तालिम लिएर जाने तीन वर्षमा ७ प्रतिशतमात्र बढे

वैदेशिक रोजगारीमा जाने युवाका लागि पेशागत सीप अनिवार्य गरिएको भए पनि कार्यक्षेत्रमा दक्ष भएर विदेश जाने युवाको संख्या तीन वर्षमा सात प्रतिशतमात्र वृद्धि भएको छ । सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सीपयुक्त प्रमाणपत्रको आधारमा पठाउने जनाए पनि विगत तीन वर्षमा यसको प्रगति न्यून देखिएको हो ।
आर्थिक वर्ष २०७५/०७६ को तुलनामा गत आवमा वैदेशिक रोजगारीमा गएकामध्ये करिब सात प्रतिशत युवा दक्ष भएर रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । आव २०७५/०७६ मा वैदेशिक रोजगारीमा ५ लाख ८ हजार ८२७ मध्ये ३५ प्रतिशत दक्ष रहेको पाइएको छ । दक्षता हासिल गरेर विदेश जाने युवाको संख्या गत वर्ष बढेर ४२ प्रतिशत पुगेको देखिन्छ । यसैगरी अघिल्ला आवमा विदेश जानेमध्ये ५६ प्रतिशत अदक्ष श्रमिक रहेकोमा सो संख्या घटेर ४८ प्रतिशतमा झरेको छ । सरकारले २०७७ भदौबाट तोकिएको क्षेत्रअनुसार एक महिनाको सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने जनाउँदै कार्यविधि बनाएको थियो ।
वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन तीन वर्षअघि नै कार्यविधि बनाएर एक महिनाको सीप विकास तालिम अनिवार्य गरिएको थियो । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू भएपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानुपर्ने छ ।
वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था छ । यसका लागि वैदेशिक रोजगार विभाग र बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सीप विकाससम्बन्धी तालिम लिनुपर्ने जनाउँदै यसका लागि कामसमेत गरिरहेको छ । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिएर विदेश जाने प्रवृत्ति देखिएपछि अनलाइन प्रणालीमार्पmत तालिमको ट्रयाकिङसमेत गरिने जनाए पनि सोको समेत कार्यान्वयन हुन सकेको छैन । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारमा जाने र फर्केका श्रमिकका लागि सीपमूलक तालिम तथा पुनः एकीकरणका कार्यक्रम भए पनि कोभिड संक्रमणका कारण पूर्णरूपमा सञ्चालन हुुन नसकेको बताए ।
व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको थियो । विगतमा म्यानपावर व्यवसायीले एक कामका लागि युवा भर्ना गर्ने र अर्को काम लगेर तोकिएअनुसारको पैसा नदिने समस्या थियो । विगतमा तालिमको व्यवस्था भए पनि तालिममा सहभागी नै नभई प्रमाणपत्र लिने क्रम बढेको थियो । अब भने सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआइएमएस) बाट तालिम लिए–नलिएको, कक्षामा उपस्थित भए–नभएको हेरेर सही भएमात्र प्रमाणपत्र दिने गरिएको छ ।
अहिले सरकारले तालिमका सम्बन्धमा बनाएको प्रणालीका कारण विगतमा जस्तो नक्कली प्रमाणपत्र बनाउन सक्ने अवस्था भए पनि तालिमको अनुगमन भने गरेको पाइँदैन । वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थासँग सरकारको बायोमेट्रिक प्रमाणअनुसारको अनलाइन प्रणाली हुने भएका कारण तालिममा अनिवार्य उपस्थित हुनुपर्ने जनाए पनि पूर्णरूपमा नियम कार्यान्वयन भएको छैन । विदेशबाट सीप सिकेर आएकाहरूले समेत सरकारले तोकेअनुसारको सीप परीक्षण गरी प्रमाणपत्र लिएरमात्र विदेश जान पाउने छन् ।
वैदेशिक रोजगारमा जाने युवाले निर्माण क्षेत्रअन्तर्गत मेसन, स्काफोल्डिङ, वेल्डिङ, फर्निचर एण्ड फर्निसिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, सटरिङ कार्पेन्टर, स्टिल फिक्चर्स र टायल मार्बल कटिङ, फिटिङलगायतका क्षेत्रमा जाने पूर्वयोजना अनुसार तालिम लिएर मात्र श्रम स्वीकृति पाउँछन् । यसैगरी होटल व्यवस्थापन क्षेत्रअन्तर्गत कुक, वेटर, हाउस किपिङ÷क्लिनर र फ्रन्ट अफिस सेवालगायतका क्षेत्रमा समेत तालिमको व्यवस्था गरिएको कार्यविधिमा उल्लेख छ । सेवा क्षेत्रअन्तर्गत सुरक्षा गार्ड, अफिस सेक्रेटरी, पेन्टर, ब्युटी पार्लर र अन्य क्षेत्रमा गार्मेन्ट टेलरिङ, आल्मुनियम फेब्रिकेटरमा समेत तालिम लिन सकिने छ ।
