बगाउनै लाग्यो विद्यालय «

बगाउनै लाग्यो विद्यालय

पहिरोले बगाउने सम्भावना देखिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका बराम्चीस्थित दोबाङ आधारभूत विद्यालयको भवन । तस्बिर : कारोबार


सुस्मिता तामाङ (१२) अहिले कक्षा ७ मा पढ्छिन् । कोभिड–१९ संक्रमण फैलिएको दुई वर्षपछि उत्साह साथ विद्यालयको कक्षाकोठामा पाइला टेकेकी उनको मन भने अचेल पढाइतिर हुँदै हुन्न । प्रभावकारी नबनेको अनलाइन क्लासबाट दिक्दारी भोगेकी उनको विद्यालय गएर पहिलाको झंै वातावरणमा पढ्ने सपना फेरि यसरी तुहियो–जतिबेला विद्यालय भवनको जगकै छेउबाट निरन्तर पहिरो खस्न थाल्यो ।
जुगल गाउँपालिका–५ स्थित विकट गाउँ दोबङमा छ उनी अध्ययनरत दोबङ आधारभूत विद्यालय । पानी परेसँगै वल्लोपल्लो छेउ भास्सिएर पहिरो गइरहन्छ । वर्षापछिको चर्काे घामले सुख्खा पहिरो जाने सम्भावनाले पनि विद्यार्थी र शिक्षकलाई पिरोलिरहन्छ । भवन छेउमै ठूलो पहिरो गएकाले पर्खाल छेऊ पहिरो आइसकेको छ ।
“बर्खापछि यहाँ यस्तै हो पानी परेको परै हुन्छ, जमिन भास्सिएर खसिरहन्छ,” उनी भन्छिन्, “पहिरो हेरेर जबर्जस्ती पढ्नु बानी बनिसकेको छ ।” सानो आवाज आयो भने पनि पहिरोले विद्यालय भवन बगाउन थाल्यो जस्तो लाग्ने गरेको उनले बताइन् । उनी विद्यालयभन्दा टाढा रहेको घिचे गाउँबाट दोबङसम्म अध्ययनकै लागि आउने गर्दछिन् । “दुःख गरेर पढ्न भनेर आइन्छ, तर यहाँ शान्तसँग पढ्न पाइदैन,” उनले भनिन्, “पहिरोको जोखिमसँग अभ्यस्त भए पनि त्यसकै डरले रातदिन पढाइमा मन नलाग्ने भए पनि जसोतसो विद्यालय आउने हिम्मत गरिरहेकी छु ।”
सुस्मिता मात्रै हैन घरि पढाइरहेका शिक्षकतिर ध्यान त घरि कक्षाकोठाको झ्याल छेउबाटै झरिरहेको पहिरोतिर आँखा जान्छ अधिकांश विद्यार्थीको । जब पानी पर्न थाल्छ, त्यतिबेला विद्यार्थी मात्रै हैन शिक्षकका पनि मुटु हल्लिन थाल्छन् कि कतै विद्यालय भवन बगिहाल्छ कि ? । यसरी ज्यान नै जोखिममा राखेर अध्ययन भइरहेको छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ बराम्चीस्थित दोबङ आधारभूत विद्यालयमा । विद्यालयका बालबालिका र शिक्षक डरलाग्दो पहिरो झ्यालबाट हेर्दै कक्षामा सहभागी हुन बाध्य भइरहेका छन् ।
भिरालो जमिनमा विद्यालय भएकाले एकाएक पहिरो खस्न थालेपछि अधिकांश बालबालिका एकै स्थानमा जम्मा भएर रुने गरेका छन् । “धेरैपछि स्कुल खुले पनि धेरै विद्यार्थी आउँदैनन्, पहिरोले सबैको सातो लिएको छ,” कक्षा ८ मा पढिरहेका कमल तामाङले भने, “कहिले किताबतिर त कहिले पहिरो जाने ठाउँमा हेर्दै दिन बित्छ ।” १७९ बालबालिकासँगै सुस्मिता र कमलको नाम यो विद्यालयको हाजिरी किताबमा उल्लेख छ । दुई वर्षपछि विद्यालय खुले पनि पहिरोकै डरले अचेल १० जना उपस्थित हुन पनि हम्मे पर्छ । “यो भवनबाहेक लगेर अध्यापन गराउने अर्काे कुनै ठाउँ छैन,” विद्यालयकी निमित्त प्रधानाध्यापक रञ्जिता रायमाझीले भनिन्, “लामो समयपछि विद्यालय खुले पनि पहिरोको डरले अभिभावकले बालबालिका विद्यालय पठाउन छाड्नुभएको छ ।”
