पर्यटन पुनरुत्थानमा जोड «

पर्यटन पुनरुत्थानमा जोड

कोभिड–१९ का कारण विश्वभर नै थलिएको पर्यटन क्षेत्र अन्य मुलुकमा विस्तारै तङ्ग्रिन थालेको भए पनि पछिल्लो समय सरकारले बन्देजको नीति अवलम्बन गर्दा भने नेपालमा पर्यटक आगमनमा वृद्धि नभएको जानकारहरूले बताएका छन् । पर्यटन व्यवसायीले कोरोना महामारीपछि पर्यटन क्षेत्रमा लगाइएको असहजता हटाउँदै खुला गरिनुपर्ने माग गर्दै आएका छन् ।
पर्यटन व्यवसायीहरूले नेपालका प्रायःजसो सबै मुख्य गन्तव्यहरूमा कोभिडविरुद्धको खोप लगाउने दर उच्च रहेको र अग्रपंक्तिमा सेवा दिने सबै पर्यटनकर्मीहरूले उक्त खोपको मात्रा पूरा गरिसकेकोे सन्दर्भमा पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्ने माग गरेका छन् । ‘पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा बस्नु नपर्ने, पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउनुपर्ने, सुरक्षित गन्तव्यहरू र गतिविधिहरू पहिचान गरी प्रचारप्रसार गरेको खण्डमा नेपालमा पर्यटक आगमान दर बढेर जाने विश्वास उनीहरूको छ ।
लामो समय पर्यटन क्षेत्र चलायमान नहुँदा यो क्षेत्रको रोजगारी, लगानी, यसमा रहेका पूर्वाधारहरू जोखिममा परेको बताउँदै व्यवसायीले अब पर्यटन पुनरुत्थान गर्न ढिला भएको बताउँदै आएका छन् । पूर्ण खोपको मात्रा लगाएको सुनिश्चित गरेर पर्यटक बजारमा सुरक्षित पर्यटन क्षेत्र भनेर सकारात्मक सन्देश प्रवाह गर्न सकेको खण्डमा पर्यटक आगमन नेपालमा बढाउन सक्ने पर्यटन व्यवसायीहरूको भनाइ छ ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) कोभिडले सबैभन्दा बढी नेपालको पर्यटनमा असर गरेको उल्लेख गर्दै यसको कारण दुई लाख ३० हजारको रोजगारी जोखिममा परेको, २० हजार टुर र ट्रेकिङ गाइडहरू बेरोजगार भएको र २ हजार ६ सय ट्रेकिङ एजेन्सीमा असर पर्दा करिब ५३ करोड अर्थात् ४६० मिलियन डलरबराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गुमाएको प्रतिवेदनमा उल्लेख छ । यही सन्दर्भमा रहेर कारोबारले सरकोकारवाला निकायसँग गरेको कुराकानीको सारः

