सहिद परिवारको गुनासो– राज्यले बिर्सियो «

सहिद परिवारको गुनासो– राज्यले बिर्सियो

जनआन्दोलनका घाइते तथा सहिद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो पोखेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले सहिद दिवसको अवसर पारेर आयोजना गरेको साक्षात्कारमा ०६२-०६३ को जनआन्दोलनका सहिद यमलाल लामिछानेका छोरा द्रोण प्रसाद लामिछानेले राज्यले आफूहरुलाई नसम्झिएको गुनासो पोखे ।
उनले भने, “राज्यले हाम्रा अभिभावकको रगतलाई चिनेन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हाम्रा अभिभावले ज्यानको आहुति दिए । तर, राज्यले हामीलाई कहिल्यै पनि सम्झिएन ।” सहिद दिवस देशव्यापी रुपमा मनाएपनि आफूहरुलाई सरकारले कुनै वास्ता नगरेको उनको गुनासो छ ।
कार्यक्रममा सहिद गोविन्द शर्माकी धर्मपत्नी भगवती शर्माले आन्दोलनमा सहादत प्राप्त गर्ने र घाइते जिउँदा सहिदहरुले राज्यबाट कुनै पनि सम्मान नपाएको गुनासो पोखिन् । उनले भनिन्, “नेता तथा कार्यकर्ताहरुले अन्तर्राष्ट्रियस्तरको सुविधा लिने तर आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारले केही पनि पाएनन् ।”
उनले चुनावको बेला मात्रै दलका नेताहरुले सहिद परिवार र घाईतेहरुलाई सम्झिने गरेको र सत्तामा पुगेपछि चटक्कै बिर्सिने गरेको आरोप लगाइन् । सहिदहरुको सम्मानको लागि पनि सरकारले सार्वजनिक विदा दिनुपर्ने माग उनले गरिन् । उनले भनिन्, “सहिदको सम्मान भएमात्रै देशले समृद्धि हासिल गर्छ ।”
हरेक वर्ष सहिद दिवस मनाउँदै गर्दा आफूहरु आफन्त गुमाएको पीडामा पर्ने गरेको पनि उनले बताइन् । तर, राज्यले आफूहरुलाई खासै वास्ता नगरेकोमा उनले आक्रोश पोखिन् । सहिद वासुदेव घिमिरेकी पत्नी सुनिता घिमिरेले सरकारले आफूहरुको पीडा नसुनेको गुनासो पोखिन् । उनले भनिन्, “हामीहरुकै श्रीमान्हरुको रगतका कारण आज यत्रो परिवर्तन आयो । तर, सरकारले हामीलाई कुनै वास्ता गरेको छैन ।” सरकार आफ्नो ७ पुस्तालाई पुग्नेगरी कमाउन व्यस्त रहेको पनि उनले आरोप लगाइन् ।
सहिद चन्द्र बहादुर बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटीले मुलुकमा परिवर्तनको लागि आफ्नो श्रीमान्ले जीवन नै आहुति दिएको र आफ्नो सिउँदो पुछिएको सुनाउँदै राज्यले आफूहरुलाई अहिलेसम्म खासै वास्ता नगरेको गुनासो पोखिन् । उनले भनिन्, “राज्यले हाम्रा बालबालिकाहरुलाई टुहुरो बनायो । राज्यले सहिद सप्ताह मनाउँदै गर्दा हामीलाई सम्झिएन । धेरै दुःख लागेको छ ।”
सहिद ताहिर अली अन्सारीका छोरा अस्गर अली अन्सारीले राज्यले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । उनले सहिद परिवारलाई सरकारले बाँच्ने आधार बनाइदिनुपर्ने पनि माग गरे ।

प्रतिक्रिया दिनुहोस्