सुमार्गी–सिरोहिया आरोप–प्रत्यारोप «

सुमार्गी–सिरोहिया आरोप–प्रत्यारोप

व्यवसायी अजेयराज सुमार्गीले पत्रकार सम्मेलन गरेर कान्तिपुर तथा यसका प्रकाशनहरु एवं कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले ब्लाकमेलिङ गर्दै हरेक परियोजनामा ‘गोल्डेन सेयर’ माग गर्ने गरेको आरोप लगाएको भोलिपल्टै प्रेस विज्ञप्तिमार्फत सो मिडिया ग्रुपले खण्डन गरेको छ ।
करिब ४ वर्ष अगाडि सुमार्गीले विभिन्न ५ तारे होटलदेखि सिमेन्ट उद्योग, टेलिकम कम्पनी हेलो नेपालमा लगानी गर्ने घोषणा गरेका थिए र त्यसका लागी उनले विदेशबाट लगानी भित्र्याउने भन्दै आइरहेका थिए ।
तर, सुमार्गीले कान्तिपुरमा आफूविरुद्ध लगातार सुनियोजित रूपमा नै समाचार प्रकाशित भएको आरोप लगाउँदै कैलाश र आफूबीच २०७० सालमा जग्गाको कारोबार भएको र त्यही विषयमा हाल विवाद भएकोले आफ्नो सुरक्षा गर्न माग गरेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । साथै, उनले कान्तिपुरमा प्रकाशित समाचारविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा पनि दायर गरिसकेको बताएका छन् ।
उनले जिल्ला प्रशासन कार्यालयमा बुझाएको निवेदन अनुसार नै जग्गा खरिद गरेको र पछि आफ्नो आर्थिक अवस्था सुधार भएपछि पुरानो मूल्यमा जग्गा फिर्ता मागेर आफूले नदिएपछि कान्तिपुर समुहका प्रकाशन र प्रसारण संस्थाबाट समाचार आएको आरोप लगाए ।
२०७१ सालको नेपाल साप्ताहिकमा सुमार्गीको विषयमा समाचार प्रकाशित गरेयता निरन्तर उनका विरुद्ध समाचारहरु प्रकाशित भएको उनको आरोप छ ।
माघ १ गते सुमार्गीले पत्रकार सम्मेलन गरेर सिरोहियाले आफूसँग बाार्गेनिङ गरेको आरोप लगाएको भोलिपल्ट सो आरोपको खण्डन गर्दै सिरोहियाको तर्फबाट कान्तिपुर मिडिया ग्रुपले सुमार्गीले विदेशबाट ल्याएको भनिएको रकमको छानबिन हुनुपर्ने बताएको छ ।
सो विज्ञप्तिमा काठमाडौं, तीनकुनेको जग्गा सुमार्गीले किनेको पुष्टि गरिएपनि सुमार्गीसँग सो जग्गाको कारोबार त्यसै बेला अन्त्य भइसकेको र झन्डै चार वर्षपछि अहिले आएर अतिशयोक्तिपूर्ण तानाबाना बुनेर बदनाम गर्न खोज्नुको कुनै तुक नरहेको उल्लेख गरिएको छ ।
‘भूकम्पले हाम्रो भवन भत्किएका बेला निज आफैं हाम्रो तीनकुने कार्यालय परिसरमा एकपटक आएयता करिब अढाई वर्षको अवधिमा कहीँ–कतै सम्पर्क, भेटघाटसमेत भएको छैन । यस्तो पृष्ठभूमिमा निजसँग सम्पर्कमा रहेको या धम्क्याएको जस्ता सम्पूर्ण आरोपहरू बिल्कुलै निराधार हुन्,’ सो विज्ञप्तिमा लेखिएको छ ।
उक्त विज्ञप्तिमा सुमार्गीको सम्पत्तिको छानबिन गरिनुपर्ने भन्दै नाम नतोकिकनै उनीमाथि कारबाही अगाडि नबढाउन सम्पत्ति शुद्धीकरण विभागमाथि राजनीतिक शक्तिविशेषको तीव्र दबाब रहेको देखिएको दाबी पनि गरिएको छ । ‘यस्तो अवस्थाको अब अन्त्य हुनुपर्छ, विज्ञप्तिमा लेखिएको छ ।
यसका साथै सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्ने कान्तिपुर मिडिया ग्रुपले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्