प्रतिनिधिसभामा एमालेको अवरोध, नाराबाजीबीच अध्यादेश पेश «

प्रतिनिधिसभामा एमालेको अवरोध, नाराबाजीबीच अध्यादेश पेश

काठमाडौँ, २३ भदौः प्रतिनिधिसभा बैठक अवरुद्ध व्यवस्थापिका संसद प्रारम्भ हुन साथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु संसदको बैठक अवरुद्ध गर्दै । तस्बिर रत्न ७नतसेष्ठ/रासस

राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश भएको छ । नेकपा (एमाले) का सांसदहरुको नाराबाजीकै बीच गृहमन्त्री बालकृष्ण खाणले बुधबार अध्यादेश पेश गरेका हुन् ।
बुधबार प्रतिनिधिसभाको तेस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री खाणलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए । एमालेका सांसदरुले होहल्ला गरिरहेकै अवस्थामा खाणले अध्यादेश पेश गरेका छन् ।
अध्यादेश पेश भएपछि सभामुख सापकोटाले बैठक २५ भदौसम्मका लागि स्थगित गरेका छन् ।
प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठक बुधबार अपराह्न ४ बजे सुरु भएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरुद्ध गरेको थियो । एमालेले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा(एमाले) फुटाउन सहयोगी भुमिका खेलेको भन्दै सभामुखसँग एमाले फुटाउने कारण माग गर्दै बैठक अवरुद्ध गरेको हो । बैठकमा बोल्दै नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले एमालेले १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउँदा सभामुखले कारबाही गरेको सूचना सभामुखले नटाँसेको बताए । उनले संविधान, नियम, नीति, विधि उल्लंघन गरेर नेकपा एमालेलाई विभाजन गरिएको भन्दै सभामुखबाट जवाफ माग गरे । सभामुखबाट यथोचित जवाफ नपाउञ्जेल संसद अघि बढ्न नदिने नेकपा(एमाले)को निर्णय भएको उनले जानकारी गराएका थिए ।
लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले जवाफ दिँदै आफूले प्रचलित कानुनको प्रावधानको आधारमा निर्णय लिएको बताए । उनले सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै संसदमा छलफल गर्न नमिल्ने पनि बताए ।
त्यसपछि प्रतिपक्षी दलका सांसदहरुले वेलमा घेरेर संसदको संर्वोच्चता कायम गर, संविधान विरोधी काम गर्न पाइँदैन, विधिको शासन कायम गर लगायतका नाराबाजी गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को खण्ड ख र ग को ध्यानाकर्षण गराएको बताएपनि नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटको लागि बैठक स्थगित गरिएको बताए । त्यसपछिको दोस्रो बैठक पनि एमाले सांसदकै नाराबाजीका कारण स्थगित भएको थियो ।
राष्ट्रिय सभाको बैठक पनि एमालेले अवरोध गरेको छ । बुधवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले विरोध जनाएपछि ३० मिनेटको लागि बैठक स्थगित गरिएको थियो । दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको कार्यसूचीको २ र ३ नम्बरमा रहेको विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिँदै आगामी बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजे बोलाएको बताए ।

मिलेर सदन चलाउनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेकामा जोड दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले बैठकमा उनले सदनमा अतिआवश्यक विधेयक विचाराधिन भएकाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । बैठकमा उनले अन्तरवस्तुमा असहमति हुनसक्ने भए पनि विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह गरे ।
बुधबारदेखि सुरु सङघीय संसद्को बैठकअघि सदन सञ्चालन गर्ने विषयमा सो बैठक बसेको नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्