नेकपा (माओवादी केन्द्र) संसदीय दल बैठक «

नेकपा (माओवादी केन्द्र) संसदीय दल बैठक

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरू पारित गर्नुपर्नेमा जोड दिएको छ । नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतीमा संसदलाई निर्वाध रूपमा चल्न दिँदै बजेटलगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो । तोकिएको समयअवधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए ।
उनले भने, ‘अध्यादेशहरूलाई अगाडी बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० गते त्यसको समय सकिन्छ । ३० गतेकै समय अवधिभरमा यसलाई पारित गराउन पहल गर्नुपर्छ । यद्यपी नियमावलीको समय फ्रेमको हिसाबले हामीलाई समयको समस्या त छ, तरपनि सबैको बीचमा आवश्यक सहमती कायम राखेर फास्टट्रयाकबाट भएपनि यसलाई अगाडी बढाउन पहल गर्नुपर्छ भन्ने कुरा भएको छ ।’
यस अधिवेशनमा अधिकतम रुपमा विधेयकहरू पास गर्न पहल गर्ने निर्णय माओवादी केन्द्रको छ ।
नेकपा(एमाले)ले सदन अवरुद्ध गर्ने भन्ने विषयमा आफुहरूको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख सचेतक गुरुङले एमालेलाई सहमतिमा अगाडि बढ्न आग्रह गरिने पनि बताए । गठबन्धनभित्रै सहमति नजुटेको भन्दै उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउनुभयो । एमसीसी राष्ट्रिय सहमति गर्नुपर्ने मुद्दा भएकाले एमसीसीसम्बन्धी प्रस्ताव संसदमा अगाडि नबढ्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्