सहज आगमनमा जोड दिनुपर्छ
सुमन पाण्डे
पर्यटन व्यवसायी

काभिड–१९ का कारण पर्यटन क्षेत्र मारमा परेको अवस्था छ । सन् २०१९ को अन्त्यबाट फैलिएको यो महामारीले गर्दा पर्यटन गतिविधि प्रायः ठप्प रहेको अवस्था छ । अन्य देशमा पर्यटक आगमनलाई सहज बनाइएको भए पनि नेपालमा भने सरकारले बन्देजमुखी व्यवस्थाका कारण पर्यटकको नेपाल आयमन सहज नहुने गरेको छ । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएकालाई सहज रूपमा नेपालमा भ्रमणको वातावरण विकास गर्न सकेको खण्डमा नेपालमा पर्यटन बजार फस्टाएर जानेछ । माल्दिभ्स, दुबई पछिल्लो समयका उदाहरण हुन् । क्वारेन्टाइमा बस्ने गरेर कुनै पर्यटक नेपाल भ्रमण गर्न आउँदैनन् । पर्यटकलाई क्वारेन्टाइनको प्रावधान हटाउँदै अनअराइभल भिसा दिनुपर्छ । यसले गर्दा नेपालमा पर्यटक आगमन बढेर जानेछ ।
विदेशमा पीसीआर गरेर आएका पर्यटकमा पनि कोरोना संक्रमण हुने जोखिम हुन सक्छ । यसको समाधानका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै एन्टिजेन, पीसीआर परीक्षण गर्ने व्यवस्था ग¥यौं र छिटोभन्दा छिटो नतिजा पनि दियौँ भने संक्रमण नदेखिएका पर्यटकलाई सहजै नेपालमा घुम्न दिने व्यवस्था गर्न सकिन्छ । तर, यसका लागि सरकारले सोहीअनुसारको नीति जारी गर्नुप¥यो र सहज रूपमा आगमन हुने व्यवस्था सरकारले गर्नुपर्छ । आजको आवश्यकता भनेकै यी दुई कुरामा जोड दिनुपर्छ । अर्काे भनेको भारत सरकारले अन्य देश हुँदै जान दिएको छैन, यसअघि भारतीय नागरिक नेपाल आएर अन्य देश जाने गरेका थिए, यसले पनि नेपालको पर्यटन बजारमा टेवा पु¥याएको थियो ।
नेपाल सरकारले पनि नेपाल आएर अन्य देशका यात्रुमा प्रतिबन्ध गरेपछि त्यसको असर पर्यटन बजारमा परेको अवस्था छ । भारतको व्यापार सञ्जाल विश्वभर नै रहेको छ । तर, हामीकहाँ आएर अन्य देश जाने ट्रेन्डलाई सरकारले प्रतिबन्ध लगाएसँगै अहिले माल्दिभ्समा पर्यटन फस्टाएर गएको छ । नेपालको हस्पिटालिटीदेखि हवाई यात्रा र पर्यटन बजारमा पनि विश्व स्वास्थ्य संगठनको निर्देशनमा सरकारले जारी गरेको मापदण्ड लागू गरेकाले गर्दा संक्रमणको कुनै सम्भावना नरहेको अवस्था छ । सबैले आफ्नो स्वास्थ्य सुरक्षाको पालना गरेकै हुन्छन् । त्यति हुँदा पनि नीतिगत तहमा बसेका अधिकारीले पर्यटन क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योग्दान र यसले गर्दा नेपालमा सिर्जना भएको रोजगारी र यसको महŒव नबुझ्दा यहाँ समस्या भएको छ । हामीले पनि नीतिगत तहमा बसेको अधिकारी र निकायलाई बुझाउन नसकेको हुँदा पनि यो समस्या आएको हो कि ?
सरकार बन्देजमुखी कार्यव्यवस्थाको पक्षमा रहेकाले गर्दा पर्यटन क्षेत्रलाई अझ मारमा परेको अवस्था छ । विश्वमा पर्यटनमुखी देशहरूले पर्यटन आगमनमा सहजता प्रदान गरेकाले गर्दा त्यहाँको पर्यटन बजार फस्टाएर गएको अवस्था छ । नेपालमा भने सरकारले यो वा त्यो बहानामा पर्यटकलाई सहज आगमनको नीति नलिएकाले गर्दा पछिल्लो समय नेपाल आगमन गर्ने पर्यटकको संख्यामा वृद्धि हुन नसकेको अवस्था छ । पछिल्लो आठ महिनाको तथ्याङ्क हेर्दा पनि नेपालमा पर्यटक आगमन दर अत्यन्त्य न्यून रहेको छ । सोमबार मात्र हामी पर्यटनसँग सम्बन्धित सरोकारवाला निकायले कोरोना महामारीपछि पर्यटन क्षेत्रमा लगाइएका असहजता हटाउँदै खुला गरिनुपर्ने माग गरेका छौं ।

