सुन तोलामा ६२ हजार नाघ्यो «

सुन तोलामा ६२ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । मंगलबार तोलामा ६१ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य एकै दिन तोलामा ७ सय रुपैयाँ बढेर ६२ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार पुसमा प्रतितोला ५८ हजार रुपैयाँ रहेको सुनको मूल्य माघमा भने ३ हजार रुपैयाँ बढेर बुधबार प्रतितोला ६२ हजार २ सय रुपैयाँसम्म पुगेको हो । डलरको मूल्य कमजोर हुँदा सुनको मूल्य लगातार बढ्दै गएको हो । एक महिनामा बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढिसकेको छ ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले चीन र अमेरिकाबीचको व्यापार विवादका कारणले सुनको मूल्य बढ्दै गएको बताए । शाक्यले मूल्य अझै लगातार बढ्दै जाने देखिएको बताए । ६ वर्षअघि प्रतितोला ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । उनले भने, “त्यसपछि मूल्यमा उतारचढाव भइ ४७ हजार रुपैयाँमा झरेको मूल्य अहिले बढेर ६२ हजार नाघेको छ ।” सिजनमा दैनिक ४० देखि ५० किलो कारोबार हुने गरेकोमा अहिले मूल्य बढेकाले दैनिक २५ देखि ३० केजीको कारोबार हुने गरेको शाक्यले जानकारी दिए । सुनको मूल्य बढ्दा नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्न बढी आउने गरेको व्यवसायी बताउँछन् । बिहेको समयमा भीडभाड हुने न्युरोडका सुन पसलमा अहिले ग्राहकको संख्या बढ्न सकेको छैन । बिहेको लागि आवश्यक पर्ने सुनबाहेक अरु ग्राहक सुन खरिद गर्न नआउने गरेको व्यवसायीको भनाइ छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सेयर मार्केट पनि घटेको छ । डलरको तुलनामा भारतिय रुपैयाँ (आईसी) कमजोर हुँदा थप असर परेको व्यवसायीहरू बताउँछन् ।
डलर कमजोर भएसँगै सेयरबजारमा मूल्य घट्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित भएपछि सुनको मूल्य बढ्दै गएको व्यवसायी बताउँछन् । विवाहको समयमा बढेको सुनको मूल्यले आम उपभोक्तालाई भने प्रत्यक्ष मार पारेको छ । सुनको मूल्य बढेकाले सिजनको समयमा पनि धेरै कारोबार हुन नसकेको व्यवसायी बताउँछन् । मूल्य बढेकाले बजारमा सुनको माग धेरै नआएको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्