Logo

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म


राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । बुधवार काठमाडौंमा केन्द्रीय तथ्यांक विभागले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगन गरिएको राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने बताएको छ ।
अहिले कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रुपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना पुनः सञ्चालन गर्ने निर्णय गरेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । महानिर्देशक श्रेष्ठका अनुसार आगामी जनगणना १२आँै शृंखलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, ८ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् । जनगणना गर्ने कार्य जटिल भएको र यस जनगणनामा हरेकको घरदैलोमा पुगेर सम्पूर्ण घर, सम्पूर्ण परिवार र सम्पूर्ण व्यक्तिको गणना गरिने उनले बताए ।
महानिर्देशक श्रेष्ठले भने, “विगत तीन महिना यता अवस्था सहज छ, लकडाउनको अवस्था पनि छैन, कोरोना संक्रमणको दर पनि न्यून भइरहेको छ, अब जनगणना गर्न सक्ने अवस्था भएकोले जनगणना गर्न लागेका हाँै, यो अत्यन्त जटिल काम पनि हो, एउटा निश्चित विधि, अवधारणा, परिभाषालाई अंगीकार गरिकन निश्चित समयमा मुलुकका सम्पूर्ण घर, परिवार र व्यक्तिहरुको गणना गर्नुपर्छ र हरेक व्यक्तिको घरदैलोमा पुग्नुपर्छ, त्यसकारण यो च्यालेन्जिङ छ, हालसम्म ७ वटै प्रदेशमा ७ वटा प्रदेश जनगणना कार्यालय, ७७ जिल्लामा ८० वटा जिल्ला जनगणना कार्यालय रहेको र ७५३ स्थानीय तहका लागि ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गर्न लागेका छौँ, आगामी जनगणना १२आँै शृंखलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, ८ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् ।”
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जतिसक्दो छिटो गणकको छनोट गर्नुपर्ने बताए । गणकको छनोट गरे उनीहरूलाई दुई डोज नै कोरोनाविरुद्धकबो भ्याक्सिन लगाउन सकिने भन्दै उनले गणकले गणना गर्न जाँदा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्ने पनि बताए । सचिव भण्डारीले पूर्वनिर्धारित समयमा जनगणना हुन नसक्दा खर्च पनि बढीरहेको बताए ।
सचिव भण्डारीले भने, “सबैभन्दा छिटो गणकको छनोट गर्नसकियो भने गणकलाई दुवै डोज कोरोनाविरुद्धको भ्याक्सिन लगाएर पठाउन सकिन्थ्यो, त्यो हाम्रो प्लान छ, गणकले गणनामा जाँदा मास्क र स्यानिटाइजर लानुपर्नेछ, त्यस्तै खर्च बढेको कुरा भन्ने छ, यो पूर्व निर्धारित समयमा कोरोना भाइरसको संक्रमण दर बढ्यो, लकडाउनको अवस्था भयो त्यसैले जेठ २५ देखि असार ८ गतेसम्म हुन सकेन, हामीले त्यो बेला नै जनगणना गर्ने भनेर डकुमेण्टहरू ८० वटै जिल्ला जनगणना कार्यालयमा पु¥याइसकेका थियौँ, फेरि ल्याउँदा हराउने समस्या र फेरि पछि त्यहीँ पु¥याउनुपर्ने समस्याले गर्दा सरकारसँग यो बीचको समयमा कार्यालय नहटाइ त्यही रहने व्यवस्था मिलाएर बस्दा खर्च बढी हुन गएको हो ।”
केन्द्रीय तथ्यांक विभागबाट तयार पारिएको नयाँ कार्यतालिका भाद्र २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । पूर्वनिर्धारित कार्यक्रमअनुसार जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सम्पन्न गर्ने सरकारको योजना थियो । वि.सं १९६८ मा श्री ३ चन्द्र शमशेर जबराको पालोबाट सुरु गरिएको राष्ट्रिय जनगणना प्रत्येक १०÷१० वर्षमा गरिन्छ । यो जनगणना मुलुक संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना हो ।

प्रतिक्रिया दिनुहोस्