने कार्यक्रममा सहभागी हुन्छु । घरमै दर खाने कार्यक्रम राखेर साथीभाइबीच ‘गेट टुगेदर’ गरेर पनि तीज मनाइने हुनाले मलाई यो पर्व महŒवपूर्ण लाग्छ ।
हरेक तीजमा लाखौं मूल्यबराबरका तीजका सामग्रीसमेत बिक्री हुन्छ । यसले पनि हाम्रो आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग गरेको छ । अग्रिम रूपमै तीज मनाउने प्रचलनसमेत सुरु भएको छ । यसले गर्दा आफूलाई फुर्सद हुँदा तीज मनाउन पाइने हुनाले अग्रिम दरका कार्यक्रमले पर्वको रौनक थप गरेको छ । म तीजमा माइत पनि जान्छु । माइत गएर आमाको हातले बनाएको परिकार खान पाउनु मलाई सबैभन्दा रमाइलो पक्ष लाग्छ ।
अन्त्यमा तीजलाई भड्किलो नगरी आफ्नो गच्छेअनुसार मनाउन म सबै महिला दिदीबहिनीहरूलाई आग्रह गर्छु । अनावश्यक खर्च पनि नगरौं, त्यो खर्चलाई उत्पादनमूलक ठाउँमा लगानी गर्नुपर्छ । सानो भए तापनि उद्यम गरी उद्यमी–व्यवसायी बन्नतर्फ महिलाले सोच्नुपर्छ । साथै जिम्मेवारी पूरा गर्दै पर्व मनाउनुपर्छ ।

तीजमा महिलाले बनाएका सामग्री पैसासँग साट्ने अवसर मिलेको छ
नैनकला भट्टराई
उपाध्यक्ष, उद्योग वाणिज्य संघ, बिर्तामोड
नेपाली हिन्दू महिलाहरूको चाड हरितालिका तीजको लहर देशभर सुरु भइसकेको छ । मैले थाहा पाएदेखि नै तीज मनाउँदै आएकी छु । विशेषगरी तीज आफन्त साथीहरूसँग मिलेर मनाउने गरेको छु ।
पछिल्लो समय १५ दिनअघिदेखि नै तीजको दर खाने, खुसी साटासाट गर्ने संस्कार विकास भएको छ, यसलाई म सकारात्मक रूपमा लिन्छु । यो पर्वमा चुरा र धागो बनाउनेहरूले काम पाउँछन् । यसले रोजगारीसमेत सिर्जना गरेको छ । त्यसैले तीजअगावै अग्रिम तीज मनाउनुलाई आर्थिक हिसाबले राम्रो मान्नुपर्छ भन्ने मेरो विचार हो ।
परम्परालाई धान्न र भावी पुस्तालाई हाम्रो संस्कार हस्तान्तरण गर्न पनि सबैसँग मिलेर चाडपर्व मनाउनुपर्छ । म १३ वर्षअघिदेखि तीजको व्रत बस्दै आएकी छु । विवाहित नारीले आफ्नो पतिको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै र अविवाहित नारीहरूले राम्रो पति पाऊँ भनेर पानी पनि नपिई निर्जला व्रत बसी तीज पर्व मान्ने प्रचलन छ । पछिल्लो समय विभिन्न प्रकारका रोगहरूसमेत बढ्दै गएकाले स्वास्थ्यको ख्याल गर्दै व्रत बस्नुपर्छ भन्ने मलाई लाग्छ । व्रत बस्दा पानी र फलफूल भने खानुपर्छ ।
तीजमा महिलाहरू नयाँ पहिरनहरू आफ्नो लागि किन्ने र आफन्तहरूका लागि पनि किन्ने गर्छन् । यसले आर्थिक परिचालन हुन्छ, व्यापार बढ्छ । अन्य बेलामा भन्दा पैसाको कारोबार धेरै हुन्छ । तीजमा महिलाले उत्पादन गरेका सामग्रीले पनि बजार पाउने हुनाले सामग्रीलाई पैसासँग साट्ने अवसर मिलेको छ । यो व्यापारिक दृष्टिले राम्रो हो । मेरो पुजा सामग्रीको पसल छ, अन्य समयमा भन्दा तीजमा मेरो व्यापारसमेत बढेको छ ।
म तीजकै लागि भनेर गहना भने बनाउँदिनँ । पछिल्लो समय तीजमा तडकभडक प्रदर्शनसमेत गरिएको पाइन्छ । यसलाई भने रोक्नुपर्छ । हामीले आफ्नो क्षमतालाई हेरेर पर्व मनाउने, माया, स्नेह, सद्भाव साटासाट गर्ने गर्नुपर्छ ।