२०७२ को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले कमजोर बनाएको यहाँको भूबनोटलाई बेवास्ता गरि“दा २०७४ सालबाट तल्लो भेगबाट जमिन भास्सिँदै खस्न थाल्यो । “खसेको पहिरोलाई बेवास्ता नगरि“दा बढ्दै गएर विद्यालय जोखिममा परेको प्रधानाध्यापक रायमाझी सुनाउँछिन् । विद्यालय भवन जीर्ण भएपछि समाधानका लागि स्थानीय सरकार नगुहारिएको हैन । तर, समस्या समाधान उन्मुख नदेखिएको उनी बताउँछिन् । “वडा कार्यालयदेखि गाउँपालिकासम्म यहाँको अवस्थाबारे जानकारी दिएका छौं,” उनले भनिन्, “तर, कतैबाट केही सुनुवाइ भएको छैन, कतैबाट निरीक्षणसमेत नहुँदा दुखित छौं ।”
विकट ठाउँमा रहेकाले यो विद्यालयमा आइपुग्न डाँडाकाँडा र खोला तर्नुपर्छ । बाटोभर दुई वटा ठाडो खोला र केही स्थानमा सडक भास्सिएर पहिरो खसेको छ । अविरल वर्षातले उर्लिएको खोला तर्न नसकेर घर फर्कनुपरेको जुगल गापा र्झिगाउ“का अगुवा ज्यानदोर्जे लामाले सुनाए । “बाटैभर ठाडो खोला र पहिरो छ, झनै विद्यालयमा उस्तै पहिरोको सन्त्रास बढेकाले गाउँवासीले छोराछोरी पढ्न पठाउन सकेका छैनन्,” उनले त्यहाँको अवस्था सुनाए, “विद्यालय पुग्न झण्डै डेढ घण्टासम्म बालबालिका पैदल हिँड्न बाध्य हुन्छन् ।” उनले विद्यालय जान नसकेका अधिकांश बालबालिका घर खेतमै दिन बिताउने गरेको सुनाए ।
सरकारले सबै बालबालिकाका लागि शिक्षाको नारा ल्याइरहँदा यस्ता विकट गाउँवासी मारमा परेका छन् । झनै स्थानीय सरकार आएपछि गाउँमा विकाशको आशा गरेका गाउँवासीले त्यसको प्रत्याभूति गर्न पाएका छैनन् । जुगल गाउँपालिका–५ का अध्यक्ष सनत अधिकारीले विद्यालयको जोखिमबारे थाहा पाएलगत्तै पहिरो रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको बताए । “समस्या तुरुन्तै सुल्झाउन पहल गर्दैछौं ।” उनले आश्वासन दिए । “वडाभित्र मात्रै हैन, यो भेगका अधिकांश ठाउँमा समस्या छ,” उनी भन्छन्, “यो भेग ठूला ठूला पहराका साथै खोलाहरु धेरै भएकाले पहिरो जाने सम्भावना धेरै देखिन्छ, त्यसको नियन्त्रणका लागि हामीले धेरै अभियान चलाएक पनि छौं ।” उनले विद्यालयको अवस्थाबारे जानकारी लिएको र पहिरो रोकथामका साथै बालबालिकालाई सुरक्षित स्थानमा अध्ययन÷अध्यापन गर्न विकल्प खोजिएको बताए ।
संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकका यो जुगल गाउँपालिकामा मात्रै हैन । जिल्लैभर समस्या निम्तिएको छ । गएको असार १ गते हेलम्बुबाट बग्ने मेलम्ची नदी र पाँचपोखरी थाङपालबाट बग्ने इन्द्रावती नदीमा एक साथ उर्लिएर आएको बाढीले धेरै विद्यालयमा क्षति पु¥याएको छ । धेरै विद्यालय बाढी तथा पहिरोको जोखिमकमा परेको जिल्ला शिक्षा तथा समन्वय इकाइले जनाएको छ । “मेलम्ची क्षेत्रका मात्रै ८ विद्यालय उच्च जोखिममा छ,” इकाइ प्रमुख कृष्ण सुवेदीले भने, “यसबाहेक बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिकाका विद्यालय बाढी र पहिरोको चपेटामा छन् ।” उनले जिल्लाभर बाढीपहिरोको जोखिममा परेका विद्यालयका बालबालिकाले अध्ययन गर्न नभएको हुँदा यसको विकल्पबारे छलफल हुँदै गरेको बताए ।
बाढीपहिरोको जोखिममा रहेका विद्यालयका सम्पूर्ण क्षतिबारेको विवरण र तंथ्याक जिल्ला शिक्षा समन्वय इकाले माथिल्लो निकायमा पठाएको छ तर, यसको कार्यान्वयन र समाधान कहिले हुन्छ भन्नेबारे इकाई नै अनविज्ञ रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्