उडान संख्या थप गर्दै प्रचारमा जोड दिनुपर्छ
विजय अमात्य
पर्यटन व्यवसायी

पहिलो भनेको त कोभिड–१९ विरुद्धको खोप नै हो । यसका लागि सरकारले चाँडोभन्दा चाँडो सबैको पहँुचमा खोप वितरण गर्नुपर्छ । दोस्रो भनेको नेपाल आगमन गर्ने पर्यटकले पूर्ण खोपको मात्रा पूरा गरेका र पीसीआर निगेटिभ भएर आउने पर्यटकलाई क्वारेन्टाइनमा नराख्ने नीतिगत व्यवस्था सरकारले गर्नुपर्छ । तेस्रो भनेको नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूको सिट क्षमता बढाउनुपर्छ । अन्तर्राष्ट्रिय उडानमा लगाइएको सीमालाई हटाएर उडान संख्यामा वृद्धि गर्नुपर्छ । अर्का भनेको नेपाल–भारतबीचको एयर बबल सम्झौतालाई हटाएर भारत हुँदै तेस्रो देशको नागरिक आगमनमा खुला गर्नुपर्छ । चौथो, सरकारले भिसा अनअराइभल दिनुपर्छ ।
यसले गर्दा पर्यटकलाई पनि सहज हुने र आगमन दर पनि बढेर जानेछ । पाँचौं भनेको नेपालमा पर्यटन प्रवद्र्धन गरिरहेको नेपाल पर्यटन बोर्डलाई प्रचारप्रसारमा केन्द्रित गराएर गन्तव्यको मार्केटिङ र प्रचारका गतिविधि बढाउनुपर्छ । संकटका बेला प्रभावकारी सञ्चार र ब्रान्ड भिजिबिलिटी अत्यन्तै महŒवपूर्ण हुने भएकाले यसलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ । यसो भएमा नेपालको पर्यटन क्षेत्रले गति लिन सुरु गर्नेछ । नेपालका गन्तव्यको बारेका सकारात्मक सूचना प्रवाहमा गर्नु आवश्यक छ । बोर्डले निजी क्षेत्र र सरकारका बीचको समन्वयमा गन्तव्यको प्रचार हुन सकेको खण्डमा सहजता आउनेछ । साथै, पर्यटन क्षेत्रमा काम गर्ने सबैले पूर्ण खोपको मात्रा पु¥याउनुपर्छ । ६ महिनादेखि सरकारले ट्राभल एड्भाइजरी जारी नगर्दा पर्यटकलाई आउन समस्या भएको छ ।
यसका लागि सरकारले नेपालमा रहेका दूतावासहरूको समन्वयमा नेपालमाथि रहेको ट्राभल एड्भाइजरी हटाउनुपर्छ । यसरी सरकारको पहलमा रेड जोनमा रहेको नेपाललाई ग्रिन जोनमा रूपान्तरण गरेसँगै नेपालको पर्यटन बजार फस्टाएर जानेछ । बाह्य पर्यटकको आगमनमा वृद्धि भएसँगै आन्तरिक पर्यटक पनि वृद्धि भएर जानेछ । यसले गर्दा थलिएको पर्यटत क्षेत्रलाई थप राहत पु¥याउन सहयोग र टेवा पुग्नेछ । अहिलेको समस्या भनेकै पर्यटन आगमन नहुनु हो ।
यदि सरकारले पर्यटक कसरी ल्याउने र उनीहरूको भ्रमणलाई कसरी स्वास्थ्य मापदण्ड पालना गरी पुनः स्वदेश फिर्ता गराउने भन्ने विषयमा जोड दिएको खण्डमा नै पर्यटकको आगमन दर बढेर जानेछ । यसका लागि पर्यटन बजारमा नेपालको स्वास्थ्य सुरक्षा र यहाँ अपनाउने सजगता, त्यसपछि यहाँ रहेको स्वास्थ्य पूर्वाधारका सूचनालाई प्रवाह गर्नुपर्छ ।
मुख्य गन्तव्यहरूमा कोभिडविरुद्धको खोप लगाउने दर उच्च रहेको र अग्रपंक्तिमा सेवा दिने सबै पर्यटनकर्मीहरूले उक्त खोप लगाइसकेको सन्दर्भमा पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले तत्कालै ‘पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा बस्नु नपर्ने, पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउनुपर्ने, सुरक्षित गन्तव्य तथा गतिविधिहरू पहिचान गरी प्रचारित गर्नुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर र एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाई पर्यटकहरूको भ्रमणका लागि सहज वातावरण बनाउन जोड दिनु अहिलेको आवश्यकता हो ।

पर्यटन पुनरुत्थानमा बोर्ड लागिपरेको छ
लक्ष्मण गौतम
मार्केटिङ विभाग प्रमुख
नेपाल पर्यटन बोर्ड

