राजपाभित्रको गतिरोध घट्यो «

राजपाभित्रको गतिरोध घट्यो

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेताहरूबीच देखिएको गतिरोधमा कमी आएको देखिएको छ । गत मंसिर ४ गते बसेको बैठकले संयोजकको जिम्मेवारी राजेन्द्र महतोलाई सुम्पिएसँगै बढेको आन्तरिक विवाद समाधानतर्फ उन्मुख देखिएको हो ।
पार्टीका नेताहरूले महाधिवेशनको केही महिनामात्र बाँकी रहेका बेला चक्रीय प्रणालीमा लाने निर्णय अनुचित भएको आरोप लगाएका छन् । यसमा ठाकुर निकटका नेताहरू बढी अगाडि छन् । महतोेले संयोजकको जिम्मेवारी महेन्द्र राय यादवमा सारेको दुई हप्ता नबित्दै पहिलो पटक ६ जना नेताहरूले पार्टीका केही एजेन्डाहरूमा छलफल गर्न बैठक बसेको पार्टीका एक नेताले जनाए ।
राजनीतिक पार्टीभित्र असन्तोष र विवाद हुनु आफैंमा नौलो नभएको तर पार्टीलाई विभाजनमा होइन, ठोस एकतामा रूपान्तरण गर्ने दाबी संयोजक रायले गरेका छन् । संघीय समाजवादी फोरमलाई समेत नेपालको वैकल्पिक धारको सशक्त पार्टी निर्माण गर्न एकता प्रक्रियामा सामेल गराउन प्रयत्न गरिरहने जनाउँदै उनले भने, “पार्टी फुटदैन । बलियो र सशक्त हुनेछ । पार्टीका निर्णयहरूमा नेताहरूबीच असहमति हुन सक्छन् । तर फुटदैन ।”
६ सदस्यहरूको उपस्थितिमा सोमबार बसेको बैठकबाट कुनै निर्णय ननिस्के पनि पार्टीका लागि यो एक सुखद् पहल देखिएको पार्टीका उपाध्यक्ष सत्यनारायण मण्डलले बताए । ६ सदस्यहरूको उपस्थितिमा भएको सो बैठक जारी छलफलको क्रममा ठाकुर बाहिरिएकाले निर्णयलाई ठोस गर्न नसकिएको जनाउँदै उपाध्यक्ष मण्डलले भने, “ठाकुरजी बाहिरनु भएकाले निर्णय भएन । तर बैठक बस्नु सुखद् संयोग हो ।”
मंगलबार अर्का सदस्य अनिल झा नयाँदिल्ली गएको र संयोजक राय धनुषा गएकाले अध्यक्ष मण्डलको बैठकको निरन्तरता हुन नसकेको बताउँदै उपाध्यक्ष मण्डलले सबै सदस्य काठमाडौंमा उपस्थित हुने बित्तिकै बैठक बस्न सक्ने विश्वास व्यक्त गरे ।
सो बैठकमा महाधिवेशनको एजेन्डा, ट्रेड युनियनमा मधेशीहरूका लागि १० प्रतिशतको बाधा र सरकारलाई दिइएको समर्थन फिर्ताको विषयमा छलफल गरिएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्