तीजको मौलिकपन हराउँदै गएको छ
अम्बिका पौडेल, नुवाकोट
हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको छुट्टै विशेषता र महŒव रहेको छ । यो चाडलाई विशेषगरी महिलाहरूका लागि महान् चाडको रूपमा पनि लिइन्छ । विवाह गरेर टाढा–टाढा पुगेका दिदीबहिनीहरू माइतीघरमा जम्मा भएर आमाले पकाएको दर खाएर गाउँघरका दिदीबहिनी भेटघाट गरी गीतको माध्यमबाट दुःखसुख तथा वेदनाका कुराहरू पनि प्रस्तुत गर्ने गरिन्छ । विशेषतः महिलाहरूका लागि आफ्नो पीर, व्यथा पोख्न पाउने वा बोल्न पाउने एउटा छुट्टै अधिकार, अवसरका रूपमा पनि लिन सक्ने भएकाले महिलाहरूका लागि खुसीको दिन पनि मानिन्छ । पौराणिक हिन्दू ग्रन्थअनुसार भाद्र शुक्ल तृतीयाका दिन महादेव स्वामी पाऊँ भनि पार्वतीले पूजा–आराधना गरी व्रत बसेको दिनलाई सम्झेर आजसम्म पनि विवाहित नारीले श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामना गरी तथा अविवाहित नारीले सुयोग्य वर पाऊँ भनी व्रत बस्ने प्रचलन रहेको छ ।
तर, आज आएर तीज दर खाने दिनका लागि एउटा सामाजिक र राष्ट्रिय रूपमा नै असर पर्ने गरेर मनाउन थालेको पाइन्छ । हुन त हिजो जुन चेलीहरू घरपरिवारको अनुमतिबिना माइती लिन नआई जान पाउँदैनथे, कति महिलाहरू माइती जान पनि नपाएर रोएर बस्नुपथ्र्यो, जब तीज आउँथ्यो, अनि मात्रै वर्षको एकपटक एक दिन दर खाने र तीतामीठा मनका भावना पोख्ने गर्थे । पहिलाको तुलनामा अहिले हरेक सञ्चारमाध्यमको उपलब्धता, शिक्षाको कारणबाट पनि हरेक ठाउँमा विकास र परिवर्तनसँगै विकृति पनि भित्रिएको पाइन्छ । हिजो महिलाहरूले मात्रै सरल र सभ्य भाषामा गाउने तीज गीतहरू पनि परिवर्तन हुन थालेका छन् ।
परिवर्तित विभिन्न शैलीका गीतहरूले तीजको जुन मौलिकपन थियो, त्यो पनि हराउँदै गएको छ । आजकाल विभिन्न स्ांघसस्था, समूह, राजनीतिक दल तथा सरकारी स्तरमै तीज आउनुभन्दा पहिला नै दर खाने प्रचलन छ । तीज मनाउने पहिलाका नारी र अहिलेका नारी–पुरुषमा देखिएको भिन्नताले भावी पुस्तामा यो एउटा गहना, लत्ताकपडाको फेसन देखाउने दिन हो कि भनेर भ्रामक सन्देश नजाला भन्न सकिँदैन । त्यसैले आफ्नो परम्परा र रीतिरिवाज अँगाल्दै देखासिकी नगरी आफ्नो दक्ष र गच्छेअनुसारको चाडपर्व मनाउनुपर्छ ।

सांस्कृतिक महŒव जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानुपर्छ
पुष्पा नेपाली
न्यायपालिका सदस्य, शारदा नगरपालिका, सल्यान
तीजको व्रत बस्दा पवित्र मन–वचनका साथ अविवाहित नारीले चिताएको वर पाइने र विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्न परम्परागत रूपमा मनाउँदै आएको पर्व हो तीज । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा पनि लिइन सकिन्छ ।
हिजोआज सहर, गाउँ जुनसुकै क्षेत्रमा पनि तीज भड्किलो हुँदै गएको छ भने तीजको रमझममा पनि विकृतिहरू देखिन थालेका छन् । फलस्वरूप तीज पर्वमा केही भड्किलो र उत्ताउलोपन देख्न सकिन्छ ।
परम्परागत रूपमा र अहिले मनाइने तीजमा केही त फरक छ । सम्बन्ध सुधार गर्ने, सम्बन्धलाई प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने, साथी संगिनीहरूसँग दुःखसुखका कुरा गर्ने गर्थे पहिले । अहिले पनि यसको आस्था र महŒव उत्तिकै छ । करेलाको अचार, खीर, बाँसको तामाको अचार आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई व्रत बस्ने गर्दै परम्परागत रूपमा मनाइँदै आएको पर्व हो तीज ।
पहिलेका नेपाली महिलाहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एक दिन भए पनि मीठो–मसिनो खान माइती पक्षको दरको प्रतीक्षामा महिनौं अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो वह पोख्ने र स्वतन्त्र रूपले रमाउने पर्वका रूपमा लिने गर्थे । नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउँथे ।
तर अहिलेका महिलाहरू आर्थिक, सांस्कृतिक, राजनीतिक तथा शिक्षाको क्षेत्रमा अग्रसर छन् । पहिलेको जस्तो अहिलेका महिलाहरूलाई दर खान माइती पक्षलाई नै पर्खेर बस्नुपर्ने अवस्था छैन । मीठो–मसिनो खान, राम्रो लगाउन तीज नै पर्खेर बस्नुपर्ने अवस्था पनि छैन । अहिले त बरु टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रमहरू सञ्चालन गरिन्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगिता, दर खाने कार्यक्रम पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महŒवलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ ।
तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आफूलाई आधुनिक र आत्मनिर्भर मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजना गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना र महँगा–महँगा साडी लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पारेको छ । मादल र बाँसुरीको तालमा नाच्ने महिलाहरू अहिले डिजेको तालमा नाच्न थालेका छन् । यसले मौलिक बाजालाई हराउँदै लगेको छ ।
विवाह भएकी छोरीको घरमा दर पठाउनुपर्ने चलन बढ्न थालेको छ । दर पठाउने क्रममा माइतीबाट छोरीको घरमा सम्धिनीलाई मात्र नभएर जेठानी, देवरानी, नन्द, आमाजूसमेतलाई गरगहना, पहिरन, जुत्ता, शृंगार सामग्री आदिका साथै विभिन्न परिकारका खाने कुरा पठाउनुपर्ने चलनको थालनी भएको छ । यसले माइती पक्षलाई छोरीका निम्ति थप आर्थिक भार बेहोर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । तीज पर्वको सांस्कृतिक तथा परम्परागत संस्कृतिको महŒव जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्