महामारीका कारण पछिल्लो समय पर्यटन आगमन कम हुँदा यो क्षेत्रमा भएको लगानी तथा यो क्षेत्रसँग जोडिएका संघसंस्था तथा व्यक्तिको रोजीरोटी नै संकटमा पर्ने स्थितिलाई नियन्त्रण गर्नेका लागि सरकोकारवाला निकायसँग आवश्यक छलफल गरिएको थियो । उहाँहरू सबैको माग भनेको पूर्ण खोप लगाएका पर्यटकलाई भ्रमणका गतिविधिमा सहभागी हुन दिनु भन्ने नै हो । व्यवसायीका माग सम्बोधनका लागि आफूहरूले मन्त्रालयसँग समन्वय गरिरहेको छौं र सरकारले निर्णय गरिसकेको अवस्था छ । पर्यटकका लागि भिसा अनअराइभल गर्नका लागि पनि बोर्डले मन्त्रालय तथा सरोकारवाला निकायसँग समन्वय गरिरहेको अवस्था छ ।
यहीअनुसार बोर्डले पूर्ण खोप लगाएकाको हकमा नेपालमा अवतरण गरेपछि पीसीआर परीक्षण गरी निगेटिभ आएको खण्डमा भ्रमण सहजीकरण गर्ने र अन्यको हकमा १० दिनको क्वारेन्टाइनलाई घटाएर ७ दिनमा झार्नुपर्ने गरी बोर्डले मन्त्रालय, मातहतका निकायसँग सहजीकरण गरिरहेको छ । मन्त्रालय क्वारेन्टाइनको समय घटाउनका लागि सकारात्मक नदेखिएको भए पनि पूर्ण खोप पूरा गरेका पर्यटकलाई आगमन सहजीकरण गर्ने हकमा भने सकारात्मक रहेको छ । मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको भन्ने छ । बोर्डले अहिले पर्यटन क्षेत्रमा रोजगारी गुमाएकाहरूका हकमा अस्थायी रोजगारी दिनका लागि संयुक्त राष्ट्र संघसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्था छ ।
बोर्डले पर्यटन क्षेत्रलाई लयमा ल्याउनका लागि र प्रचारप्रसार तथा मार्केटिङलाई रणनीतिक रूपमा अगाडि बढाउनका लागि हाम्रो अन्तर्राष्ट्रिय बजारमा प्रस्तुति कस्तो हुने, कसरी प्रस्तुत हुने भन्ने विषयमा बढी केन्द्रित भएका छौं । सोहीअनुसार विदेशस्थित नेपाली नियोगहरूसँगको सहकार्य तथा समन्वयलाई अगाडि बढाएका छौं । वल्र्ड टुरिजम मार्ट (डब्लूटीएम) मा भाग लिनका लागि नेपाल अहिले पनि रेड जोनमा रहेको छ । यसका लागि केही प्राविधिक कठिनाइ रहेका छन् । यसलाई केही सहजीकरण गरिदिन अनुरोध गरेका छांै । यसका साथै बोर्डले यसअघि भाग लिँदै आएका मेला मार्टमा सहभागी हुने कुरा छँदै छ । पर्यटन आगमन नहुँदा पछिल्लो समयदेखि बोर्डको आम्दानी छैन । यसले गर्दा बोर्डले सहभागी हुने मेला मार्ट तथा प्रमोसनका कामहरूमा प्रत्यक्ष असर परेको छ ।
यो संकटको समयमा बोर्डको नियमित कार्यक्रमहरूलाई अगाडि बढाउन सरकारलाई बजेट व्यवस्थापनका लागि अनुरोध गरेका छौं । पर्यटनको आगमन बढाउन र वैदेशिक मुद्राको मुख्य स्रोत पर्यटन नै रहेकाले यो क्षेत्रमा काम गर्नका लागि सरकार पक्कै पनि भरथेग गर्न जिम्मेवार रहेको नै छ । पहिलो भनेकै भारतलगायतका देशमा प्रचारप्रसार गर्ने योजना रहेको छ । साथै युरोप, डब्लूटीएमलगायतका देशमा प्रचारप्रसार गर्ने भावी योजना अगाडि रहेका छौं ।
मूलतः नेपालमा हवाई उडान गर्ने देशहरूमा प्रचारप्रसार गर्ने योजना अगाडि सारेका छौं, पछिल्लो समय प्रभावकारी बन्दै गएको अनलाइन वा भौतिक रूपमा नै उपस्थिति जनाएर जुनसुकै माध्यमबाट भए पनि नेपाल र नेपालमा रहेका गन्तव्यहरूको प्रचारमा नयाँ ढंगबाट अगाडि बढ्ने बोर्डको योजना छ । सोहीअनुसार आन्तरिक तयारी तथा प्रचारका लागि स्रोतको व्यवस्थापन गर्ने काम भइरहेको छ । नेपालको पर्यटन विकासका लागि निजी क्षेत्र, पर्यटन व्यवसायी, सरोकारवाला निकाय, मातहतको निकायसँगको निरन्तर छलफल र समन्वयका साथ बोर्डले आफ्ना गतिविधि अगाडि बढाउनेछ भने आगामी साताबाटै व्यवसायीसँग निरन्तर छलफल गर्दै पर्यटन पुनरुत्थानका काममा बोर्डले खाका बनाएर काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्