एनआरएनए र शिक्षा मन्त्रालयबीच शिक्षा क्षेत्रमा सहकार्यको सहमति

नेपालको शिक्षा क्षेत्रमा गैरआवासीय नेपालीहरुको संलग्नता अभिवृद्धिका लागि शिक्षा मन्त्रालय र गैरआवासीय नेपालीसंघबीच हालै एक सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री गिरिराजमणि पोखरेलको रोहवरमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष भवन भट्ट र मन्त्रालयका तर्फबाट सचिव खगराज बरालले ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
मन्त्रालयले सहयोग आवश्यक भएको विद्यार्थी संख्या र ती विद्यार्थी रहेका स्थान तथा स्थानीय तहको विवरण गैरआवासीय नेपाली संघलाई उपलब्ध गराउने विषयमा सहमति भएको छ । सो विवरणका आधारमा संघले सहयोग परिचालन गर्ने, मन्त्रालयले तयार पारेको संयन्त्रमार्फत् सहयोग उपलब्ध गराउने र आवश्यकताअनुसार आपसी समझदारीमा कार्यक्रमको पुनरावलोकन एवं सहयोग परिचालन परिमार्जन गर्ने उल्लेख छ ।
यसैगरी सरकारको साक्षर नेपाल वर्ष २०७६ अभियान सञ्चालनका लागि संघले आवश्यक सहयोग र सहकार्य गर्न सक्ने विषयमा समेत छलफल भएको छ । नेपालको ज्ञान, सीप, अनुभवको उपभोग गर्ने सम्बन्धमा संघले गरेका पहलको जानकारी मन्त्रालयलाई उपलब्ध गराउने र सहभागिता सुनिश्चित गर्ने र संयुक्त रुपमा कार्यक्रमहरु आयोजना गर्ने तथा आफूले आयोजना गरेको कार्यक्रममा सम्बन्धित अर्को पक्षलाई सहभागी गराउने सहमति भएको छ ।