बाढीबाट असुरक्षित सहरी क्षेत्र «

बाढीबाट असुरक्षित सहरी क्षेत्र


आइतबार रातिदेखिको वर्षाले मनोहरा नदी किनार पार गरेर बाढी बस्तीमा छि¥यो । छानो नै छेडुँलाझैं गरेर दर्किएको पानीले मन त्रसित बनाइरहेको थियो, मनोहरा नदी किनारको सुकुम्बासी टोलका सुकदेव तामाङलाई ।
सोमबार बिहान ४ बज्नै लाग्दा उनी सुतिरहेको खाट माथिसम्म पानी आइसकेको रहेछ । झस्किए उनी । पानी दर्किरहेकै थियो । बाहिर निस्कन मुस्किल थियो । ज्यान जोगाउन उनी जसोतसो अग्लो स्थान खोज्दै लोकन्थली खरिको बोट छेउमा पुगे । डुबानमा परेको आफ्नो सानो टहरो देउखाउँदै उनले भने, “के उत्पात हुन लागेको यो ? पहिला त बाढी नै आउँदैनथ्यो ।”
सुकदेवमात्रै होइन, बल्खुका चिरकाजी महर्जन पनि सोमबारको बाढी देखेर छक्क परेका छन् । “उमेरले ७० नाघिसकेँ, खोला नै बस्तीमा पसेर दुःख दिएको थाहा पाएको थिइनँ,” उनले भने । सिन्धुपाल्चोकस्थित मेलम्चीका सागर श्रेष्ठले पनि सोचेका थिएनन् बाढीका कारण मेलम्ची बजार नै उजाड बन्ला भनेर । “बजार नै उजाड बनाइदियो । मेलम्ची बजार सम्झनामा मात्रै रह्यो, सम्झँदा पनि मन अझै भक्किानिन्छ,” उनी भन्छन् ।
२०७१ सालमा दार्जुलाको सदरमुकाममा आएको बाढीले ७९ घर बगाए । १७ सुकुम्बासी बस्ती र १३ सरकारी निकाय तथा ४ मठमन्दिर बगाएको थियो बाढीले ।
यी त केही उदाहरणमात्रै हुन् । नदी बग्ने क्षेत्र अतिक्रमण गरेर सहरी क्षेत्र बिस्तार भएकाले बाढी सहरी क्षेत्रमा पस्ने क्रम बढेको बताउँछन् विपत् व्यवस्थापन तथा बाढी विज्ञ डा. दिलिपकुमार गौतम । “हामीले दिर्घकालीन सोच नलिए भावी दिनमा पनि नसोचेको विपत सिर्जना हुनसक्छ,” उनले भने, “विपतको जोखिमयुक्त क्षेत्रमा विकासका योजनाहरु तर्जुमा नै गर्नु हँदैन । बस्ती त्यहाँ बसाउन हुँदैन । नगरपालिकाहरुले जहाँ जोखिम उच्च छ । त्यस्ता संरचनाहरु बनाउन नै रोक लगाउनुपर्ने हुन्छ ।”
उनका अनुसार नेपालको सन्दर्भमा सन् १९९० देखि जलवायु परिवर्तनको असर देखिने थालेका बाढी पहिरोको पनि जोखिम बढेको छ । “जलवायु परिवर्तनका कारण पानी धेरै नपर्ने स्थानमा एकदम धेरै पानी पर्ने, पहिला पानी बिस्तारै पर्ने ठाउँमा पनि एकैपटक पर्न थाल्यो । एकै घण्टामा पनि १ सय मिलिलिटर जस्तो पानी पर्न थालेको छ,” गौतमले भने, “जलवायुु परिवर्तनका कारण वर्षाको प्रकृति पनि परिवर्तन भएको पाउन सकिन्छ । सामाजिक–आर्थिक परिवर्तन, भू–प्रयोग परिवर्तन तथा जलवायु परिवर्तनका कारण नै विपतको प्रकृतिमा पनि परिवर्तन आउन थालेको हो ।”
शहरीकरणले जमिनको सतहलाई पुरानो अवस्थाबाट नयाँ अवस्थामा ल्याएका कारण बाढीको जोखिम बढ्दै गइरहेको बताउँछन् अर्का जल इन्जिनिअर विनोद पराजुली । “जतासुकै कालोपत्रे सडक छ, घरहरु छन् । यसले जमिनमा पानी सोसेर जाने सक्दैन,” उनले भने, “आकाशको पानी ढल नाला हुँदै नदीमा मिसिन्छ, नदीको क्षेत्र पनि साँघुरिरहेको छ, यसले गर्दा शहरी क्षेत्रमा बाढीको जोखिम बढेको हो ।”
वाग्मती, विष्णुमती र मनोहरामा २०/२० मिटर किनारा छोड्नुपर्ने नापी विभागको मापदण्ड छ । त्यस्तै, धोबीखोलामा ९/९ मिटर, नख्खु खोलामा १२/१२ मिटर, साङ्ला खोलामा १२/१२ मिटर, महादेवखोलामा १०/१० मिटर, बल्खुखोलामा १०/१० मिटर र अन्य साना खोला÷खोल्सामा ४/४ मिटर किनारा छोड्नुपर्ने विभागको मापदण्ड छ । तर खोला किनारमा मापदण्ड विपरित संरचना बनाइएकाले पनि बाढीले क्षति गर्न थालेको बताउँछन् अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितीका पूर्व सदस्य सचिव समेत रहेका सहरी विकास विज्ञ राजेश प्रसाद सिंह ।
अव्यवस्थित सहरीकरणका कारण नदीको बहाव क्षेत्र साँघुरिँदै गइरहेकाले समस्या उत्पन्न भएको उनको भनाइ छ । “हामीले नदी आसपासमा करिडोर बनाउनका लागि कतिपय नदीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरु हटाएका थियौं,” उनले भने, “यसकारण अझै बाढीले बढी क्षति पु¥याउन पाएन ।”

प्रतिक्रिया दिनुहोस्