बागमतीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार «

बागमतीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

नेकपा एमाले विभाजनसँगै अल्पमतमा रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गर्दै बुधबार १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
जसमा ६ जना मन्त्री छन् भने ४ जना राज्यमन्त्री रहेका छन् ।
मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयको जिम्मा विजय सुवेदीलाई दिएकी छन् भने सोही मन्त्रालय फुटाएर बनाइएको स्वास्थ्य मन्त्रालयको मन्त्रीमाप्रदिपकुमार कटुवाल क्षेत्रीलाई नियुक्त गरेकी छन् । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री रहेका केशवराज पाण्डेलाई भौतिक पूर्वाधार मन्त्री,रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्री, शान्ति प्रसाद पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री, डाक्टर अजय क्रान्ति शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्री र चन् लामालाई भस् मी व्यवस्था,कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जीवन खड्का, सामाजिक विकास राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वतावारण राज्यमन्त्रीमा सरस्वती बाटी र भूमि, व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनालीलाई नियुक्त गरिएको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले बुधबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बागमती प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादव चन्द्र शर्माको उपस्थितिमा उनीहरुको सपथ ग्रहण गराइएको हो । यसअघि शाक्यले सामाजिक विकास मन्त्रीका रुपमा नियुक्त गरेका कृष्ण खनालले नेकपा (एस) रोज्दै पदबाट राजीनामा दिएका थिए ।
एमाले औपचारिक विभाजन भएकै दिन भदौ २ गते एमाले संसदीय दलको नेता बन्दै शाक्य मुख्यमन्त्री बनेकी थिइन् । माधवकुमार नेपाल निकट मानिएकी शाक्य एमालेमै रही मुख्यमन्त्री भएपनि बागमती प्रदेशसभाका एमालेबाट निर्वाचित १३ जना सांसदले विभाजित पार्टी नेकपा (एस) रोजेपछि उनी अल्पमतमा परेकी छन् ।
कुल एक सय ९ जना सांसद रहेको बागमती प्रदेशमा एमाले एक्लैको ५६ सांसद रहेको थियो । विभाजनपछि १३ जना सांसद नेकपा (एस)मा प्रवेश गरेपछि एमालेमा ४३ जना मात्रै सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्