बाढीले दरखोला लघुजलविद्युत् आयोजना बगायो «

बाढीले दरखोला लघुजलविद्युत् आयोजना बगायो

म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बाढीले बगाएको छ । सोमबार अविरल वर्षासँंगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघुजलविद्युत् परियोजनाको नहर, बाँध र विद्युत्गृह बाढीले बगाएको हो । पावर हाउस भएको ठाउँमा खोला बगेको छ ।
पहिरो र बाढीका कारण लघुजलविद्युत् परियोजना बगाउँदा करिब एक करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । उनका अनुसार दुई वर्षअघि पुनर्निर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए ।
मध्यरातमा अविरल वर्षासँंगै आएको बाढीले विद्युत्गृहको भवनलगायतका महत्वपूर्ण सामान बगाएको छ । बाढीले परियोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पु¥याएको छ । बाढीले तटीय क्षेत्रका जमिन र बस्तीमा समेत क्षति पु-याएको छ । लघुजलविद्युत्को विद्युत्गृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको छ । स्थानीयबासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको स्थानीय लुलाङ आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले जानकारी दिए । “यहाँ केन्द्रीय प्रशारणको पहुँच छैन, लघुजलविद्युत् बगाएपछि मोबाइल चार्ज र साँझमा बालबालिकालाई अध्ययनमा समेत समस्या हुने भएको छ,” प्रअ ठाकुरले भने ।
२०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत्गृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना दुई वर्षअघि एक करोड ५२ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भएको थियो । लुलाङ, खोरीया, मेरनी र लमसुङका स्थानीयबासीले यस परियोजनाबाट लाभान्वित भएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ८५ लाख र धवलागिरी गाउँपालिकाले ५० लाख रुपैयाँ सहयोगमा स्थानीयबासीले जनश्रमदानसमेत गरी परियोजनाको क्षमता बढाएर पुननिर्माण गरेका थिए ।
परियोजना बगाएपछि लुलाङबासीको घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारित साना उद्योग ठप्प भएको छ । उज्यालोका लागि टुकी र सोलारमा भर पर्नुपर्ने अवस्था आएको वडा अध्यक्ष गमप्रसाद विकले बताए । लघुजलविद्युत् बगाएपछि तत्काल पुनर्निर्माण गर्न नसकिने भएपछि अवस्थामा छ, तीन तहको सरकार मिलेर केन्द्रीय विद्युत् पु¥याउने योजनामा समन्वय गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्