अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तली फाउन्डेसनको घोषणा «

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तली फाउन्डेसनको घोषणा

धुर्मुस–सुन्तली फाउन्डेसनले अढाई वर्षमा करिब ३ अर्ब लागतमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । बुधबार राजधानीमा आयोजित रंगशाला घोषणासभामा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच जग्गासम्बन्धी सम्झौता भएको छ ।
भरतपुर महानगरपालिकाले २० विगाह ६ कठ्ठा जग्गा फाउन्डेनसलाई हस्तान्तरण गरेको छ । कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको उक्त जग्गा रंगशाला निर्माण गरिने भएसँगै महानगरमार्फत् फाउन्डेसनलाई उपलब्ध गराउन सहमत भएको हो । बुधबार राष्ट्रिय सभागृह काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गरेपछि फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले देश विदेशमा रहेका नेपाली, विभिन्न संघसंस्थाबाट सहयोग आइरहेको भन्दै फाउन्डेसनले धेरैभन्दा धेरै सहयोगको अपेक्षा गरेको बताए ।
रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी कम्प्लेक्स निर्माण गरिनेछ । कम्प्लेक्स स्तुप आकारमा हुनेछ । जसलाई एकेडेमीका रूपमा विकास गरिने लक्ष्य राखिएको छ । सो जग्गा रंगशाला निर्माणका लागि दुई विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच यसअघि नै सम्झौता भइसकेको छ ।
रंगशालाका लागि आगामी ६ महिनामा गुरुयोजना तयार गरिने भन्दै उनले गुरुयोजना घोषणा गरिएको २ वर्षभित्रमा रंगशाला निर्माण सकिने बताए । यस्तै, कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशाला बनाउने तिव्र चाहना र फाउन्डेसनले जग्गा खोजिरहेको कुराको मेल भएपछि रंगशाला निर्माण हुन लागेको बताइन् । “कम्तिमा २ वर्षमा रंगशाला निर्माण सकिन्छ । त्यसपछि पहिलो खेल भारत र पाकिस्तानबीच खेलाउने हाम्रो आन्तरिक सोच छ,” उनले भनिन् ।
रंगशाला कमलको फूलको आकारमा निर्माण हुनेछ । जसमा क्रिकेटसहित, फुटबल, बास्केटबल, स्विमिङ पुलको समेत मैदान हुनेछन् । क्रिकेट मैदान २५ हजार दर्शक अट्ने क्षमताको हुनेछ । क्रिकेट मैदान प्रवेश गर्नका लागि चार द्वार हुनेछन् । क्रिकेट खेलाडीका लागि दुई विशेष सुविधा भएका मैदान हुनेछन् । आराम कक्षसमेत उस्तै स्तरीय हुनेछ । यस्तै रंगशालाको चारै भागमा एलइडी स्क्रिन हुनेछन् भने फ्लड लाइडको पनि जडान हुनेछ । रंगशाला नेपाली मौलिकता झल्काउने खालको हुने फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्