मोबाइल व्यवसायीको माग «

मोबाइल व्यवसायीको माग

कोरोना संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन । नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले लकडाउन अवधिको घर भाडावापतको रकम आयकरबाट समायोजन हुने व्यवस्था गर्न सरकारसँग माग गरे ।
महासंघका अध्यक्ष भट्टराईले भने, “कोरोनाको यस्तो जटिल अवस्थामा राज्यले बन्द गराएको अवधिको घर भाडावापतको रकमलाई आयकरमा समायोजना गरिदिए मात्रै पनि व्यवसायीले ठूलो राहतको महशुस गर्नेछन् ।” उनले सरकारले अन्य उद्योगलाई सहुलियत ब्याजदरमा ऋण प्रवाहको व्यवस्था गरेपनि आफूहरुलाई नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
महासंघले राज्यको करछली गरेर भित्रिएका मोबाइललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरु पनि लागिपर्ने प्रतिवद्धता समेत जनाएको छ । “राज्यको कर छलेर अनधिकृत रुपमा भित्रिएका मोबाइललाई करको दायरामा ल्याउने सरकारको नीतिको पूर्ण पालनाको अपेक्षा गरेका छौं” उनले भने, “कर नतिरी नेपाल छिरेका त्यस्ता मोबाइलका कारण एक त राजस्व गुमेको छ भने अर्कोतर्फ अस्वभाविक प्रतिस्पर्धा सृजना भएको छ ।”
महासंघको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै मोबाइल व्यवसायीहरुले ३ अर्ब ५२ करोड राजस्व राज्यलाई बुझाएका छन् । अध्यक्ष भट्टराईले आर्थिक वर्ष २०७५÷०७६ को तथ्यांकलाई मात्रै हेर्ने हो भने वार्षिक ४२ लाख ७५ हजार सेट मोबाइल नेपाल भित्रिएको र त्यसको बिक्री गरी ३ अर्ब ५२ करोड घर राज्यलाई बुझाइएको पनि जानकारी दिए ।
ठूलो मात्रामा कर तिर्ने मोबाइल व्यवसायलाई भने कोरोना महामारीको समयमा राज्यले कुनै पनि सहुलियत नदिएको गुनासो छ । उनीहरुले मोबाइल व्यवसायको पुनर्जीवनका लागि पनि ऋण प्रवाहमा अन्य व्यवसायलाई जस्तै सहुलियत दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्