शिकागो नदी जम्यो «

शिकागो नदी जम्यो

वासिङटन-अमेरिकाको शिकागो नदी व्यापक चिसोका कारण जमेको छ । १० राज्यमा भिषण हिमपात भएको छ । तापमान शून्य देखि माइनस २० डिग्री सम्म पुगेको छ । अमेरिकी मौषम विभागले तापमान माइनस ७० डिग्रीसम्म पुग्ने चेतावनी जारी गरेको छ । गस्ती गर्ने अधिकारीले अमेरिकाको चिसोलाई ऐतिहासिक बताएको छ ।
१० राज्य इलिनोय, आयोवा, मिनेसोटा, नर्थ डकोटा, साउथ डकोटा, विसकन्सिस, कन्सास, मिसौरी लगायतमा व्यापक चिसो बढेको छ । अत्यधिक चिसोका कारण ६ राज्यमा हुलाक सेवा पनि बन्द गरिएको छ ।
मानिसलाई घरबाट बाहिर ननिस्किनका लागि भनिएको छ । राष्ट्रिय मौषम सेवाले ट्वीट गर्दै भनेको छ,“अवस्था अत्यन्त खतरनाक छ । यदी तपाई बाहिर हुनुहुन्छ वा तपाइको शरीरको कुनै हिस्सा खुला रहेको छ भने ५ मिनेटको अवधिमा शीतदंश हुने खतरा छ । तापमान माइनस ७० डिग्रीसम्म ओर्लिन सक्ने छ । भलाई यसैमा छ कि बाहिर बस्ने समय निर्धारित गर्नुहोस् ।”
एक प्रहरी अधिकारीले ट्वीट गर्दै भनेका छन्,“खुला क्षेत्रमा पनि भिजिविलिटी अत्यन्त घटेको छ । सवारी साधनको हेडलाइट र टेललाईट बालि राख्नुहोस् । सुरक्षाका लागि यो अत्यन्त राम्रो हुनेछ ।”
वेबसाइट फ्लाइटअवेयर डटकमका अनुसार खराब मौषमका कारण अमेरिकामा २ हजार ७०० उडान रद्ध भएको छ । यो मध्ये १ हजार ५०० विमान शिकागोबाट उडान भर्ने वा अवतरण गर्नुपर्ने थियो ।
अमेरिकामा २१ करोड अर्थात् ७२ प्रतिशत मानिसले आगामी दिनमा शून्य भन्दा पनि तलको तापमान महशुस गर्नुपर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्