ट्याटु मोह कि संस्कृती «

ट्याटु मोह कि संस्कृती

ट्याटु विगत धेरै समयदेखि नेपालमा निकै नै फस्टाएको व्यवसाय हो । ट्याटु कुनै उमेर वर्गले बनाउने/नबनाउने भन्ने छैन । तर, विशेष गरी युवा पुस्तामा निकै नै लोकप्रिय छ । देश–विदेशबाट धेरै जना नेपालमा ट्याटु बनाउन आउँछन् । अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालले ठाउँ पाइसकेको छ ।
ट्याटुले नेवार समाजमा धार्मिक मान्यता पनि बोकेको छ । कोरोनाकालमा नै रहेका हामीले अझै पनि राम्रोसँग खुल्न नसकेको यो व्यवसाय अझै उक्सिन नसकेको देखिन्छ । तर, टिकटकमा हेर्ने हो भने धेरै उमेर समूहले ट्याटु बनाइरहेको र खुसी भइरहेको हामी देख्छौं । साथै, कतिपय रुँदै र पीडा हुँदाहुँदै पनि ट्याटु खोपिरहेका हुन्छन् । कस्तो मोह होला त यो ट्याटुको— रुँदै, दुख्यो भन्दै पनी हान्नैपर्ने । कहिलेकाहीँ अचम्म पनि लाग्छ ।
ट्याटु एक प्रकारको कलाको चित्रण हो । मानिसको शरीरमा कोरिने कला, जसमा हरेक ट्याटुको छुट्टै कथा हुने गर्छ । ट्याटु कोरेका व्यक्तिलाई के बनाउनुभएको अथवा किन कोर्नुभएको भन्ने प्रश्नमा विभिन्न तर्क गर्नुहुन्छ । नेपालमा ट्याटु व्यवसाय फैलिँदै गएको छ ।
ट्याटु आर्टिस्टको पहिलो ढोका खोल्ने बाबुराजा प्रधान हुन् । उनी नेपालका पहिलो ट्याटु आर्टिस्ट हुन् । उनकै प्रेरणामा जन्मिएका धेरै ट्याटु आर्टिस्टहरू हामी भेट्न सक्छौं । पहिलेको र अहिलेको जमाना हेर्ने हो भने ट्याटु अहिले निकै नै प्रख्यात छ ।
साथीभाइको लहलहैमा होस् या त आफ्नो केही चिजप्रतिको लगाव दर्साउन होस्, युवाहरू निकै नै बढिरहेका छन् । कुनै ट्याटु अस्थायी हुन्छ भने कुनै स्थायी हुन्छन् ।
इतिहासअनुसार ट्याटुले लामो समयदेखि चलिआएको रीतिथितिको अंश र कुनै खास जातिको पहिचान गराउँछ । यहाँ नेपालको कुरा गर्ने हो भने नेवार समुदायले धेरै वर्षअघिदेखि ट्याटु बनाउने अभ्यास गर्दै आएको हो । नेवारहरू विश्वास गर्छन् कि स्वर्गमा मृत्युपछि उनीहरूको ट्याटुहरू बेचेर उनीहरू आफ्नो जीवन जिउन सक्छन् । हाम्रो समाजमा पनि हामी वृद्धवृद्धाहरूको खुट्टा वा नाडीमा धेरै ट्याटु देख्न सक्छौँ । ट्याटु बनाउने बारेमा हरेक समाजको फरक–फरक विचार पाउन सकिन्छ । संस्कृति र विचार फरक हुन्छ ।
तर, ट्याटु जहिले पनि कलाको एक रूप भएको छ, जसले पछिल्लो कथालाई अभिव्यक्त गर्छ । एक कलाको रूपमा, व्यक्तिहरू यसलाई मन पराउँछन् तर थोरै व्यक्तिहरू मात्र बनाउन पुग्ने गर्छन् । ट्याटुलाई फेसन स्टेटमेन्टको मानसिकतामा लिनेहरू पनि धेरै छन् । हामीले धेरै थरीका मानिसहरू भेट्ने गर्छौं, जसमा सबैको भिन्नभिन्न कुरा अभिव्यक्त हुन्छ ।
“मेरो कामले ट्याटुका लागि अनुमति दिँदैन,” नेपाल आर्मीका सेवानिवृत्त निवृत्तिभरणकर्ता किशोरकुमार श्रेष्ठ भन्छन्, “हामी सबैलाई थाहा छ कि ट्याटु कोरेकोलाई नेपाली सेना वा अन्य धेरै सम्मानित जागिरमा लिँदैनन् । तर, मलाई यो कला निकै नै मन पर्छ ।”
“मलाई जीउमा बनाउने कला, जसलाई हामी ट्याटु भन्छौँ, एकदमै मन पर्छ । मलाई लाग्छ, यसले हाम्रो व्यक्तित्वमा निखार ल्याउँछ ।” डिकेश मानन्धर एक विद्यार्थी हुन्, जसले अहिलेसम्म आफ्ना हातखुट्टामा ट्याटु कोरिसकेका छन्, अझै अरू पनि कोर्ने आफ्नो मन भएको उनी बताउँछन् ।
अहिलेको समयमा ट्याटु हटाउन पनि सजिलो छ । लेजर प्रक्रियाबाट आफूलाई मान्नाप्रेमा अथवा अर्कै खालको चित्र कोर्नु÷बनाउनुपरेमा सहज भएको पनि उनी बताउँछन् ।
नेपाली बजारमा ट्याटु बनाइदिएको घण्टाको हिसाबमा लिने गरिन्छ । हरेक आर्टिस्टअनुसार फरक हुने गरेको पाइन्छ । कसैले घण्टाको १ हजार, १५ सय त कसैले चित्रको आकार र रंगअनुसार धेरै अथवा थोरै पर्ने केही ट्याटु आर्टिस्टहरू बताउँछन् ।
नेपाली समाजमा हामी यो कला विगतदेखि अहिलेको दिनसम्म फेला पार्न सक्छौं । तर, आधुनिक ट्याटुहरूको कलाले हाम्रो समाजका धेरै व्यक्तिहरूको ध्यानाकर्षण गरेको छ । उनीहरू कलाका बारेमा मतलब गर्दैनन्, जसले इतिहास चित्रण गर्छ । तिनीहरू प्रवाहसँग जान चाहन्छन् । समय बित्दै जाँदा दृष्टिकोण परिवर्तन भएको छ र सँगसँगै समाज पनि ।

प्रतिक्रिया दिनुहोस्